Rumpum Advertisement
Dazzu

जाडोमा कोरोना संक्रमण थप बढ्न सक्छ

जाडोमा कोरोना संक्रमण थप बढ्न सक्छ

विराटनगर, १३ कात्तिक । जाडो महिनामा कोरोना संक्रमणको जोखिम अझै बढ्न सक्ने देखिएको छ । जाडोका बेला घरका झ्याल-ढोका बन्द गरिने हुँदा हावा छिर्ने ठाँउ नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहने भएकोले सावधानी अपनाउनुपर्ने विज्ञले जोड दिएका छन् ।

कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहनेसमेत अध्ययनले देखाइसकेको छ ।पुस-माघसम्म संक्रमणको विस्तार कायमै रहने देखिन्छ । त्यो बेलासम्म कोभिडविरुद्धको खोप पनि आउनसक्ने हुँदा जोखिममा रहेकाले केही समय अझ जोगिएर बस्नुपर्छ ।

जाडोयाममा कोभिडसँगै मौसमी रुघाखोकीसमेत देखिने हुनाले आमव्यक्तिमा कोरोना संक्रमणको त्रास पनि बढ्नसक्ने स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवम् भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे बताउँछन् ।

डा. पाण्डेका अनुसार जाडोमा दमको समस्या बढ्न सक्ने हुँदा सकेसम्म इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) विरुद्धको खोप लगाउनु फाइदाजनक हुन सक्ने उनको भनाइ छ ।

कोभिड र मौसमी रुघाखोकी दुवै संक्रमणसँग लड्नुपर्ने स्थितिमा शरीर झन् कमजोर हुने भएकाले खोपले जटिल परिस्थितिबाट केही हदसम्म जोगाउन सक्छ ।