Rumpum Advertisement
Dazzu

मेस्सीविरुद्ध खेल्न नपाउँदा रोनाल्डो आक्रोशित

मेस्सीविरुद्ध खेल्न नपाउँदा रोनाल्डो आक्रोशित

विराटनगर, १३ कात्तिक । कोरोना संक्रमण भइ बार्सिलोनासँगको खेल गुमाउनु परेपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आक्रोशित बनेका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोना तथा आफ्ना खास प्रतिद्वन्द्वी लियोनल मेस्सीविरुद्ध खेल्न नपाउँदाको आक्रोश रोनाल्डोले सामाजिक सञ्जालमा पोखेका हुन् ।

बुधबार राति भएको समूह चरणको खेलमा बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो । बार्सिलोनालाई जिताउन ओस्मान डेम्बेले र कप्तान लियोनल मेस्सीले समान एक–एक गोल गरेका थिए ।

कोरोना संक्रमण भइ आइसोलेशनमा रहेका रोनाल्डोले सो खेल्न पाएनन् । कोरोनाबाट मुक्त भइनसकेका उनलाई युभेन्टसले टोलीमा राखेको थिएन ।

अक्टोबर १३ मा ३५ वर्षीय रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय ड्युटीमा रहेका बेला कोरोना पोजिटिभ भएका उनमा कुनै लक्षण देखिएको थिएन । कोरोना पुष्टि भएपछि रोनाल्डो इटाली फर्किएका थिए ।

तर, मेस्सीविरुद्ध खेल खेल्न नपाएपछि उनी आक्रोशित बने । आफू पूर्ण रूपमा स्वस्थ भएको जनाउँदै रोनाल्डोले इन्स्टाग्राममार्फत आक्रोश व्यक्त गरे । उनले आफ्नो पीसीआर रिपोर्ट जस्तो आए पनि आफू पूर्ण रूपमा स्वस्थ भएको उल्लेख गरे ।

प्रायः पोस्टमा आफू स्वस्थ रहेको जनाउँदै आएका उनले बार्सासँगको खेल गुमाउनुको रिस पोखे ।