विराटनगर, १३ कात्तिक । दशैंमा घर जान छुट्टी माग्दा भारतको देहरादूनमा रहेको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले नेपाली विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।
दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै ५१ जना नेपाली विद्यार्थीले निवेदन दिएपछि रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि कुटपिट गरेका हुन् । उनले ६ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी माथि कुटपिट गरेका हुन ।
अंग्रेजी शिक्षा तथा बौद्ध लामा पढाइ हुने उक्त एकेडेमीमा २ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । ‘घर जान चाहने’ सबै विद्यार्थी तथा नेपाली मूलका शिक्षकसमेतको मोबाइल खोसिएको र एकेडेमी आवासबाहिर आउजाउ गर्न नदिइएको विद्यार्थीका अभिभावकले बताएका छन् ।
हरेक वर्ष मंसिरमा लुम्बिनीमा हुने बौद्धपूजामा देहरादूनबाट आउने रिम्पोचेले विद्यार्थी लिएर जान्छन् । शाक्य एकेडेमी विदेशी दाताको सहयोगमा चल्दै आएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले घटनाका बारेमा जानकारी भएको बताउँदै ‘सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको’ ट्वीटरमार्फत जानकारी दिएका छन् ।