Rumpum Advertisement
Dazzu

बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा हरायो

बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा हरायो

विराटनगर, १३ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले दोस्रो जित निकालेको छ ।

बुधबार राति भएको समूह चरणको खेलमा बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई २–० गोलले हराएको हो ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन ओस्मान डेम्बेले र कप्तान लियोनल मेस्सीले समान १–१ गोल गरे ।

खेलको १४औं मिनेटमा डेम्बेलेले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । डेम्बेलेले कप्तान मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफभरि अग्रता दिलाए ।

यस्तै खेलको इन्ज्युरी समयमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई जिताए । डी एरियामा अन्सु फातीमाथि फल भएपछि बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो, जसमा मेस्सीले गोल गर्दै बार्सालाई २–० गोलले जिताए ।

त्यसअघि युभेन्टसका अल्भारो मोरोटाले गरेका तीन गोल अफसाइड भएको थियो । खेलको १६औं मिनेटमा रेफ्रीले ह्यान्डबल र अफसाइड भएका कारण भीएआरको सहायतामा मोरोटाको गोल दिएनन् ।

खेलको ३०औं मिनेटमा मोरोटाले पुनः गोल गरेपनि अफसाइड भएका कारण सो गोल स्वीकृत भएन । फेरि खेलको ५७औं मिनेटमा अल्भारोको गोल अफसाइड भएको थियो ।

यस्तै खेलको ८५औं मिनेटमा मेरिया डेमिरालले दुई पहेँलो कार्डसहित रातो कार्ड पाएपछि युभेन्टस दस खेलमा खेलाडीमा सीमित भएको थियो ।

जितसँगै बार्सिलोनाले ६ अंक जोडेको छ । ऊ समूह ‘जी’को शीर्ष स्थानमा छ । युभेन्टस भने ३ अंकसहित सो समूहको दोस्रो स्थानमा छ ।