Rumpum Advertisement
Dazzu

फेसबुक ह्याक भएको बहानामा नग्न तस्बिर माग्नेसँग सचेत रहन आग्रह

फेसबुक ह्याक भएको बहानामा नग्न तस्बिर माग्नेसँग सचेत रहन आग्रह

विराटनगर, १२ कात्तिक । नेपाल प्रहरीको साइबर ब्युरोले प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन आग्रह गरेको छ ।

प्रविधिको दुरुपयोग गरेर व्यक्तिको फेसबुक ह्याक भएको बहाना बनाई त्यसको प्रमाणीकरणका लागि नग्न तस्वीर र श्रव्यदृष्य माग गर्ने गिरोहबाट सचेत हुन आग्रह गरेको हो ।

ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भन्दै ब्लाक मेलिङ गर्ने गिरोहबाट सतर्क हुन आग्रह गरेको हो ।

उनीहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आइडी डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजूरी प्राप्त भइरहेकाले सचेत हुन ब्युरोले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

ब्युरोले यस्ता अश्लील र झुक्यानमा पार्ने गतिविधिबाट सचेत हुन र आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन नागरिकलाई सूचित गरेको छ ।