इटहरी, ११ कात्तिक । सुनसरीको इटहरी आइसोलेसनमा कोरोना संक्रमितले दशैंमा टीका लगाएका छन् । कोरोनासँग जुधिरहेका संक्रमितले संयुक्त रुपमा विजया दशमीको टीका लगाएका हुन ।
इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्वर ९ का वडाध्यक्ष भूपेन्द्र वराल टीका, जमरा,मीठाई लिएर आइसोलेसन पुगेका थिए ।
आइसोलेसनमा रहेकी ७८ वर्षीय वृद्धाले संक्रमितहरुलाई टीका लगाइदिएकी थिइन् । वृद्धाले अबदेखि यस्तो अवस्थामा कहिल्यै पनि टीका लगाउनु नपरोस भन्ने आर्शीवाद दिएकी थिइन् ।
टीकाको दिन उपमेयर आउँदा आमा आएको जस्तो लागेको संक्रमितहरुले बताए । परिवारबाट छुटेर बस्नुपर्दा नराम्रो लागिरहेको वेला दशैं ल्याइदिएको भन्दै संक्रमितहरुले धन्यवाद ज्ञापन गरेका थिए ।
दशैंमा आइसोलेसनमा बस्नुपर्दा संक्रमितहरुले दुःख मानेका होलान भनेर शुभकामना र सान्त्वना प्रदान गर्न टीका,जमरा लिएर आइसोलेसन गएको उपमेयर गौतमले बताइन् । आइसोलेसनमा २१ जना संक्रमित छन् ।