birat ribon

राम्रो पैसा कमाएको छ

Neuro
राम्रो पैसा कमाएको छ
पेशल आचार्य

फेरि २०७४ को दसैँमा तराई जाँदा पुराना र लभभग बिर्सिसकेका बाल साथीहरू भेटेँ । चौध वर्षमा ससुराली गएँ । यता गएँ । उता गएँ । निर्उद्देश्य फिनिनिनी भएरै घुमियो । धेरै पुराना मानिसहरूले मेरा बाआमाका बारे खोजीखबरी गरे । आफ्ना बारे सोधे । हामी नेपालीहरूको आफ्ना बारेमा बताउने र अरूबारे खुटखबर लिने पुरानो बानी अझै गा’को रै’नछ । रमाइलै लाग्यो । सन्तानका बारेमा बताउँदा आफूलाई समेत पृथक् अनुभूति हुने रै’छ ।

Padelux insider
cura insider

यो पटकको यात्राको निहुँचाहिँ दसैँको टीको थियो तर आफ्नो भित्री मक्सद भने आफ्नो बालापन बिताएको ठाउँ पुनः नजिकबाट नियाल्ने नै रहेको थियो । खोजेजति सबै साथीहरूसँग भेट हुन सकेन । कोही तीर्थयात्रामा निस्केका रहेछन् । कोही स्थानीय पर्यटन टेवा दिनका लागि धरान, धनकुटा र हिलेसम्मको यात्रामा लागेछन् । कोही सप्तकोसी वारि कङ्कालिनी देवीमन्दिर र राजविराजको सखडा भगवतीका दर्शनार्थी भएकाले आङ्झार हुने गरी गफका रउस तुरिन पाएनन् ।

सबैका आआफ्ना बेबहार छन् । अमरलत्तीझैँ सबै बाँधिएका रहेछन् एकौटा जालामा ।

अनि बाँधिएका छन् सबै आआफ्ना घर गृहस्थीरूपि गोरखधन्दाका माल दाम्लाले । सन्तानका लागि कमाउने र ख्वाउने काम गर्न डल्लो परेर काम गर्नु पर्ने बाध्यता सबैको देखियो । भेट्न मन लागेरै भेट नभा’का साथीहरूमा गोविन्द बुइपाली, अर्जुन पोखरेल, रवीन्द्रमुनि कोइराला, कृष्ण कोइराला, राजु दहाल, गुणराज पोखरेल र प्रमोद पोखरेल मनका अन्तरकुन्तरमा अझै अल्झिरहेकै छन् । रसिक गोपाल दाजुसँग एक बिहान एकैछिन भलाकुसारी भए’थ्यो । भेटमा वहाँले आफू अझै साहित्यिक पाठक भएको छनक राम्रैसँग दिनुभयो । मनोहारी एवम् मेरो लेखनको ‘अघोषित घाँसी’ गोपाल पोखरेललाई म कहिल्यै बिर्सन सक्दिनँ ।

तराईतिर अझै बिहानबेलुकी चिया दोकानमा मानिसहरूको बाक्लो जमघट हुने गर्छ । गृहस्थीहरू आफ्ना मालजाल सुक्रीबिक्रीका कुरा, लेनदेनका कुरा, मरोपरौका कुरा, बिहे बटुलाका कुरा र राजनीतिक कुरा चखिलो भावमा गर्दा रहेछन् । मलाई अरू कुरामा त्यति चासो थिएन । व्यवहारका कुरामा म काँचै छु । अन्य प्रसङ्गादिभन्दा राजनीतिका कुरा गरेको सन्दर्भलाई चाहिँ मैले केही ध्यान दिएर सुनेँ । कोही काँग्रेसका पक्षमा घाँटी सुकाएर समर्थन गर्दा थिए भने कोहीचाहिँ एमालेका बारेमा नानीदेखिको वल लगाएर वारेसझैँ हाजिर थिए । मैले केही भनिनँ । पसलमा केही किनेर पनि खाइनँ । मात्र मुसुमुसु मुस्कानका साथ सबैका कुरा सुनेँ । मलाई बोलेर जित्नु पर्ने खाँचो थिएन । मलाई कसैको वारेस भएर एक भोट घटाउनु किमार्थ थिएन । बढाउनु थिएन । मात्र मलाई मेरो लेखनमा पात्र र पात्रहरूको खोजी गर्नु थियो ।

पात्रको खोजी सायद् पात्रहरूकै नजिक भएर गरिन्छ ।

मैले खोजेका एकजना पात्र गृहस्थी चलाएर बसेका थिए । तिनी बितेछन् । बितेको दसक भै’सकेछ । थाहापत्तो थिएन । म तिनका गृहस्थीबारे हिजो आफूमा चेतना पलाएर बुझ्ने भैसक्दा समर्थक थिएँ । तिनी जातका बाहुन । थरका पोखरेल । जुनबेला पहाड र तराईतिर समेत बाहुनले हलो जोत्नु हुँदैन भन्थे त्यो बेलाँ उनी आफ्नो गोरखधन्दीय पेसा अघि बढाउन विचरा आफैँ हलो जोत्थे । दुई भाइ थिए तिनका छोरा । एकजना स्थानीय एन्जिओमा काम गर्दथ्यो र काँचो पाराको राजनीतिक कार्यकर्ता थियो । हामी ऊसँग कहिल्यै वैचारिक बहसमा लागेनौं । राजनीतिक पार्टीको अन्ध समर्थक भएर एनजीओको जागिर पकाउनु उसको एक सूत्रीय कार्यक्रम थियो । अर्को सानो भाइ शारीरिकरूपमा केही कमजोर । उसको एउटा आँखो कमजोर । कालान्तरमा उसलाई आफ्नो पढाइ र व्यक्तित्व बनाउन त्यही आँखो बाधक भएर निस्कियो ।

लहरै दाजुभाइका घर थिए तिनेरूका घर वरिपरि । बाक्लो गाउँ । सबै मानिसहरू गाईबाख्रा र भैँसी पाल्थे । खेतीपाती गर्थे । नहर पैनीको चिन्ता हुन्थ्यो–उनेरूलाई । मध्यमवर्गीय मानिसहरू निकै कम थिए– त्यो गाउँमा । प्रायशः निम्न मध्यम वर्गीयहरूकै बोलबाला थियो । यसपाला मात्र थाहा भो ती हलो जोत्ने ठूलाबा बितेछन् । (हामी गाउँमा रहँदा उमेरमा हाम्रा बाभन्दा जेष्ठ उमेरका गाउँलेलाई ठूलाबा भन्थ्यौ) मलाई नरमाइलो लाग्यो ।

साइनो सपना केही नपर्ने मानिस भए पनि तिनको आफ्नो काम आफैँ गर्ने बानी औधी मन पथ्र्यो । सायद् मेरो मनले तिनलाई धुइँपत्ताल गरेर खोजेको श्रमबारे भलाकुसारी गर्न र जीवनबारे तिनले बुझेका कुरा बुझ्नु थियो । किताबमा पढेका जीवन र भोगेको जीवनबारे एकर्कामा सादृश्यता खोज्नु थियो । सामान्य गाउँलेको अन्र्तदृष्टिबाट जीवनका गणितीय पर्सेप्सन बुझ्दा मलाई अति आनन्दातिरेक भावोच्छलन हुन्छ ।

हिजोआज मलाई पढेलेखेका मानिसभन्दा अपठित मानिसहरू औधी मन पर्छन् । बुझेका मानिसका बाह्र सत्ताइस तार्किक लहराले निस्सासिने बनाइदिन्छन् । तर्कविहीन सोझा गाउँलेहरू नै असल जँच्छन् । सहरिया मानिसभन्दा म गाउँले औधी मन पराउँछु । मेरो बालापन गाउँमै बित्यो । कमाइ खान जान्ने भएपछि मैले गाउँ छाड्नु पर्‍यो । अचिनारू पहाड उक्लिएपछि मैले तराईका मिष्ठ सम्झनाहरू सधैं मिस गरिरहेँ । किनकिन मलाई तराईका मानिस, तिनीहरूको काम गर्ने सीप औं जाँगर र परिश्रमसँग नडराउने सिसिफस कला औधी मन पर्छ । म हरेक मानिसले पसिना बगाएको देख्दा पुलकित हुन्छु । म आफैंसमेत श्रमजीवी हुँ । मलाई मानिसहरू काम नगरी खालीखाल्सा बसेको त्यति मन पर्दैन ।

०००

सो ठाउँका गृहस्थीहरू सरसामान किन्न हाट जान्थे । मलाई हाट शब्दले सँधै नोष्टाल्जिक बनाउँछ । म सानो हुँदा आमासँग हाट जान नपाउँदा कल गर्थें । आमाले साँझ हाटबाट फर्केर आउँदा जेरी, कचौडी र मुरीबाट बनाइएको ‘लाई’ ल्याइदिनु हुन्थ्यो । मिठो मानेर खान्थ्यौं । केटाकेटीहरू झगडालु हुनु आफैँमा कुनै समस्या होइन । अहिले आफ्ना केटाकेटी भएपछि राम्ररी बुझियो । किताबले नसिकाएका कुरा समयले सिकाउँदा रहेछन् ।

समय हाम्रा लागि योग्य गुरु भएको छ– यतिखेर ।

अँ ! म इनरुवाको कुरा गर्दैछु । त्यहाँ हप्ताको दुई दिन हाट लाग्थो । अझै लाग्दै छ– सोमबार र बिहीबार । सोमबारे हाटमा गाउँलेहरू लश्कर लागेरै तरकारी, खिच्रिङमिच्रिङ र मासुमंश खरिद गर्न जान्थे । मवेसी (गाईभैँसी र बाख्राको हाट) हाट ठूलो लाग्थ्यो । सोमबारे हाट बिहीबारेका तुलनामा धेरै गुल्जार हुन्थ्यो । रिक्साको चल्तीफिर्ती अरू दिनभन्दा सोमबार धेरै हुने भएकाले रिक्सावाल र ठेलावालहरूले धेरै काम पाउँथे । जुन दृश्य मलाई राम्रो लाग्थ्यो ।

अपसोच, म यसपटक सोमबारे हाट जान पाइनँ । न बिहीबारे हाट नै गएँ । मेरो उद्देश्य तीन दसकअघिका केही साहित्यिक मित्रहरू भेट्ने थियो । पारिवारिक मिलन र हार्दिकतालाई घोलेर एकापसमा अपनत्व साटासाट गर्नु थियो । मेरो लेखनमा अहिले मैले सर्वाधिक सम्झने र लेख्ने विषयवस्तु भनेकै बालापन बिताएको इनरुवा हो । जबदेखि लेखकीय चेत ममा झाङ्गियो अनि मैले मेरो बालापन र बालसँगातीको धुइँपत्ताल खोजी गर्न लागेँ । ‘बिते हुए कल’ को खोजीमै मानिसको जीवन तुरिने रै’छ । यो ज्ञान मलाई भयो ।

कतै पढिएको पुरानो कुरा हेक्का छ– ‘एउटा लेखकले आफ्नो बालापनलाई जिन्दगीभरि लेख्दा पनि सक्दैन ।’ अहिले सम्झँदा होजस्तै लाग्छ । लेखक हुनका लागि संसारमा कुनै टे«निङ स्कुलहरू छैनन् । लेखन रहर गरेर पनि नहुने रै’छ । लेखनमा नक्कल त झनै नहुने । मानिसलाई उसका दुःखसुख, भोगाइ, बालापन र बाध्यताले लेख्न लगाउँदो रहेछ । लेखिरहेपछि मानिस आफ्ना पीडा हलौं भएको महसुस गर्न थाल्दो रहेछ । अहिलेसम्म लेखेर थाहा पाएको कुरा– ‘लेख्ने गुत्थी र विषयहरू संसारिकरूपमा असमेल र अपार रहेछन् । एउटा लेखकले आफ्नो चेतनाका दिग्दिगन्तसम्म फैलने गरी लेख्दा एक जुनीमा पनि नसकिने विषयवस्तु उसका अघि राश हुने रहेछन् ।’

यो कुराको हेक्का यसपालाको भ्रमणले दिलायो । जुन भ्रमण लागि मैले विना तयारी गरेको थिएँ ।

०००

घाँस काट्न गै’रहेका मानिस भेट भए । कार्यालय गै’रहेका मानिससँग समेत भलाकुसारी चल्यो । तेल पेल्न मिल गैरहेका गृहिणीहरूसँग पनि लघु परिसंवाद भए । हटारूहरू, पथिकहरू र स्कुले नानीहरूसँग पनि भेट भयो । चाहेर पनि भेट हुन नसकेका धेरै मानिसहरू मेरा सूचीमा टिपोट थिए । मैले नचाहँदा–नचाहँदै पनि भेट भएका थुप्रै मानिसहरू भेटेँ ।

जीवन भेटघाट रहेछ । दिनहुँ यात्रामा कति मानिससँग भेट भै’रहेको हुन्छ । कहिल्यै नदेखेका मानिस भेट्छौं । कहिलेकाहीँ त झुक्किनु पर्छ । एकपल्ट ललितपुर ग्वार्कोमा म काम विशेषले मनि एक्सचेन्जमा जाँदा एउटा युवकलाई भनेँ– ‘यहाँलाई कताकता देखेदेखेजस्तो लाग्यो । पूर्वतिर घर हो ?’

युवकले सहजतापूर्वक भन्यो– ‘होइन । सर झुक्किनु’भो । मेरो घर प्युठान हो ।’

‘सरी, मलाई विराटनगरतिर कतै देखेको पुरानो अनुहारको झझल्को आयो अनि सोध्या । माइन्ड नगर्नु होला ।’ मैले भनेँ ।

उसले ‘ओके !’ भन्यो । केही क्षणपश्चात् हामी काम सकेर मुस्काउँदै आआफ्ना बाटा लाग्यौं । झुक्किँदा पनि एकप्रकारको आनन्द आउँदो रहेछ ।

ठ्याक्कै त्यस्तै झुक्यानमा परेको छु– म एकपटक । जिरीमा तालिम सिलसिलामा २०४९ सालतिर । हामीसँगै तालिम लिन आउने जिरी हाइस्कुलका हेडसर पर्शुराम खड्का र मेरा दाइ दुर्गा आचार्यको अनुहार, लोलीबोली र ढप काटीकुटी मिल्दो रहेछ । मैले खाजा ब्रेकमा सो कहिरन हाल्दा मस्कुराउनु भएथ्यो–खड्का हेडसर । पछि कतै पढेँ– ‘संसारमा सात जनाको अनुहार र बोलीवचन मिल्छ ।’ चित्त बुझाएँ । मैले दुर्गा दाजुका ढप र बान्कीमा खड्का हेडसरलाई देखेर दाजुकै न्यास्रो मेटाएँ ।

चौबन्न सालतिर हुनुपर्छ । नयाँ बानेश्वरमा (अहिलेको संसद भवन अघिल्तिर) एउटा मानिसले मलाई आदवसाथ नमस्कार भन्यो । नमस्ते फर्काएँ मैले । अनि उसले झिक्यो बाग्लुङ्तिरका कुरा, जुन मलाई थाहै थिएन । मैले अहिलेसम्म गोडाले टच नगरेको बाग्लुङ्े प्रसङ्ग बुझ्ने कुरै भएन । हाम्रा गफको मेलो नमिलेको सुइँको पाएर ती अचिनारू मानिस केही हच्किए । शिष्टतापूर्वक माफी माग्दै ओझेल परे । मलाई अचम्मको आनन्द लाग्यो ।

पछि सोचेँ । जसरी म झुक्किएँ तिनी पनि त्यसैगरी झुक्किए । यसरी झुक्किँदा पनि कहिलेकाहीँ दुवैलाई रमाइलो हुने ।

०००

इनरुवा भ्रमणमा मैले केही साथीले उनेरूका जीवनमा राम्रो पैसा कमाएको थाहा पाएँ । पैसा जीवनमा साधन हो । यो कसैका जीवनमा साध्य हुन सकेको छैन ।

विषय र प्रसङ्गले मानिसहरू आफूले कमाएको धनादिलाई भन्दा अरूले कमाएको लक्ष्मी कै बढाइचढाइँ गर्छन् । किन मानिस आफूले कमाएको धनचाहिँ बेबहारमा फूर्तीसाथ देखाउँछ ? तर प्रशंसा अरूको गर्छ । आफ्ना तुलनामा अरूको सम्पत्तिलाई बढाइचढाइ गर्नुमा त्यस्तो के गूढगुत्थी छ ? फलानाले राम्रो पैसा कमाएको छ भन्नुमा कत्तिको तुक छ ? कमाउनुको सापेक्षता के ? नकमाउनुको सापेक्षता के ? पैसाका पछि दुगुर्ने मानिसहरू पैसाले मनभित्र पोलेर कति पीडादायी रून्चे हाँसो हाँस्दा हुनन् । लोग्नेस्वास्नीका बीच, सन्तानका बीच र दाजुभाइका बीच पनि पैसाले ठूलो दरार ल्याएको छ । मानिस पैसाले बाहिर जति सुखी देखिएको छ, के भित्रबाट पनि त्यति नै सन्तुष्ट होला त ?

यी र यस्ता प्रश्नहरू मेरो इनरुवा भ्रमणक्रममा मथिङ्गलमा कुसुलेले झुम्राको पुतली नचाएझैँ नचाइरहेँ ।

राम्रो गाडी कम्पनी खोलेर उखुम प्रगति गर्दागर्दै उमेरमै बितेका पोखरेल भाइ । औषधी बेपारमा लागेर अमिर बन्दै गएका लम्साल भान्जा र हार्डवेयर पसलबाट अरबपति बनेका भट्टराई भाइका मनोसन्तापले पैसालाई कत्तिको मूल्याङ्कन गर्दो हो ? कि हामी उनीहरूको साइकोलोजी नबुझी उनीहरूले नसुन्ने गरी मात्र ‘राम्रो पैसा कमाएको छ’ भन्छौं तर त्यो कमाउनुको माखेसाङ्लोभित्रका पत्रेदार चट्टानी मिहिनेतका कथा र दुःखका कहिरन थाहा पाउने जाँगर सँगाल्न सक्दैनौं ।

‘कमाए लगौंटीवाल, खाए धोतीवाल’ त्यसै कहाँ भनिएको हो र ? कमाउने पुस्ताले उपभोग गर्न भ्याउँदैन । खाने पुस्ताले कमाएकै हुन्नँ । कति भेटिन्छन् यस्ता दृष्टान्तहरू ।

केही अमीरसँग सोधेको छु । जतिलाई सोधेँ ती सबै आफ्नो उन्नतिभन्दा अरूको उन्नतिमा अझ आरिस गर्ने पाएँ । कसैलाई पनि आफूले धेर द्रव्य कमाएको अनुभूति रहेनछ ।

के छ पैसाको केमेष्ट्री ? किन मानिस आफूले कमाएको पैसामा सन्तुष्ट हुन चाहँदैन ? सक्दैन ? यो प्रश्न कसलाई सोधौं भन्ने भाउन्नमा रन्थनिएको छु । जीवनको अर्ध शताब्दी उमेर बाँचिसक्दा पनि सपाट शैलीमा उत्तर दिने उत्तरदाता पाउन सकिएन ।

jackson ribon