विराटनगर, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सतर्कता अपनाएर दशैं मनाउन आग्रह गरेका छन् ।
राष्ट्रपति भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन् ।
बडादशैं, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गरेकी छन् ।
‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ’, भण्डारीेले शुभकामना सन्देशमा भनेकी छन् ‘ विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”
उपराष्ट्रपति नन्दबहादुर पुनले वर्ष दिनमा आइपुगेको महान् चाड दशैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन आग्रह गरेका छन् ।
शुभकामना व्यक्त गर्दै उनले कोरोना महामारीका कारण यस वर्षको दशैं विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेकाले सबैले जहाँ छौँ त्यहीँ अवस्थामा घरमै बसेर मनाउनेमा आफू विश्वस्त रहेको बताए ।