birat ribon

विदेशमा दसैं : न निधारमा टीका, न हर्षोल्लास्

Neuro
विदेशमा दसैं : न निधारमा टीका, न हर्षोल्लास्

विराटनगर, १० कात्तिक । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ घर भइ हाल मलेसियामा रहेका गौरव भट्टराई कोरोना भाइरसको महामारीका कारण दसैं मनाउन नपाउँदा चिन्तित छन् । अघिल्ला वर्षहरूमा विदेशमै पनि साथी–भाइ भेला भएर दसैं मनाउँदै आएका गौरव यसपालि कम्पनीको कार्यतालिकामा आफ्नो नाम पारिदिएकोमा चिन्तित छन् ।

Padelux insider
cura insider

अघिल्ला वर्षका दसैंमा कम्पनीले उनलाई दुईदेखि तीन दिनसम्मको बिदा दिने गर्दथ्यो । तर, यसपालि दसैं जस्तो महान चाडमा पनि छुट्टी नपाएको उनको गुनासो छ । त्यहाँका स्थानीय कामदारलाई कम्पनीले काममा बोलाएको छैन । यसैले त्यहाँ कार्यरत नेपाली कामदारले कम्पनी चलाइरहेका छन् ।

अघिल्लो पटक कोठामा नेपाली दाजुभाइ मिलेर एक–अर्कालाई टीका लगाएको स्मरण गर्दै गौरव भन्छन्, ‘अघिल्ला वर्षहरूमा २–३ दिन बिदा पाइन्थ्यो । साथीभाइ भेला भई खसी काटेर दसैं मनाइन्थ्यो । साह्रै रमाइलो हुन्थ्यो । तर, यो पटक छुट्टी पाइएन । यहाँका लोकललाई काम नदिएको कारण नेपालीले नै कम्पनी चलाइरहेका छौं ।’ नेपालमा दसैं मनाउँदाका पलहरू सम्झना आउने उनी बताउँछन् ।

हाल दक्षिण कोरियामा रहेका सुन्दरहरैंचा घर स्थायी भएका लेखनाथ आचार्य पनि दसैंको बेलामा ड्युटी गर्नुपर्ने बाध्यता रहेको सुनाउँछन् । तथापि, कम्पनीले दिने रेस्ट टाइममा भने केही साथीहरू भेला भएर खसी वा कुखुराको मासु पकाएर खाने र दसैं मनाउने योजना रहेको उनी बताउँछन् ।

‘टीका लगाउने साइतमा ड्युटी जानुपर्ने बाध्यता छ । तर, रेस्ट टाइममा केही साथीहरू मिलेर आफ्नो परम्परा कायम राख्न खसी वा कुखुरा पकाएर दसैं मनाउँछौं । यसपालि भने कोरोनाका कारण धेरै साथीभाइ भेला हुन पाउँदैनौं । त्यैपनि केही जना भेला भइ दसैं मनाउने योजना छ,’ उनले भने ।

कोरोनाका कारण बाहिर घुमघाम गरेर दसैं मनाउने योजना भने नरहेको उनको भनाइ छ । ‘नेपालमा जस्तो टीका लगाउने र आशिर्वाद थाप्ने काम गरिँदैन,’ उनले भने, ‘तर खानपिनमार्फत मज्जा लिइन्छ ।’

हाल वैदेशिक रोजगारका लागि दुबईमा रहेकी संगीता कार्की वस्ती टीका लगाएर बाहिर हिँड्न नपाउने भएकोमा दुखेसो पोख्छिन् । सेल्समा काम गर्ने उनी कोरोनाको कारण आफूहरू त्रसित रहेको बताउँछिन् ।

अघिल्ला वर्षहरूमा टीका लगाएर बाहिर घुम्न गएको सम्झिँदै संगीता भन्छिन्, ‘पोहोरचाहिँ टीका लगाएर बाहिर घुम्न गइएको थियो । मास्क लगाउनु परेको थिएन, फोटो खिच्न पनि पाइएको थियो । तर, कोरोनाको जोखिमका कारण यसपालि टीका लगाएर बाहिर घुम्न जान पाइँदैन ।’

कतारमा रहेका सन्तोष आचार्यको दसैंमा साथीभाइ भेट भइ रमाइलो गरौंला भन्ने योजना कोरोनाका कारण तुहिएको छ । यसपटकको चाड कोठामै बसेर बिताउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

‘दसैं भन्नेबित्तिकै मनमा एउटा बेग्लै खुशी हुन्थ्यो । पहिले सबै साथीसँग भेट हुँदा रमाइलो हुन्थो तर यो कोरोनाले सबैलाई टाढा बनायो । साथीहरूसँग भेट नभाको धेरै भइसक्यो यो साल त घर गएर रमाइलो गरौंला भन्ने थियो, त्यो पनि यो कोरोनाले सबै योजना बिगारिदियो । अब यसपालिको दसैं घर–गाउँ सम्झिँदै बिताउनुपर्ने भयो’, उनले भने ।

कतारमै रहेका उद्धव काफ्ले पनि दसैंका दिन काम गर्नुपर्ने बताउँछन् । दसैंभन्दा अघिल्ला केही दिनमै खसी काटेर मनाएको सुनाउँदै उनले कोरोनाका कारण साथीभाइको जमघट नहुने बताए । ‘दसैको दिन पनि ड्युटी हुन्छ, साइतका बेला अफिसबाटै घरमा भिडियो कल गर्छु र बोलचाल गर्छु । घरमा टीका लगाउँदा मन भावुक हुन्छ । त्यै पनि अर्को साल घर फर्किन्छु भन्ने आशमा चित्त बुझाउँछु,’ उनले भने ।

कतारमै गाडी सिकाउने काम गर्ने मोरङका नगेश कुलुङ राईको पीडा पनि यस्तै यस्तै छ । क्रिश्चियन भएका कारण उनी दसैंमा टीका लगाउँदैनन् । तर, हर्षोल्लास भने उनलाई उस्तै हुन्छ ।

गाउँघरमा छँदा टीका नलगाए पनि आफन्त वा छरछिमेकमा पाहुना लाग्न जाने गरेको सम्झिँदै उनले भने, ‘परदेशमा दसैं त खासै रमाइलो हुँदैन । त्यै पनि खानपानका कारण हर्षोल्लास उस्तै रहन्छ । ड्युटी रेगुलर हुन्छ । त्यै भएर यसपालिका दसैं रमाइलो पनि छैन ।’

jackson ribon