birat ribon

विज्ञापित दसैँ-तिहार

Neuro
विज्ञापित दसैँ-तिहार
अर्जुन बराल

यतिखेर हाम्रो मन असाध्यै रोमान्चित भएको छ । वर्षायाम सकिनेबित्तिकै सुरु हुने चाड–पर्वले हाम्रा व्यवहारहरू पनि क्रमशः परिवर्तन हुने गर्छन् । र, हामी चाड–पर्वका लागि आवश्यक पर्ने सरसामग्री जोहो गर्न थाल्छौं । चाड–पर्वले खासगरी हाम्रा धार्मिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्षको पहिचान गरिरहेको हुन्छ । युगौंदेखि यी पर्वहरूले हाम्रो मनमा एउटा मीठो आभास गराएका छन् ।

Padelux insider
cura insider

दसैँ–तिहारलाई महान् पर्वका रूपमा मनाउने गरे पनि वर्षभरि प्रत्येक महिना कुनै न कुनै पर्वहरू आइरहेकै हुन्छन् । माघे सङ्क्रान्ति होस् वा साउने सङ्क्रान्ति, चैते दसैँ होस् वा हरितालिका तीज, छठ, फागु इद, क्रिसमस, ल्होसार, साकेला, सिरुवा, गाईजात्रा, गौरा आदि जुनसुकै पर्वलाई हामी कुनै न कुनै रूपमा मन पराइरहेका हुन्छौं । यिनले हामीलाई विशिष्ट पहिचान दिइरहेका हुन्छन् र आफन्तहरूसँग रमाउने सुन्दर अवसर पनि प्रदान गरिहेका हुन्छन् ।

संसारका जुनसुकै कुनामा बसे पनि उत्तिकै आनन्द र भव्यताका साथ पर्वहरूलाई मनाउने हाम्रो संस्कार रहिआएको देखिन्छ । समय र परिवेश सँगसँगै चाड–पर्वहरू मनाउने हाम्रो शैलीहरू पनि परिवर्तन भइहरहेका छन् । कतिपय सन्दर्भमा यी पर्वहरू सकारात्मक छन् भने कतिपय सन्दर्भमा यी नकारात्मक पनि छन् । हाम्रा चाड–पर्वहरू त्यसमा पनि दसैँ–तिहार क्रमशः भड्किलो हुँदै गइरहेका छन् । झन्डै एक तिहाई जनता गरिबीको निरपेक्ष रेखामुनि बाँच्न बाध्य कतिपय नेपालीका लागि त दसैँ ‘दशा’ बनेर आउने गरेको छ ।

चाड–पर्व मनाउने सन्दर्भमा आफ्नो हैसियतभन्दा बढी खर्च गर्ने प्रवृत्तिले यी पर्वहरू बोझ बन्दै गएका छन् । आर्थिक असमानताको चरम पीडा भोगिरहेको नेपाली समाज चाड–पर्वमा गरिने फजुल खर्चकै कारण विकृत बन्दै गइरहेका हुन् । पछिल्लो समयमा नवधनाढ्य वर्गको उदय हुने क्रम बढ्दो छ । समाजमा आफ्ना उपल्लोस्तरको हैसियत प्रदर्शन गर्न चाड–पर्व नै सबभन्दा उपयुक्त अवसर हो भन्ने मानसिकता झाँगिदो छ । यसको प्रत्यक्ष प्रभाव गरिबीले पिल्सिएका तल्लो वर्गका जनतामा नकारात्मक रूपमा पर्छ । माथिल्लो वर्गकै जस्तो उपभोग प्रवृत्तिको देखासिकीले कतिपयलाई अपराध कर्मतिर पनि डोर्‍याउँछ । यही बेला चोरी, हिंसा, जुवा, कुलत तथा अन्य अपराधका घटना बढ्नु त्यसैको उदाहरण हो । यस्तो पृष्ठभूमिमा असङ्ख्य मानिसहरू निरासा र कुण्ठाको बादलभित्र मँडारिन बाध्य हुन्छन् ।

हुन त समाज हुने खाने र हुँदा खाने गरी दुई वर्गमा विभाजित रहुन्जेल दसैँ–तिहार जस्ता चाड–पर्वले ल्याउने रौनक समान रूपमा पर्न असम्भव छ । एउटा उपल्लो वर्ग छ जसलाई वर्षैंभरि मोजमस्ती पुगिरहेको छ । उनीहरूका लागि चाड–पर्व त केवल रवाफ देखाउने अवसर मात्र हो । अर्को वर्ग छ, जसलाई दुई छाक मीठो खान र लुगा लगाउनसमेत दसैँ नै पर्खनुपर्ने बाध्यता छ ।

अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा हाम्रा चाड–पर्वहरू त्यति उपयुक्त देखिँदैनन् । उपभोग्य सामग्रीहरूको अत्यधिक माग यसै समयमा हुने हुँदा माग र आपूर्तिका बीचमा असन्तुलन उत्पन्न हुन्छ । परिणामस्वरूप उत्पादकहरू तथा आपूर्तिकर्ताहरू विभिन्न प्रकारका गलत क्रियाकलापमा संलग्न भई अत्यधिक नाफा कमाउने दाउ खोजिरहेका देखिन्छन् ।

हिजोआज बजारमा कमसल, म्याद गुज्रिएका र मानव स्वास्थ्यका लागि हानिकारक वस्तुहरू छ्यापछ्याप्ती पाइनुको पछाडि पनि उत्पादक वा आपूर्तिकर्ताहरूको यसै मनोविज्ञानले काम गरिरहेको छ । अझ त्यसमा पनि धेरैजसो उपभोग्य वस्तुहरू आयात गर्नुपर्ने बाध्यताले नेपालीको आम्दानीसमेत विदेशिने गरेको छ । यसबाट व्यापार घाटाको आयातन झन् बढेर जान्छ ।

पछिल्लो समयमा सहर–बजारतिर विलासिताका वस्तुहरू उपभोग गर्ने क्रम बढेर गएको छ । यो क्रम गाउँघरतिर पनि क्रमशः सरिरहेको छ । उच्च–मध्यम वर्गले गर्ने उपभोग प्रवृत्तिलाई निम्न–मध्यम वर्गले पछ्याउने भएका कारणले वस्तु उपभोगको होडबाजी बढ्दै गएको देखिन थालेको छ । दसैँ–तिहार त झन् यसका लागि उपयुक्त मौसम र अवसरका रूपमा विस्तार भएको छ । यसै मौकालाई छोपेर केही विदेशी तथा स्वदेशी उत्पादक कम्पनीहरूले उपभोक्ताहरूलाई आकर्षित गर्ने आर्कषक अफरसहितका विज्ञापनहरू गरिरहेका हुन्छन् ।

यी समग्र क्रियाकलापहरूबाट के देख्न सकिन्छ भने चाड–पर्वहरूका नाममा हामी घोर उपभोक्तावादी संस्कृति पछ्याइरहेका छौं । यसले हाम्रो आर्थिक व्यवस्थापनमा सूक्ष्म र बृहत् दुवै दृष्टिकोणले नकारात्मक असर परेको त छँदै छ, त्योभन्दा पनि खतरनाक यस प्रवृत्तिले चाड–पर्वहरूको मौलिक सुन्दरता समाप्त हुँदै छ ।

वर्षौंदेखि भेट नभएका आफन्तहरू, कार्य–व्यस्तताले टाढा जानुपरेका परिवारकै सदस्यहरू वा रोजगारका सिलसिलामा विदेशिनुपर्ने बाध्यतामा रहेकाहरूलाई यी चाड–पर्वले पुनःमिलनको सुन्दर अवसर प्रदान गर्छ । तर, जब यी भेटघाटहरू आडम्बरमा परिणत हुन्छन्, तब हाम्रो संस्कृति, पहिचान र सांस्कृतिक महत्व समाप्त हुन्छ । यसर्थ, यी चाड–पर्वलाई हामीले यिनीहरूकै मौलिकता बचाउँदै एउटा सांस्कृतिक चाड–पर्वका रूपमा मनाउने गर्‍यौं भने सामाजिक सद्भावमा समेत वृद्धि भई नेपाली हुनुको पहिचान कायम राख्न सकिन्छ । थाकेको हाम्रो शरीर र मन दुवैलाई नयाँ ऊर्जा प्राप्त हुन्छ । तर, यसलाई उपभोक्तावादी सोचबाट मात्र मनाउने प्रयास गर्‍यौं भने यो हाम्रो लागि प्रति–उत्पादक हुनसक्छ ।

jackson ribon