
कसरी देखाऊँ ओठमा हाँसो चिरेर छाती यो !
सिस्नुझैँ पोल्छ दसैँको बेला फूल र पाती यो ।
उस्तै छ घाम उस्तै छ जून उता त्यो सहरमा,
गाउँमा घाम लाग्दैन अचेल कालो छ राति यो ।
ए चरी ! मेरो यो खबर अब पुर्याइदे उसलाई,
उसैको यादमा जलेको छाती हुँदैन जाती यो ।
शरदको बेला फुलेन फूल, फर्केन प्रियतम,
न निभ्छ झ्याप्प न बल्छ झल्ल मनको बाती यो ।