काठमाडाैं, ७ कात्तिक । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसीबोका न्यून देखिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यसपटक किसानहरूले पर्याप्त संख्यामा खसीबोका बिक्रीका लागि ल्याउन सकेका छैनन् ।
काठमाडौंमा नजिकका जिल्लाहरू धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोकलगायतका जिल्लाबाट किसानहरूले सिधै खसीबोका ल्याएर बिक्री गर्नेगरेका छन् ।
आजको दिन काठमाडौंका मुख्य चोकहरूमा पुग्दा किसानहरूले खसीबोका बिक्रीका लागि राखेको देखिन्छ ।
तर यसपटक गत वर्ष जस्तो व्यापार नभएको किसानहरूले बताएका छन् ।
कोरोना संक्रमणको जोखिमका कारण पर्याप्त संख्यामा खसीबोका ल्याउनसमेत नसकेको उनीहरूले बताए ।
यसरी काठमाडौं आइपुग्ने खसीबोकाको बिक्रीवितरण अनौपचारिक रूपमा हुने र अन्य व्यवसायीहरूले काठमाडौंमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा पाउने भएकाले पनि ग्राहकको भीड लाग्ने गरेको छ ।
तर यसपटक कोरोनाको संक्रमण जोखिमका कारण ग्राहकको भीड पनि देखिएन । धेरै वर्षदेखि काठमाडौंमा यसैगरी दसैंको समयमा खसीबोका बिक्री गर्दै आएका किसानहरूले गाउँमा समेत खसीबोकाको मूल्य बढेको र पर्याप्त मात्रामा नपाइएका कारण ग्राहकले गत वर्षभन्दा भढी मूल्य तिर्नुपर्ने बताए ।
काठमाडौंमा यसरी किसानले स्वयं खसीबोका बिक्री गर्दा पशुचौपायाँको बिक्री गर्दै आएका विभिन्न व्यवसायिक संस्थाहरूले भने विरोध गर्ने गरेका छन् ।
तर काठमाडौंका ग्राहकले सिधै किसानसँग किन्न पाइने र खसीबोका निरोगी हुने साथै ठगिने डर कम हुने भन्दै आकर्षण देखाउने गरेका छन् ।
किसानहरूले काठमाडौंमा षष्ठिको दिन खसीबोका ल्याउने र नवमीको दिनसम्म बिक्री गर्नेगरेका छन् ।