birat ribon

दसैँ : के हो ? के होइन ?

Neuro
दसैँ : के हो ? के होइन ?
पेशल आचार्य

दसैँ विश्वका सम्पूर्ण हिन्दूहरूको महान् चाड । पारिवारिक मिलनको अपूर्व महोत्सव । दीनदुःखीदेखि लिएर धनधान्यले भरिपूर्ण भएकाहरू सबैको समान भावनाको पर्व । यो हज्जारौं–हजार वर्षदेखि मनाइएको तथ्य हाम्रा हिन्दू धर्मका ग्रन्थ र संहिताहरूले बताएका छन् ।

Padelux insider
cura insider

दसैँलाई अन्यायविरुद्ध न्यायको, दुराचारविरुद्ध सदाचारको, पापमाथि धर्मको, दुष्कर्ममाथि सत्कर्मको र अज्ञानमाथि ज्ञानको पर्वको रूपमा लिइन्छ । यो सनातनदेखि चलिरहेको पार्विक अनुष्ठान हो यद्यपि यसमा समय–समयमा अनेक उतार–चढावहरू नआएका भने होइनन् । दसैँका पृथक्पृथक् किम्वदन्तीहरू, कथाहरू, उपकथाहरू, सूत्रहरू र पहेलीहरू हज्जारौं वर्षदेखि चलायमन छन् ।

जे भए पनि यो नेपाली संस्कृतिको परिचायक तथा महान् पर्व हो । पर्वहरूको राजा हो । त्यसैले मानिसले दसैँलाई आफ्नो गच्छअनुसार र सकेबमोजिम मान्न छाडेका छैनन् । चाहे जतिसुकै विषम परिस्थितिको सामना गर्नु किन नपरोस् ।

संसारकै मानिसहरूको सबैभन्दा प्राथमिक परिचय भनेकै उनीहरूको संस्कृति हो । संस्कृतिका सबालमा भन्ने गरिन्छ– ‘संस्कृति अँगाल्न पाँच सय वर्ष तर छाड्न भने पाँच हजार वर्ष लाग्छ रे !’ भनेपछि यो अँगाल्नभन्दा छाड्न गाह्रो रहेछ । तर यसोभन्दा कुनै पनि संस्कृति एकपटक अवलम्बन गरेपछि त्यो युगौंयुगसम्म समय र परिस्थितिअनुसार परिमार्जन नगरीकन मानिरहनु पर्छ भन्ने छैन । पुस्तान्तरमा संस्कृतिमा स्वतः परिष्कृत हुँदै जान्छ ।

मानिसहरूको चेतना, बुद्धि, सीप, अध्ययन र प्रविधि प्रयोगले समाजमा अनेकानेक परिवर्तन भइरहेको हुन्छ । विभिन्न कालखण्डमा हुने क्रान्ति, विद्रोह र दुन्दुभीले समाजको चेतनाप्रति प्रहार गर्छ । यसरी समाज अग्रगतिमा चलायमान भइरहेको हुन्छ । यो संसारकै सबै समाजका हकमा लागू हुन्छ ।

नेपाली समाजमा पनि यो गएको पचास वर्षमा अपत्यारिलो परिवर्तन भइसकेको छ । हाम्रा बाजे बराजुले भोगेको समाज अहिले हाम्रा छोराछोरीले भोग्ने कल्पनासमेत गर्दैनन् । हाम्रै जीवनमा पनि अहिले अपत्यारिलो गरी फेरबदल भइसकेको छ । प्रविधि प्रयोगका हिसाबले नेपाली समाजसमेत अहिले निकै अगाडि गएको छ ।

हरेक पर्वहरू पुर्खाहरूले एक न एक थोक विचार र सोचले मनाउन सुरू गरेका हुन्छन् । दसैँ मनाउनुको पनि खास तात्विक अर्थ छ । जसलाई निम्न आधारहरूमा विश्लेषण गर्न सकिन्छ ः

आधार एक :

समाज विकासको चरणमा खेती युगमा मानिसहरू आफ्नो श्रमले अन्न उत्पादन, पशुपालन र अन्य ग्राहस्थ कार्यहरू गर्दथे । दसैँ शरद ऋतु (असोज/कात्तिक महिना) मा पर्ने पर्व भएकाले यो समयमा न त धेरै जाडो, न त धेरै गर्मी हुने हुन्छ । बर्खे पानी÷झरी बिदा भएर वातावरणमा पनि अनौठो महक छरिएको हुन्छ । फूलहरू फुलेका हुन्छन् । ग्रामीण जनजीवनमा गाईभैँसी ब्याउने समय पनि यही हुन्छ ।

खेतीपातीको कामसमेत सकिएका हुनाले कृषकहरूले केही फुर्सद पाएका हुन्छन् । यस्तो बेलामा पर्ने देवीको पूजनोत्सले मानिसमा आत्मिक शान्तिको अविर्भाव गराउने भएकाले पुर्खाहरूले वर्षको एकपटक देवी उपासना पर्वका रूपमा यसलाई मान्न थालेका होलान् ।

आधार दुई :

समाज विकासकै क्रममा जब राजा महाराजाहरूको शासन चल्न थाल्यो, त्यो समयमा राज्य विस्तारको सिलसिलामा ती राजा महाराजाहरूले आफ्नो शक्ति, सौर्य, वीरता र पराक्रम आदिलाई बढाउनका लागि आदि शक्तिको भक्ति गर्न थाले । जसमा कालान्तरमा देवीको नाम जोडिएर आयो ।

यसै माहोलमा रामायण र महाभारतका कथाहरू जोडिएर आए । राम–रावण किम्बदन्ती, कौरव–पाण्डवको युद्धगाथा यसमा विभिन्न कालखण्डमा जोडिन आएका हुन् । धर्मको रूप लिनुभन्दा अघि दसैँ समूहमा दुःखसुख साटासाट गर्ने, खानेपिउने, आराम गर्ने र भाइचाराको सम्बन्ध विकास गर्ने कडीका रूपमा देखियो । समयको फेरबदलले यसमा बद्लाव ल्याउँदै गयो ।

आधार तीन :

धार्मिक दृष्टिकोणले सृष्टिको गाथा गाइँदा आदिशक्ति देवी भगवतीलाई देवताहरूले आफ्नो दुःख निवारण गर्ने तत्वका रुपमा लिएर आफूसँग भएका शक्तिहरू एकत्रित गरी देवीलाई महिसासूर सँगको लडाइँमा नेत्री मानी उभ्याएर समस्त देवगणको रक्षा गरेका कथाहरू पनि दुर्गा सप्तसती (चण्डी) मा सगर्व रूपले उल्लेख गरिएको छ । यो ग्रन्थमा उल्लेख भएका मधु–कैटवका कथा, देवी–महिसासूरका किम्बदन्ती र अनेक प्रसङ्गादिले पनि सृष्टि संहिताको गानमा देवीको उल्लेख्य भूमिका रहेको देखिन्छ ।

यसरी चलेका यी फरकफरक विचारलाई हाम्रो सनातन हिन्दू धर्मको परम्पराले आफ्नो लोक जीवन, खेती युग, वैश्य युग, औद्योगिक युग हुँदैहुँदै अहिलेको हाइब्रिड कम्प्युटर युगसम्म ल्याई पु¥याउँदा यसले हामीलाई वर्षभरिको शारीरिक र मानसिक कामबाट थकान मेट्नका लागि दिएको एक आनन्ददायी अवकाशको क्षणको रूपमा समेत लिन सकिन्छ ।

लामो बिदा हुने भएकाले घरदेश र परदेशका विभिन्न काम धन्दाहरू सम्हालेर बसेका कर्मशील मानिसहरू पनि यो पर्वको छुट्टीमा आफ्नो घर, परिवार, गाउँ, समाज र देश सम्झेर आउँछन् जसरी बिहान जंगलमा चर्न गएका गाईवस्तुहरू बेलुकी फर्केर आआफ्ना गोठमा फर्किन्छन् ।

या दूरदराजमा चारो टिप्न भनी गएका चरीपक्षीहरू पनि आफ्ना ससाना बचेराहरूको सम्झनामा गुँडमा फर्केर चार प्रहर रात बिताउँछन् । दसैँलाई यही शब्दचित्र, विम्ब र परिवेशमा लिनु पर्ने हुन्छ ।

शनैःशनैः समय बद्लियो । युगले रङ फेर्‍यो । सभ्यताले आफ्नो नवीन बाटो पक्रियो । मानिसहरू पनि गाउ्रँले समाजबाट शहरिया समाजतर्फ लागे । महिलाहरू काम र मामका लागि घरबाट बाहिर निस्किए र पुरुषहरूलाई सघाउन थाले । अधिकारको मुद्दा समाजमा जोर जुलुमसँग आयो । संसारमा एनजीओ र आइएनजीओको अवधारणाको विकास भयो । पुरातन शिक्षा र सञ्चार पद्दतिमा नयाँ शिक्षा र साञ्चारिक पद्दतिले झम्टा हानेर आफ्नो स्थान लिए । फलतः मानव संसारकै जीवनशैलीमा ‘यु टर्न’ भयो ।

अहिले दसैँ हिजोको जस्तो पुरानो शैली र ढर्रामा मनाउने चलन छैन । ती सबै चलन हराए । काम र मामको खोजीमा लागेको मानिस अहिले सप्तमीदेखि टीकाका ४ दिन मात्र दसैँ मनाउने बाँकी दिनहरू काममै मिसिन भएर खट्ने गर्दछन् । कर्मचारीहरूको दुनियाँमा भनिन्छ– ‘कुखुरो काट्यो दसैँ र झोला बोक्यो बसैँ ।’ भलै शिक्षालय र अदालतजस्ता एकादुई कार्यालयहरू भने अहिले पनि घटस्थापनादेखि पूर्णिमाका दिनसम्म बिदा हुन्छन् ।

यो वर्षको माहोल भने कोरोनाले मानिसको जीवनशैली नै बदलिदिएको छ । अहिले फरक ढर्रामा मानिसहरू दसैँ मनाइरहेका छन् । कसैले यसलाई डिजिटल दसैँ र कसैले कोरोना दसैँ पनि भनेका छन् । जे भए पनि मानिसले समयसँग सम्झौता नगरी बाँच्न सक्दैन ।यो उखानले एकल सोच, एकल परिवार र एकल राज्यको अन्त्य गर्दै लगेको छ । वर्तमान विश्वको परिचय नै बहुलवाद हो । बहुलवादी सोच, सिद्धान्त, व्यवहार, संस्कृति र चिन्तनले नै यो विश्वलाई अग्रगामी भविष्यतर्फको यात्रामा लैजान हामीले मान्ने यी दसैँ, तिहार, ल्होसार, उँधौली/उँभौली, क्रिसमस, इद, बकरिद र मोहरमजस्ता पर्वहरूले सामाजिक भावको एकीकरणमा अति मद्दत गर्दछन् ।

दसैँका मनाउने बारेमा जनजाति र केही अन्य विचारका मानिसहरूले पक्ष विपक्षमा अहिले विभिन्न तर्कनाहरू पनि उठाएका छन् । कोही दसैँ बहिष्कारका पक्षमा छन् । कोही सेता अक्षताका लागि मरिहत्ते गरिरहेका छन् । कोहीकोही भने फरक विचार र धर्मका भए पनि दसैँ, तिहार, होली र शिवरात्री जस्ता पर्व हिन्दूहरूका मात्रै पेवा होइनन् ती त सनातन धर्मका उपज भएकाले सबैको भातृत्व प्रदर्शनका लागि मान्न सक्छन् भन्ने समन्वयवादी धारणाको विकास पनि अहिले भएर गएको छ ।

दसैँलाई पशुबलि दिने पर्वका रूपमा निरन्तरता दिने कि सात्विक पर्वका रूपमा मनाउने भन्ने बहससमेत केही वर्षदेखि नेपाली बौद्धिक वर्गमा चल्न थालेको छ । विज्ञानले गरेका विभिन्न प्रयोग र परीक्षणहरूले मासांहारभन्दा साकाहारलाई नै उत्तम ठहर्‍याएको छ । अहिले धेरै मानिसहरू योग, ध्यान, जप, तप र न्याशमा आश्रित हुन थालेका छन् ।

अतः हामीहरूले पनि क्रमशः सादा जीवन र उच्च विचारको द्योतकका रूपमा दसैँलाई लिनु पर्ने बेला आइसकेको छ । दसैँको बास्तविक दर्शनले त्यही भन्छ– सबै प्राणी दुर्गा माताका दृष्टिमा बराबरी छन् । कसैले कसैको वध गरेर रगत, मासु र बोसो खाएर केही उपलब्धि हुँदैन । बुझ्ने र जान्नेले आफूभित्रकै आसुरी वृत्ति, अहम् र राक्षसीपनको वध गर्नु पर्छ । यसैमा आफूलगायत सबैको भलो छ ।

मान्यजनका हातबाट टीकाजमरा लगाउने, पारिवारिक मिलनमा रमाउने र भाइचाराको विकास गर्ने साथै नवपुस्तामा संस्कृति हस्तान्तरणमा भूमिका खेल्नु नै आज दसैँ मनाउनुको एकमात्र रहस्य हो । यसैमा धरतीभरिका समस्त मानिसको कल्याण छ । यो विचारबाट दीक्षित हुन सकियो भने समस्त मानवजातिकै कल्याण हुन जान्छ ।

jackson ribon