Rumpum Advertisement
Dazzu

जोभिकलाई छ महिना जेल सजाय हुनसक्ने

जोभिकलाई छ महिना जेल सजाय हुनसक्ने

विराटनगर, ७ कात्तिक । रियल मड्रिडका स्ट्राइकर लुका जोभिकलाई ६ महिनाको जेल सजाय हुनसक्ने देखिएको छ । सर्विया सरकारले निर्धारण गरेको सेल्फ–आइसोलेशनको नियम उल्लघंन गरेको आरोपमा उनले छ महिनाको जेल सजाय भोग्नसक्ने जनाइएको छ ।

सर्बियन स्टार जोभिक २०१९ मा इन्ट्राक्ट फ्रान्कफर्टबाट रियल मड्रिड आएका थिए । कोरोना महामारीका बेला स्वदेश फर्र्किएका जोभिकले सर्बियाको स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोप छ ।

१९ मार्चमा जोभिकले आफ्नो २८ दिने सेल्फ–आइसोलेशन समयावधि नसकिँदै घरबाट बाहिर निस्किएका थिए ।

न्यूज एजेन्सी ‘तान्जुङ’का अनुसार स्वास्थ्य मापदण्डविपरीत क्वारेन्टाइनबाट बाहिर निस्केको आरोप लागेका उनीमाथि अनुसन्धान थालिएको छ ।

सर्बियाको वकिलको कार्यालयले जोभिक स्वास्थ्य मापदण्डविपरीत गएको आरोप लगाएको छ । ‘आरटीए’का अनुसार उनलाई ३० हजार युरोसम्म जरिवाना हुनसक्ने छ ।

यता, नियम उल्लघंनको आरोप लागेका जोभिक भने आफूले सो गल्ति भूलवश गरेको बताउँछन् । आवश्यकीय सामान खरिद गर्नका लागि दिनमा एक पटक नजिकैको पसल जानसक्ने व्यवस्था गरिएको जस्तो लागेको र औषधि किन्न फार्मेसीसम्म गएको उनले बताएका छन् ।

सर्वियामा सेल्फ–आइसोलेशनको नियम उल्लंघन गर्ने नागरिकलाई ३ वर्षसम्मको जेल सजाय र एक हजार २ सय ७५ युरोसम्मको जरिवाना अनिवार्य तिर्नपर्ने कानून बनाइएको छ ।

सेल्फ–आइसोलेशनको नियम उल्लंघन गरेको आरोपमा यसअघि सर्वियन खेलाडी अलेक्जेन्डर प्रिजोभिकलाई तीन महिनाको नजरबन्दको सजाय सुनाइसकिएको छ । नियम उल्लंघन गर्दै अलेक्जेन्डर आफ्ना साथीहरूसँग पार्टीमा पुगेका थिए ।