विराटनगर, ६ कात्तिक । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । स्पेनिस मिडिया मार्काका अनुसार इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डोलको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो ।
अक्टोबर १३ मा ३५ वर्षीय रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय ड्युटीमा रहेका बेला कोरोना पोजिटिभ भएका उनमा कुनै लक्षण देखिएको थिएन ।
पछिल्लो रिपोर्ट पनि पोजेटिभ आएपछि रोनाल्डोले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोना र खास प्रतिद्वन्द्वी लियोनल मेस्सीविरुद्धको खेल गुमाउने भएका छन् ।
युभेन्टसले बार्सिलोनासँग च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । आगामी बुधबार हुने सो खेल युभेन्टसको मैदानमा हुनेछ ।
यूईएफए र इटालियन स्वाथ्य मापदण्डअनुसार कोरोनामुक्त भइ एक साता क्वारेन्टाइन बसेपछि मात्र खेलाडीले खेल खेल्न पाउनेछन् । अब कोरोना रिपोर्ट नेगेटिभ आएपनि रोनाल्डोले बार्सिलोनासँगको खेल खेल्ने छैनन् ।