विराटनगर, ६ कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ । बुधबार राति समूह चरणको पहिलो खेल खेलेको रियल युक्रेनको क्लब शख्तर डोनेस्कसँग ३–२ गोलले पराजित भएको हो ।
रियलको मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा पाहुना टोली शख्तरले सुरुआती अग्रता बनाएको थियो । खेलको २९औं मिनेटमा टेलेले गोल गर्दै शख्तरलाई सुरुआती अग्रता दिलाए ।

३३औं मिनेटमा राफेल भरानेले आत्मघाती गोल गरेपछि शख्तरले आफ्नो अग्रता दोब्बर बनायो । ४२औं मिनेटमा मनोर सोलोमोनले गोल गर्दै पहिलो हाफभरि शख्तरलाई ३–० गोलको अग्रता दिलाए ।
खेलको ५४औं मिनेटमा लुका मोड्रिक र ५९औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समय गोल गर्न नसक्दा रियलले नयाँ सिजनको च्याम्पियन्स लिगमा खराब सुरुआत गरेको हो ।

यस खेलमा रियल कप्तान सर्जियो रामोसविना मैदान उत्रिएको थियो । चोटका कारण उनले डोनेस्कसँगको खेल गुमाएका थिए ।
जितसँगै समूह ‘बी’मा रहेका डोनेस्कले ३ अंक जोड्यो ।