birat ribon

विराटनगर जुट मिल्सको झ्यालबाट तस्करी, प्रहरीले टाल्यो सीमासँगै जोडिएका झ्याल

Neuro
विराटनगर जुट मिल्सको झ्यालबाट तस्करी, प्रहरीले टाल्यो सीमासँगै जोडिएका झ्याल

विराटनगर, ५ कात्तिक । तस्करीका लागि प्रयोग हुँदै आएको विराटनगर जुट मिल्सको क्वाटरको झ्याल प्रहरीले टालेको छ । भत्किएको झ्यालबाट खुलेआम तस्करी हुने गरेको पाइएपछि प्रहरीले विराटनगर– १६ मा रहेको जुट मिल्सको झ्याल टालेको हो ।

Padelux insider
cura insider

जुट मिलको दक्षिण गेटमा रहेका संरचनाका खुला झ्याल थिए । तस्करी रोक्न प्रहरीले काठ, तारजाली र काँटीको प्रयोग गरी बन्द गरेको हो । जुट मिलको लाइन क्वार्टरमा अवासगृहका लागि बनेका लगभग ३५ वटा जीर्ण संरचनामा मिसका पुराना मजदुरहरु बसोबास गर्दै आएका छन् । यी संरचना नेपाल–भारत सीमा क्षेत्रको दशगजाछेउमै छन् ।

काठका पल्ला मक्काएर र तारजाली उक्किएर सबै कोठाको दक्षिणतर्फका झ्यालहरु खुला थिए । झ्यालबाट निस्कनेबित्तिकै भारत जोगवनीको टिकुलीया बस्ती पुगिन्छ । खुला रहेका झ्यालबाट सहजरुपमा नेपाल–भारत आउजाउ गर्नसक्ने अवस्थाको फाइदा उठाउँदै सामानको अवैध ओसारपसार हुने गरेको देखिएपछि प्रहरीले बन्द गरेको हो ।

तस्करीमा संलग्नले झ्यालबाट नेपाल–भारत गर्दै तस्करी चलाउने गरेको पाइएपछि बन्द गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । उनका अनुसार दुई नम्बरी धन्दा चलाउनेले सहजरुपमा आवतजावत गर्दै तस्करी गरिरहेको पाइएपछि झ्यालहरु बन्द गरिएको हो ।

स्थानीयका अनुसार तस्करले झ्यालको बाटो हुँदै नेपालबाट मदिरा, मटर, सुपारी, मरिचलगायतका सामान भारत लैजान्थे । भारतबाट कपडा, ब्रोइलर कुखुरा, दैनिक उपभोग्य सामग्रीलगायतको नेपालतर्फ तस्करी हुने गरेको थियो ।

‘झ्यालबाट फुत्त हामफाल्नेबित्तिकै दशगजा पुगिन्छ । सुरक्षाकर्मीलाई छल्दै त्यहाँबाट तस्करी गरेर सामान अवैधरुपमा ल्याउने र लैजाने गरेको पाइयो,’ थापाले भने, ‘प्रत्येक कोठामा बसोबास गर्नेलाई सचेत गराएर सधैंका लागि झ्यालहरु बन्द गरिएको छ । कोहीकसैले तोडेर खोलेको पाइएमा तत्काल कारवाहीको दायरामा ल्याइने छ ।’

मोरङ प्रहरीले तस्करी, लागूऔषध, साना हतियार एवम् अवैध गतिविधि र सीमा अपराध नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा विशेष ढंगको ‘स्वीप अप्रेसन’ चलाएको छ ।

कोरोनाका कारण नाका सिल गरेरै नेपाल–भारत आउजाउ बन्द गरिएको छ । तर तस्करीमा संलग्नले सीमामा खटिएका सुरक्षाकर्मीलाई छल्दै लुकिछिपी तस्करी धन्दा चलाइरहेको पाइएपछि निगरानी बढाएर कारवाही गर्न थालिएकाे मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

उनले अप्रेसनको १० दिनभित्र सीमामा शंकास्पद गतिविधि गर्ने दुई सय ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर २४ घण्टासम्म ‘होल्ड’ गर्दै सोधपुछ गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने सर्तमा छाडिएको जानकारी दिए ।

jackson ribon