birat ribon

आईपीएल : बैंग्लोरको लक्ष्य दोस्रो स्थान, कोलकता भने बदला लिने दाउमा

Neuro
आईपीएल : बैंग्लोरको लक्ष्य दोस्रो स्थान, कोलकता भने बदला लिने दाउमा

विराटनगर, ५ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकता नाइट राइडर्स आमनेसामने हुँदैछन् । बेलुकी ७ः४५ मा हुने यो खेल शेख जायद रंगशालामा हुनेछन् ।

आईपीएल अंकतालिकाको तेस्रो स्थानको बैंग्लोर र चौथो स्थानको कोलकता दुवै जितको खोजीमा हुनेछन् । आ–आफ्ना नौ खेल खेलिसकेका यी दुवै टोली महत्वपूर्ण दुई अंक हात पार्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छन् ।

cura insider

समान खेल खेले पनि दुई अंक बढि रहेको बैंग्लोर आजको खेल जित्दै दोस्रो स्थानमा उक्लन चाहन्छ । दोस्रो स्थानको मुम्बईसँग अंक समान भए पनि नेट रन रेटमा पछि हुँदा बैंग्लोर तेस्रो स्थानमा छ ।

यता, कोलकता नेट रन रेटमा बैंग्लोरभन्दा अघि रहे पनि अंकमा पछि रहेका कारण चौथो स्थानमा छ । त्यसैले यदि आजको खेलमा कोलकताले बैंग्लोरविरुद्ध जित निकाल्ने हो भने ऊ तेस्रो स्थानमा उक्लने निश्चित छ ।

मिड–सिजन पछिको दोस्रो राउण्ड रोबिन लिगको तेस्रो र समग्रमा आ–आफ्नो दसौं खेल खेल्न लागेका यी दुवैले पछिल्ला दुईमध्ये एक खेलमा मात्रै जित निकाल्न सफल भएका छन् । आईपीएलमा आठ टोलीबीच प्लेअफसम्म पुग्न निकै प्रतिस्पर्धा भइरहेकाले पनि शीर्ष चारभित्रका तेस्रो र चौथो टोलीबीच आज हुने खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।

यी दुईमध्ये पहिलो राउण्ड रोबिन लिगका सात खेलमा बैंग्लोरले पाँच खेलमा जित निकालेको थियो भने कोलकता चार खेलमा मात्रै सफल भएको थियो । पहिलो लिगको आ–आफ्नो अन्तिम खेलमा एकअर्काविरुद्ध नै यी दुवै टोली आमनेसामने भएका थिए । सो खेलमा बैंग्लोरले कोलकतालाई ८२ रनले स्तब्ध बनाएको थियो ।

जारी आईपीएलमा नै दोस्रो पटक भिड्न लागेका यी दुईमध्ये कोलकता आज हारको बदला लिने दाउमा हुनेछ । अंकतालिकामा पनि पछि रहेको र पहिलो भेटमा हार भोगेकाले कोलकता आज बढि दबाबमा हुनेछ ।

यता बैंग्लोर भने आजको खेल जित्दै दुई दिनको लागि भए पनि आईपीएल अंकतालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ । शुक्रबार हुने चेन्नईविरुद्धको मुम्बईको खेलमा मुम्बई पराजित भयो भने मात्र उसले दोस्रो स्थान अर्काे खेलको नतिजा नआईन्जेलसम्म आफ्नो नाममा कब्जा गर्नेछ ।

यी दुईले हालसम्म आईपीएलमा एकअर्काविरुद्ध २५ खेल खेलिसकेका छन् । २५मध्ये कोलकता १४ पटक सफल भएको छ भने बैंग्लोर ११ पटक मात्रै भाग्यमानी साबित भएको छ । २०२० आईपीएलको पछिल्लो नतिजाबाहेक यी दुईले पछिल्ला तीन संस्करणमा खेलेका ६ खेलको नतिजाले पनि बैंग्लोरविरुद्ध कोलकतालाई अघि देखाउँछ । ६ मध्ये एक खेल मात्रै जितेको बैंग्लोर पाँच खेलमा कोलकतासँग स्तब्ध बनेको छ ।

आजको खेलमा बैंग्लोर कोलकताविरुद्ध जित निकाल्दै हेड–टु–हेड र आईपीएल अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । यता कोलकता भने यसै संस्करणको हारको बदला लिँदै आईपीएल अंकतालिकामा बैंग्लोरलाई पछि पारी तेस्रो स्थानमा उक्लन चाहन्छ । तर यी दुईमध्ये आजको खेलमा को सफल हुने हो ? त्यसको लागि हामीले खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

यी दुईबीच भएको पहिलो भेटमा टस जित्दै बैंग्लोरले पहिले ब्याटिङ गरेको थियो । २० ओभर पूूरै खेल्दै बैंग्लोरले दुई विकेटको क्षतिमा कोलकतासामु जितको लागि एक सय ९४ रनको विशाल लक्ष्य खडा गरिदिएको थियो । सुरुआतबाटै आक्रामक देखिएका बैंग्लोरका ब्याट्सम्यानहरूले क्रिजमा टिकेर खेलिदिए ।

बैंग्लोरका लागि ओपनिङ ब्याट्सम्यानद्वय फिन्चले ४७ र पाडिक्कलले ३२ रनको योगदान दिएका थिए । यी दुई आउट भएसँगै क्रिजमा आएका एबी डी र कप्तान विराट कोहलीले गतिलो साझेदारी गरेपछि बैंग्लोर विशाल रन बनाउन सफल भएको थियो । कोलकतालाई विशाल योगफल दिने क्रममा कप्तान कोहलीले ३३ र एबी डीले ७३ रन बनाउँदै नटआउट पारी खेलेका थिए ।

कोलकताका लागि प्रसिद्ध खान र आन्द्रे रसेलबाहेक अन्य बलर विकेट लिन सफल भएनन् । जवाफी ब्याटिङका लागि आएको कोलकता २० ओभरमा एक सय १२ रनमै समेटिएपछि बैंग्लोरले ८२ रनले खेल जितेको थियो । कोलकताका लागि शुभ्मन गिलले ३४, रसेल र त्रिपाठीले समान १६ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्नै सफल भएनन् ।

कोलकताका ब्याट्सम्यानलाई सस्तैमा समेट्न बैंग्लोरका लागि क्रिस मोरिस र वासिंटन सुन्दरले समान दुई विकेट लिए भने चाहल, सिराज, उडाना र सैनीले एक–एक विकेटको योगदान दिए । कोलकताका लागि क्रिजमा टिकेर खेलेका एक मात्र खेलाडी गिल भने रन आउटको शिकार बनेका थिए ।

अनुभवी कप्तान विराट कोहलीले सम्हालिरहेको बैंग्लोर आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । र, यो सम्भव पनि छ । ब्याटिङको जिम्मेवारी पाएका कप्तान कोहली तीन सय ४७, पाडिक्कल दुई सय ९६, एबी डी दुई सय ८५ र दुवे एक सय दुई रन बनाएर खेलिरहेका छन् भने बैंग्लोरको बलिङ पनि उस्तै चुस्त छ ।

नौ खेलमा १३ विकेटसहित चाहलले बैंग्लोरको बलिङको नेतृत्व गरिहेको बेला क्रिस मोरिस नौ र आईसुरु उडाना विपक्षी टोलीको सात विकेट लिँदै उनलाई पछ्याइरहेका छन् । यी तीनबाहेक वासिंगटन सुन्दर पाँच, नवदिप शैनी चार र मोहम्मद शिराजले तीन विकेटको योगदान बैंग्लोरलाई दिइसकेका छन् ।

कोलकताबाट जारी सिजन आफ्नो पहिलो खेलमै म्यान अफ द म्याच हुँदै टोलीलाई महत्वपूर्ण दुई अंक दिलाउन सफल पेशर लकी फर्ग्युशन आजको खेलमा पनि कोलकताको जर्सीमा देखिनेछन् । बलिङ र ब्याटिङमा आफ्नो तालमेल खासै मिलाउन नसकिरहे पनि खेल जित्दै चौथो स्थानमा आईपुग्नु कोलकतालाई भाग्यमानी मान्नुपर्छ ।

तर दोस्रो राउण्ड रोबिन लिगका हरेक खेलहरू निकै महत्वपूर्ण रहेकाले पनि कोलकताले आफ्नो विजयी यात्रा लम्ब्याउनु आवश्यक रहनेछ । हुन त मिड–सिजनपछि कप्तानी इयोन मोर्गनले सम्हालेपछि कोलकता केही लयमा देखिएको पनि छ । तर आईपीएलमा प्लेअफसम्म पुग्ने हो भने कोलकताले प्लेइङ एलेभेनमा खेलाडी छनोट गर्दा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।

कोलकताका लागि शुभ्मन गिलले तीन सय एघार र कप्तान मोर्गनले दुई सय ४८ रन बनाउनुबाहे अन्य खेलाडीले दुई सय रन जोड्न सकिरहेका छैनन् । आईपीएलको नवौ चरणको खेलको अन्त्यसम्ममा पनि राना एक सय ८४, त्रिपाठी एक सय ६७, कात्र्तिक एक सय ४१ र कुमिन्स एक सय २६ रनमै रहनुले पनि कोलकताको ब्याटिङ सुस्त भएको पुष्टि गर्छ ।

ब्याटिङ मात्रै नभई कोलकताको बलिङ लाइनअप नि खासै चल्न सकेका छैनन् । सर्वाधिक नौ खेल खेलेका रसेलले ६ र कुमिन्सले तीन विकेट लिनु बाहेक कोलकताले विभिन्न खेलमा भिन्नभिन्न बलरको मद्दत लिइरहेको छ ।

सनराइजर्सविरुद्धको पछिल्लो खेलमा टोलीमा पहिलो पटक परेका फर्ग्युसनले तीन विकेटसहित सुपर ओभरमा कसिलो बलिङ गर्दै टोलीलाई जित दिलाएका थिए । कोलकताका सर्वाधिक दश विकेट लिने शिवम मावीले सात खेल मात्रै खेलेका छन् ।

मावीबाहेक वरुण चक्रवर्तीले आठ खेलमा सात, कमलेश नगरकोटीले ६ खेलमा चार र प्रसिद्ध कृष्णले तीन खेलमा चार विकेट लिँदै कोलकतालाई योगदान दिइरहेका छन् ।

jackson ribon