birat ribon

स्थानीय तहसँगको समन्वय क्षतिग्रस्त बस्तीको व्यवस्थापन गरिने

Neuro
स्थानीय तहसँगको समन्वय क्षतिग्रस्त बस्तीको व्यवस्थापन गरिने

काठमाडौ, ५ कात्तिक । बाढीपहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी कार्यविधि तयार पारिएको बताए ।

cura insider

कार्यविधिअनुसार विपद व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले नै गर्नेछन् भने प्राधिकरणले आवश्यक समन्वय गर्नेछ । स्थानीय सरकारलाई सहयोग गर्न जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने काम प्राधिकरणले गर्ने पोखरेलले बताए ।

पुनस्र्थापनमा पछि जीविकोपार्जनका लागि विभिन्न संघसंस्था र निजी क्षेत्रसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु लागू गरिने पनि उनले बताए ।

यस्तै, बाढीपहिरोबाट हुने क्षतिको वित्तीय व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने काम पनि प्राधिकरणले गर्नेछ । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार जोखिमका लागि वित्तीय लगानीको अवधारणाअनुसार घर तथा सम्पत्तिको बीमा गर्नेलगायतका औजारहरुको प्रयोग गरिनेछ ।

सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट, आछामलगायतका जिल्लामा बाढीपहिरोबाट भएको क्षति र तिनका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भइसकेको पनि उनले बताए ।

प्राधिकरणको कार्यकारी समितिले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै विपद व्यवस्थापनका अन्य कार्यक्रमहरुलाई अगाडि बढाउने पनि पोखरेलले बताए ।

यस्तै, प्राधिकरणले बाढीपहिरो, आगलागी, भूकम्पलगायतबाट हुने विपदको व्यवस्थापनका लागि वृहत कार्यविधि तयार गरी काम गर्न लागेको पनि उनले बताए ।

jackson ribon