birat ribon

विराटनगरमा १ सय बेडको नागरिक ‘केयर सेन्टर’ बन्ने

Neuro
विराटनगरमा १ सय बेडको नागरिक ‘केयर सेन्टर’ बन्ने

विराटनगर, ४ कात्तिक । विराटनगरमा १ सय बेडको कोरोना केयर सेन्टर बन्न भएको छ । कोभिड संक्रमितको उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ विराटनगरका नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीहरूले केयर सेन्टर बनाउने भएका हुन् ।

विराटनगर महानगर क्षेत्रभित्र उपयुक्त स्थानमा उक्त नागरिक केयर सेन्टर बनाउने बताइएको छ ।यो अभियानका लागि विराटनगर महानगरका मेयर भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडालगायतका व्यक्तिहरूले कोभिड राहत कोषसमेत बनाएर केही समयदेखि निरन्तर लागिरहेका थिए ।

cura insider

राहत कोषसँगै यसको क्षेत्राधिकार व्यापक बनाउने अभियानअनुरुप नागरिक केयर सेन्टरको अवधारणा ल्याइएको बताइएको छ । केयर सेन्टर निर्माण गर्ने कामका लागि प्रमुख सल्लाहकारमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई र नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालालाई राखिएको छ भने उद्योगी तथा पूर्वसंविधानसभा सदस्य पवन सारडाको अध्यक्षतामा १३ सदस्यीय समिति बनाइएको छ ।

मंगलबार गठित समितिका सदस्यहरूमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका १ का अध्यक्ष राजेन्द्र राउत,उद्योगीहरू महेश जाजु, सुशील धनावत, नवीन रिजाल, लायन्स क्लबका राजन खत्री, नेपाल बार एशोसिएसनका पुनम गुप्ता, रोटरी क्लबका बिजु थपलिया, सामाजिक अभियन्ता सूची चौधरी र सदस्य सचिवमा पुनमकुमार दाहाल रहेका छन् ।

यस्तै सल्लाहकारमा प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की,आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो,सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैत, प्रदेश सांसद एवं नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की, प्रदेश सांसद तथा जसपा संसदीय दल नेता जयराम यादव विराटनगर महानगरका मेयर भीम पराजुली, जहदा गाउँपालिका, कटहरी गाउपालिका, बूढीगंगा गाउँपालिका, बर्जु गाउँपालिका, ग्रामथान गाउँपालिका रहेका छन् ।

मंगलबार विराटनगरमा बसेको समितिको बैठकले विराटनगरका आम नागरिक समुदायको हितका लाागि नागरिक केयर सेन्टरको अवधारणा ल्याइएको र यसबाट आम नागरिक लाभान्वित हुने सेन्टरका अध्यक्ष सारडाले बताए ।

उनले चाँडै विराटनगर महानगर र प्रदेश सरकारको समेत सहयोगमा काम थालिने जानकारी दिए ।

jackson ribon