birat ribon

दिल्लीलाई शीर्ष स्थान जोगाउनु पर्ने दबाब, पञ्जाबको लक्ष्य पाँचौं स्थान

Neuro
दिल्लीलाई शीर्ष स्थान जोगाउनु पर्ने दबाब, पञ्जाबको लक्ष्य पाँचौं स्थान

विराटनगर, ४ कात्तिक । नौ खेलमा १४ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्स्ले आज सातौं स्थानको किंग्स एलेभेन पञ्जाबसँग दुबई रंगशालामा खेल्दैछ । बेलुकी ७ः४५ बजे हुने खेलमा दिल्ली शीर्ष स्थान जोगाउन दुई अंक बटुल्ने दाउमा हुनेछ । हुन त दोस्रो स्थानको मुम्बईभन्दा ऊ दुई अंकले अघि छ । तर पनि आजको खेल जित्दै दिल्ली चार अंकको स्पष्ट अंक दुरी कायम गर्न चाहन्छ ।

यता दोस्रो राउन्ड रोबिन लिगका पछिल्ला दुई खेल जित्दै फर्ममा फर्किएको पञ्जाब आज जसरी भए पनि दुई अंक हात पार्ने दाउमा हुनेछ । तालिकाको सातौं स्थानमा रहेकाले पनि प्लेअफसम्मको यात्रा तय गर्न आजको खेलको अंकको उसलाई ज्यादै खाँचो छ । खेलेका नौमध्ये तीन खेलमा मात्रै जित निकालेको पञ्जाब आज लगातार तेस्रो र जारी आईपीएलमा आफ्नो चौथो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदैछ ।

cura insider

२०२० आईपीएलको पहिलो भेटमा दिल्लीसँग हार भोगिसकेकाले पनि पञ्जाब आज केही दबाबमा हुनेछ । जारी आईपीएलको आ–आफ्नो पहिलो खेलमा भेट भएका यी दुईबीचको खेलको नजिता सुपर ओभरमार्फत् सम्भव भएको थियो । दिल्लीविरुद्ध जित नजिक पुगे पनि खेल बराबरीमा ल्याउन विवश बनेको पञ्जाब सुपर ओभरमा पराजित हुँदै स्तब्ध बनेको थियो ।

दुबई रंगशालामा टस जितेर पहिले फिल्डिङ रोजेको पञ्जाबले एक सय ५७ रनको मध्यम लक्ष्य पाएको थियो । दिल्लीका सुरुवाती तीन खेलाडीलाई सस्तैमा समेटे पनि मध्यक्रममा ब्याटिङका लागि आएका दिल्लीका कप्तान ऐयरले ३९, पन्तले ३१ र स्टोइनिसले ५३ रनको उत्कृष्ट प्रदर्शन गरेपछि दिल्ली केही सम्हालिएको थियो । तर पञ्जाबका बलरहरुले किफायती बलिङ गरेपछि स्टोइनिसपछि आएका चार ब्याट्सम्यानले १३ रनमात्रै बनाउन सफल भएका थिए । दिल्लीलाई एक सय ५७ रनमै रोक्न पञ्जाबका लागि मोहम्मद शामीले तीन, सेल्डन कोर्टलले दुई र रवि विश्नोइले एक विकेट लिएका थिए । दिल्लीका धवन र स्टोइनिस भने रन आउटको शिकार बनेका थिए ।

मध्यम लक्ष्य पाएको पञ्जाबले सुरुवात गतिलो गरेकै पनि हो । पाँचौ ओभरमा पञ्जाबको रन ३० हुँदा कप्तान राहुललाई गुमाएपछि धर्मराएको पञ्जाबको इनिङ्स मयांक अग्रवालले सम्हाल्न खोजे पनि उनलाई अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा खेल सुपर ओभरमा धकेलिएको थियो । पञ्जाबका लागि कप्तान राहुलले २१, मयांक अग्रवालले ८९, सर्फराज खानले १२ र कृष्णप्पा गोथामले २० रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउनै सकेनन् ।

दिल्लीविरुद्धको खेलको अन्तिम ओभरमा १३ रन आवश्यक रहेको बेला क्रिजमा पञ्जाबका लागि मयांक अग्रवाल र क्रिस जोर्डन रहे पनि दुवै खेलाडी स्टोइनिसको बलिङको फन्दामा परेका थिए । उत्कृष्ट प्रदर्शन गरिरहेका अग्रवालले सुरुवाती तीन बलमा १२ रन बनाएर पञ्जाबलाई जित नजिक पु¥याए पनि अन्तिम तीन बलमा पञ्जाब सम्हालिन नसकेपछि खेल बराबरीमा टुंगिएको थियो ।

तर त्यसपछिको सुपर ओभरमा दिल्लीसामु निरिह बन्दै पञ्जाबले महत्वपूर्ण दुई अंक सुम्पिन बाध्य बन्यो । आजको खेलमा पञ्जाबसँग सोही नमिठो हारको बदला लिने अवसर छ ।

यी दुईले हालसम्म २५ पटक एकअर्काविरुद्ध खेलिसकेका छन् । खेलेका २५ मध्ये पञ्जाबले १४ खेल आफ्नो पक्षमा पारेको छ भने दिल्ली ११ पटक मात्रै सफल भएको छ । २०२० आईपीएलबाहेक यी दुईले खेलेका पछिल्ला ६ खेलको नतिजाले पनि दिल्लीविरुद्ध पञ्जाबलाई बलियो स्थितिमा देखाउँछ । ६ मध्ये चार खेलमा जित निकालेको पञ्जाबले के आजको खेलमा दिल्लीलाई हारको स्वाद चखाउन सफल होला त ? यो प्रश्नको जवाफ दुबई रंगशालामा हुने खेलको नतिजाले पक्कै दिनेछ ।

आक्रामक ब्याट्सम्यानले भरिएको पञ्जाबलाई आज क्रिस गेलको साथ हुनेछ । बैंग्लोरविरुद्धको खेलबाट मात्रै पञ्जाबबाट खेल्न थालेको गेलले एक अर्धशतकसहित ७७ रन बनाइसकेका छन् । त्यसबाहेक जारी आईपीएलमा सर्वाधिक रन बनाउने केएल राहुल र मयांक अग्रवाल पनि पञ्जाबका लागि उपलब्ध हुनेछन् । यी तीनबाहेक जारी आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने निकोलस पुरन पनि पञ्जाबका ब्याटिङ हतियार हुन् । आक्रामक ब्याटिङलाई सहयोग गर्न पञ्जाबको टोलीमा मोहम्मद शामी, रवि विश्नोइ, अर्षदीप सिंह, क्रिस जोर्डन, मुजिब उर रहमान, सेल्डन कोर्टल र मुरुगन आश्विन जस्ता बलरहरु छन् । मोहम्मद शामी जारी आईपीएलमा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी हुन् भने पञ्जाबका लागि पहिलो हुन् । नौ खेल खेलिसकेका शामीले १४ विकेट लिइसेकका छन् ।

आईपीएल इतिहासमा नै एकै खेलमा दोहोरो सुपर ओभर खेलेको र उक्त खेलमा जित निकाल्न सफल बनेकाले पनि पञ्जाब आज केही उत्साहित हुनेछ् । अघिल्लो संस्करणको मुम्बईलाई आफ्नौ नवौं खेलमा पञ्जाबले दुबई रंगशालामा नै हराएको थियो । दुवै टोलीले २० ओभरमा समान एक सय ७६ रन बनाएपछि लम्बिएको खेलको नजिता दोस्रो सुपर ओभरमा मात्रै आएको थियो । पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा नै पराजित भएको पञ्जाब एकै खेलमा भएका दुई सुपर ओभरमा जित दर्ता गर्न सफल भइसकेकाले पनि आजको खेल निकै रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ ।

जारी आईपीएलको पहिलो खेलमा पञ्जाबविरुद्ध मैदान उत्रँदा शून्य रनमै पेभिलियन फर्किएका दिल्लीका ओपनिङ ब्याट्सम्यान शिखर धवन तीन सय ५९ रन बनाएर आईपीएल खेलिरहेका छन् । प्रतियोगितामा एक शतक र दुई अर्धशतक बनाइसकेका धवनको पछिल्लो फर्म निकै लोभलाग्दो छ । जारी आईपीएलमा तीन खेलाडीले मात्रै शतक बनाउन सफल भएका छन् । र ती तीनै खेलाडी आज एकअर्काविरुद्ध मैदानमा उत्रँदा खेल निकै प्रतिस्पर्धात्मक हुने पक्का छ । प्रतियोगिताकै पहिलो शतक बनाउने पञ्जाबका कप्तान राहुल हुन् भने दोस्रो शतक बनाउने पञ्जाबकै मयांक अग्रवाल हुन् । २०२० आईपीएलको तेस्रो शतक बनाउन सफल भएका धवनले सो उपलब्धि चेन्नईविरुद्धको खेलमा बनाएका हुन् ।

धवनसँगै दिल्लीका हरेक खेलाडी निकै फर्ममा देखिएका छन् । कप्तान ऐयर तीन सय २१, मार्कस स्टोइनिस दुई सय १७ र पृथ्वी सअ दुई सय दुई रन बनाएर आईपीएल खेलिरहेका छन् । उत्कृष्ट फर्ममा देखिएको दिल्लीको बलिङ पनि उस्तै प्रभावकारी देखिएको छ । जारी आईपीएलमा सर्वाधिक विकेट लिन सफल कागिसो रबाडाले नौ खेलमा १७ विकेट लिँदै दिल्लीबाट खेलिरहेका छन् । रबाडाबाहेक नोत्र्जे १२, अक्सर पट्टेल र रविचन्द्रन आश्विन समान सात र स्टोइनिसले ६ विकेट लिएर दिल्लीलाई योगदान दिइरहेका छन् ।

यो सिजन आईपीएलमा निकै फर्ममा देखिएको दिल्ली र दोस्रो राउन्ड रोबिनबाट भर्खरै फर्ममा देखिएको पञ्जाबमध्ये आज कसले बाजी मार्ने हो ? यसका लागि हामीले आजको खेल हेर्नु पर्ने हुन्छ ।

jackson ribon