birat ribon

स्थानीय तहमा अस्पताल बनाउँदै सरकार

Neuro
स्थानीय तहमा अस्पताल बनाउँदै सरकार

काठमाडाैं, ३ कात्तिक । सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने भएको छ ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि सबै स्थानीय तहमा ५ देखि १५ शैयासम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप अर्थमन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको हो ।

cura insider

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको समुपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबीच भएको बैठकमा यस्तो सहमति भएको अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले बताए ।

सरकारले मुलुकभर एकैपटक ३ सय ७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्वाकाक्षी योजना अगाडि सारेको छ । एकीकृत योजनाअन्तर्गत प्रादेशीक र संघीय अस्पतालहरूसमेत रहेका छन् ।

मन्त्रालयले १ हजार २ सय थान भेन्टिलेटर, ३ हजार ५ सय थान हाई डिफेडेन्सी यूनिट र ३ हजार थान आइसियूको प्रबन्ध गर्न बजेटको व्यवस्था गर्ने भएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने आइसियु, एचडियु, भेन्टिलेटर लगायतका मेशिन उपकरण तत्काल खरिद गर्नेगरी तयार भएको कार्ययोजनाबमोजिमको खरिद प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र त्यसका लागि आर्थिक स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने सहमति पनि भएको छ ।

यस्तै कोभिड खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कुटनीतिक र अन्य पहल अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा अगाडि बढाउने भएको छ ।

यसबाहेक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को विरुद्ध विकास हुने खोपलगायतका आपतकालीन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्ने प्रकृया अगाडि बढाउने सहमतिसमेत दुई मन्त्रालयबीच भएको छ ।

jackson ribon