Rumpum Advertisement

संक्रमित बढ्न थाले, दशैंपछि स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउन सक्छ

दशैंमा घर नछाडौं, संक्रमण भइहाले आत्मवल दह्रो बनाऔं

Neuro Revised Adv
Koshi Dashain ad
संक्रमित बढ्न थाले, दशैंपछि स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउन सक्छदशैंमा घर नछाडौं, संक्रमण भइहाले आत्मवल दह्रो बनाऔं
डा. नवराज सुब्बा
(जनस्वास्थ्यविद)

कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढ्ने क्रम जारी छ । अस्पतालमा परीक्षण गरिएकामध्ये आधाभन्दा बढीको रिपोर्ट पोजेटिभ आइरहेको छ । संक्रमण व्यापक हुँदा बजारमा चहलपहल भने झन् बढेको देखिन्छ ।

नेपालीको प्रमुख चाडपर्वसँगै चिसोको मौसम पनि नजिकिँदै छ । यो समयमा संक्रमण झन् फैलन सक्छ । अहिलेको अवस्थामा नै स्वास्थ्य पूर्वाधार अभाव हुन थालेको छ ।

चाडपर्वमा हुने चहलपहलले झन् संक्रमण बढ्ने छ । संक्रमण फैलँदा लक्षणसहितका बिरामी पनि बढ्छन् । हाम्रो स्वास्थ्य संरचना कमजोर छ । अहिले धान्न मुस्किल छ । भोलि संक्रमण व्यापक हुँदा स्वास्थ्य संस्थाले धान्न सक्दैनन् । अस्पतालमा बेड पाउन गाह्रो पर्छ । स्वास्थ्यकर्मी पनि संक्रमित हुने भएकाले बेड पाइहाले पनि उपचार पाउन मुस्किल पर्ने अवस्था आउन सक्छ ।

चाडपर्व र चिसो मौसम नजिकिएसँगै कोरोना संक्रमितको संख्या मात्र होइन् गम्भीर अवस्थाका संक्रमितको संख्या पनि बढ्दा ठूलो संकट देखा पर्न सक्छ ।

तत्काल संक्रमण घट्दैन

नेपालमा कोभिडको संक्रमण भर्खरै उच्च विन्दुमा पुग्न थालेको छ । चाडपर्व तथा चिसो मौसम पनि नजिकिँदै आएको छ । चाडपर्व र चिसो मौसममा संक्रमितको संख्या व्यापकरूपमा बढ्ने सम्भावना छ ।

अहिले नै चिन्ताजनक देखिएको यो अवस्था जाडोको अन्त्यसम्म झन् बढेर जान्छ ।

चाडबाडका बेला एक ठाउँबाट अर्को ठाउँ जाने र आफन्तहरूसँग भेटघाट अन्य समयमा भन्दा बढी गरिने हुँदा सरकारले पनि यो वर्षको दशैं आफू बसेकै स्थानमा मनाउन आग्रह गरेको छ ।

सतर्कता अपनाउन, भिडभाड नगर्न भनेर दिइएको सुझाव हाम्रै हितका लागि हो भनेर बुझेर यसलाई लागू गर्न जरुरी छ ।

पछिल्लो समय संक्रमणको अवस्था खराब भएका कारण चाडबाडमा घर जाँदा वा यात्रा गर्दा यातायातमा संक्रमणको जोखिम धेरै हुन सक्छ ।

यात्रा गरेर संक्रमणको जोखिम बढाउनुभन्दा पनि योपालि घरमै चाडपर्व मनाउनु नै उचित हुन्छ । आवश्यक मानिसलाई मात्र भेट गर्ने, टाढाको यात्रा नगर्ने तथा घरमै वा नजिक भएका सदस्यले मास्क लगाएर, भिडभाड नगरी सामाजिक र भौतिक दुरी पालना गरेर टिका लगाएर दशैँ मनाए केही हदसम्म संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।

संक्रमित हुनासाथ आत्तिएर अस्पताल भर्ना हुनु पर्दैन

संक्रमितको संख्या दिनहुँ बढेसँगै उपचार गरिरहेका अस्पतालहरूमा चाप बढिरहेको छ । कोरोना भाइरसबाट संक्रमित हुनासाथ भर्ना नै हुनु नपर्ने बिरामीहरू पनि आत्तिएर अस्पताल भर्ना भइरहेका छन् ।

अस्पतालमा बेड अभाव हुन नदिन गम्भीर लक्षण देखिएका तथा आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितलाई मात्रै अस्पातलमा भर्ना हुँदा राम्रो हुन्छ ।

लक्षण नदेखिएका संक्रमितको संख्या धेरै छ । लक्षण नदेखिएका संक्रमित छिट्टै निको हुने सम्भावना पनि हुन्छ ।

संक्रमित भएकामध्ये कसैकसैलाई मात्र गाह्रो भएको छ । गम्भीर संक्रमितको संख्या तुलनात्मकरुपमा कम नै छ । पोजिटिभ रिपोर्ट आउनासाथ, सामान्य अवस्था र लक्षण नदेखिएका संक्रमितले अस्पताल जानुपर्छ भन्ने त्रासमा बस्नु हुँदैन ।

सावधानी अपनाएर घरमै बसेका धेरैले कोरोना जितेका छन् । सामान्य लक्षण हुँदा आत्तिएरभन्दा पनि आत्मवल बढाएर सकारात्मक ढंगले घरमै रोगलाई जित्न सकिन्छ भनेर बुझ्नु पर्छ ।

सामाजिक सञ्जाल, पत्रपत्रिकालगायतमा पनि आइसोलेसनमा बस्ने तरिकाका बारेमा सिक्न सकिन्छ । चाहिएको खण्डमा चिकित्सकको सल्लाह लिनु पर्छ । साह्रोगाह्रो परेको महसुस भएजस्तो लाग्नासाथ मात्र अस्पताल जानुपर्ने हुन्छ ।

हेलचेक्राइँ बढ्यो, सर्वसाधारण आफैंले जिम्मेवार हुनुपर्छ

बजार तथा यातायातहरू खुल्न थालेपछि जोखिमबाट मुक्त भयौं भन्ने हिसाबले सर्वसाधारणले जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूको खासै पालना नगरेको देखिन थालेको छ ।

मानिसले अनावश्यक भिडभाड गर्ने, मास्क लगाउन बेवास्ता गरेको र सामाजिक दुरी कायम नगरेको देखिन्छ । यसले आफूलाई मात्र संक्रमणको जोखिम बढाउनुको साथै अरुलाई पनि जोखिममा पारिरहेको हुन्छ । मुख्य कुरा भनेको संक्रमण सर्नै नदिने हो ।

आफूलाई मात्र नभएर अरुलाई पनि संक्रमण हुनबाट बचाउनु नै सामाजिक दायित्व हो । संक्रमणको दर बढ्ने क्रम तीव्र रहेको र स्थिति गम्भीर हुँदै गएको अवस्थामा सर्वसाधारण आफैंले जिम्मेवार भई सावधानी अपनाउनुपर्ने अवस्था आइसकेको छ ।

सरकारले जारी गरेका मापदण्ड पालना गरेर संक्रमणलाई कम गर्न सर्वसाधारणले नै प्रमुख भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । हावा, स्वाब तथा भिडभाडमा संक्रमण धेरै सर्न सक्ने तथा अधिक जोखिम हुने हुदा मास्क अनिवार्यरुपमा लगाउने, हात धुने तथा सरसफाइमा ध्यान दिनु पर्छ ।

मास्क लगाउँदा सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको आफूले पनि अरुलाई संक्रमण नसार्ने र अरूबाट पनि नसर्ने हुनुपर्छ । हामीले नै एकअर्कालाई सम्झाएर सुझाव दिनुपर्छ ।

एकपटक प्रयोग गरिसकेको मास्कलाई धोएर मात्र प्रयोग गर्नुपर्छ । साथै, हात धुने, सामाजिक दुरी अपनाउने, भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिएर नै संक्रमणको जोखिमलाई कम गर्न सकिन्छ ।

(कुराकानीमा आधारित)