विराटनगर, २५ असोज । मध्यरातमा माछा मार्न खोलामा प्रवाह गरिएको करेन्ट लागेर मोरङको कानेपोखरी गाउँपालिका–४ त्रिवेणी चोकका ३० वर्षीय रेशम माझीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रेशम स्थानीय २९ वर्षीय विनोद माझी र ३४ वर्षीय सुदीप धिमालसँग मिलेर करिया खोलामा माछा मार्न शनिबार राति १० बजेतिर पुगेका थिए । खोलामा प्रवाह गरिएको करेन्टका कारण मरेका माछा टिप्न दहमा पस्दा घटना भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार प्रहरीको आँखा छल्लेर खोलामा माछा मार्दै गर्दा शनिबार राति ११ बजेतिर करेन्ट लागेर माझी बेहोस भएको खुलेको छ । बेहोस अवस्थामा साथीहरु र स्थानीयले उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान १ः३० बजेतिर माझीको मृत्यु भएको हो । बेहोस भएर उपचारका लागि लैजाँदासम्म पनि प्रहरीले घटनाका बारेमा चाल पाउन सकेको थिएन । आइतबार बिहान १ः३० बजेतिर उपचारकै क्रममा घाइतेको मृत्यु भएपछि पानीमा डुबेका कारण घटना भएकोभन्दै प्रहरीलाई जानकारी गराइएको थियो ।
तर चिकित्सकले डुबेर नभइकन मृत्युको कारण अरुनै हुन सक्ने बताएपछि प्रहरीले अनुसन्धान थाल्दा माछा मार्ने क्रममा करेन्ट लागेर घटना भएको खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा माछा मार्नलाई करेन्ट प्रवाह गर्न प्रयोग गरिएको तार, टेस्टर लगायतका सामग्री फेला परेको प्रहरीको भनाइ छ ।
रेशमसँग राति माछा मार्न खोलामा गएका विनोद र सुदीपलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ‘प्रतिबन्ध लगाइएका कारण खोलामा करेन्ट लगाएर माछा मार्न पाइँदैन,’ एसपी खड्काले भने, ‘तर प्रहरीको आँखा छल्दै रातको समयमा अवैध तरिकाले माछा मार्न खोज्दा करेन्ट लागेर मानवीय क्षति भएको पाइयो ।’