विराटनगर, २५ असोज । मुलुकभर निजी स्रोतका २८ हजार शिक्षक आफ्नो पाउँदै आएको तलबबाट बञ्चित भएका छन् ।
कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा र पठन पाठन सञ्चालन हुन नसक्दा तलब नपाएर शिक्षक मारमा परेका हुन् । नेपालभित्रका झण्डै २८ हजार निजी स्रोतका शिक्षक तलबविहीन रहेको नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम थापाले बताए ।
“विद्यालयले नै आन्तरिक स्रोतमा तलब भत्ता खुवाउने गरी निजी स्रोतमा शिक्षक राख्ने प्रक्रिया नै गलत छ”, उनले भने , “विद्यार्थीको चापका आधारमा शिक्षक दरबन्दीको व्यवस्था नहुँदा विद्यालय आफ्नै शिक्षकलाई तलब खुवाउन नसक्ने समस्यामा छन् ।”
शिक्षा तथा मानव विकास केन्द्रका निर्देशक गेहनाथ गौतम निजी स्रोतका शिक्षकको जिम्मेवारी केन्द्रले लिन नसक्ने बताउँछन् । “निजी स्रोतका शिक्षक राख्ने विद्यालयले नै तलबको जिम्मेवारी लिनुपर्छ त्यो सरकारले लिन सक्दैन,” उनले भने ।
निजी स्रोतका शिक्षकलाई दिइने तलबको स्रोत विद्यार्थीबाट लिइने शुल्क हो । पढाई सञ्चालन नहुँदा विद्यालयले शुल्क लिन पाएका छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ