birat ribon

यथावत्

Neuro
यथावत्

अकिञ्चन खतिवडा

Padelux insider
cura insider

कत्तिक नलाग्दै जाडो हुन सुरु गथ्र्यो । आकाश खुल्यो कि सिरेटो चल्न थाल्थ्यो । आकाश धुम्मियो कि या त भुइँकुइरो लागेको हुन्थ्यो या त हिउँदे झरी परिरहेको हुन्थ्यो । यी सबै अवस्थामा जाडो निसन्देह तेज भएर उर्लिएको हुन्थ्यो । सिरेटो चल्दा जाडो करौतीझै कोपर्न आइपुग्थ्यो । हिउँदे झरी पर्‍यो भने त जाडोको कुनै सीमा हुन्थेन । जाडो गामन सर्पको फणाझैं चिसो र डरलाग्दो भएर प्रण डस्न आइपुग्थ्यो ।

ऊ धेरै वर्षदेखि जाडो खप्दै आइरहेकी थिई । जाडोले प्रत्येक हिँउदमा उसलाई तलबारको धारझै आतंकजन्य स्पर्श छोड्नाले प्रत्येक हिँउदमा उसलाई तलवारको धारझैं आतंकजन्य स्पर्श छोड्ने गरेको थियो । जुन ऊ वर्षादभरिमा पनि बिर्सिसक्तिनथी । जब जाडो उसको बुई चड्ने गरेको थियो, उसका रौंहरु ठाडा हुन्थे । जीउभरि काँडा उम्रिन्थे । जाडो जब उसको वृत्त वरिपरि रङमगाउन थाल्थ्यो ऊ नदीको रेतमा नरकटको बोटझै थरथर काँप्न थाल्थी । ओठहरु काला–नीला हुन्थे । दाँतहरु बेजोडले बज्न सुरु गर्थे । नाकका प्वालवाट पानी चुहिन्थ्यो । एउटा अदम्य पीडा, कठोर यन्त्रणा र निष्ठुर आक्रमण निरन्तर प्रतीत भैरहन्थ्यो ।

जाडोलाई ऊ घृणा गर्थी । पीडाग्रस्त अनुभूति र कष्टसाध्य भावनाहरु मत्र हैन, जाडोले उसलाई आर्थोक पनि सम्झाउने गरेको थियो । जाडो यति निर्लज्ज र नजाति भएर जिस्कन्थ्यो ऊसँग कि ऊ अतीतका स्मृतिहरु उप्काउनसमेत बाध्य हुन्थी । काखको पिउसो छोरोलाई अँगालोमा अझ दह्रो गरी कस्नु र स्मृतिपटमा मृत लोग्नेको तस्वीरलाई खेलाउनु उसको नियति बन्दै गइरहेको थियो । जाडो जब यथार्थमा मुटु छोएर हिँड्थ्यो, निःशर्त उसमा यी भावहरु अभिभार्व हुन्थे । ऊ छोरालाई छातीमा अझ सुरक्षित ढंगले लुकाउन आफ्नो पेटीकोटको फेरले छोप्ने गर्थी । केही क्षण त उसको छोरो रुँदै हुन्थ्यो तर केही क्षणपश्चात ननिदाइकन धरै थिएन् । छोरो निदाएपछि ऊ आफ्नो लोग्नेको स्मृतिलाई उप्काउन सुरु गर्थी । निन्द्रा मध्यरात ढल्किँदासम्म पनि ऊदेखि टाढै बस्थ्यो । उसले राम्ररी बुझिसकेकी थिई हिउँदको जाडो, निद्रा, उसका आँखा र सपनाहरुबीच कुनै तादाम्यता थिएन । यी परस्पर असम्पृक्त चर सावित भएका थिए । ऊ मनमनै सोच्ने गर्थी, भाग्यले नराम्ररी ठगेको छ ।

लोग्नेको अँगालोमा जाडो भएको क्षणको स्मृति उसको मानसपटलमा छँदै थिएन । उसको लोग्ने यमानको छाती, बटारिएका तिघ्रा र पासुला भएको हृस्टपुष्ट थियो । लोग्नेको भव्य शरिरको स्पर्शमा पनि ऊ निश्चिन्त निदाउन सक्थी । जाडो बाह्र हातको टाँगीपर झोक्राउन बाध्य हुन्थ्यो । उसको के ठहर थियो भने उसको लोग्ने रापिएको–रापियै गर्न सक्ने आगोको मान्छे थियो । ऊ लोग्नेको शरिर लापेर खुल्ला आकाशमुनिको चौरमा पनि सपनाहरुसँग खेल्ने, जिस्कने र रमाउन सक्थी । उसको लोग्नेको शरिर मात्र होइन सिरक पनि निकै तातो थियो । उसको लोग्ने भन्ने गथ्र्यो राजमार्गमा काम गर्दा निकै कठोर परिश्रम र मितव्ययिताको कारण सिरक जोर्न सम्भव भएथ्यो । यी दुबै कुराहरु नभएको भए उसको लोग्नेसँग सिरक हुन सम्भव थिएन । परिश्रम बढाएर मध्यरातसम्म गिट्टी कुट्ने, चरकोल उमाल्ने, दाउरा काट्ने र ढुंगाहरु ओसारपसार गर्ने गथ्यो । मितव्ययिता गर्न उसले निकै दिनसम्म दुई छाक खाएन, केवल एक छाक खाएर टार्‍यो । यति ठूलो यत्न र तपस्यापछि मात्र उसको लोग्नेले सिरक जोड्न सकेको थियो । जाडोको याममा उसको लोग्ने साँझ पर्नेबित्तिकै उसलाई सिरक ओडाइदिन्थ्यो र अँगालोबद्ध भएर पल्टिन्थ्यो ।

लोग्ने पाउनुअघि उसलाई सिरकको अनुभव थिएन । उसका बाबु–आमासँग एउटा पुरानो दरी र दोलाइँ मात्र थिए । तन्ना, डसना वा सिरक थिएनन् । सानो छँदा ऊ आमा–बाबुको बीचमा पसेर त्यै दोलाइँमुनि निदाउने गर्थी । जवान हुँदै गएपछि ऊ यो सुविधाबाट बन्चित भई यसर्थ कि जवान छोरी बाबुसँग सत्नु हुन्थेन । त्यतिखेर उसले एउटा भिन्नै जुक्ति प्रयोग गर्ने गरेकी थिई । ऊ गाँउबाट खमारखमार डुलेर दाउनी गरेको पराल भेला गर्थी र त्यसलाई ओछ्यान जस्तो मिलाएर थुपार्थी । जब साँझ पथ्र्यो, ऊ त्यै परालमा घुस्रिहाल्र्थी । लोग्नेसँग हुन्जेल उसले त्यसो गर्न परेनथ्यो । उसको जिन्दगीमा एउटा अनौठो संयोग थिए लोग्ने र सिरक । जब लोग्ने भयो सिरक पनि भयो, जब लोग्ने गयो लोग्ने सँग–सँगै सिरक पनि गयो । राजमार्गमा काम गर्न उसको लोग्ने अपेक्षाकृत सन्तुष्ट रहेन । उसको लोग्नेको विचारमा गिट्टी कुट्नकै लागि गाउँ छोडनुमा कुनै आनन्द थिएन तथापि काम गाउँबाट एक दिनभरिको बाटो परसम्म रहँदा ऊ काममै थियो । जति राजमार्ग तयार हुँदै जान्थ्यो गाउँ र स्वास्नीसँग उसको लोग्ने त्यति नै टाढा पर्दै जान्थ्यो । सम्भवतः उसको लोग्नेलाई यसरी टाढिन पटक्कै मन परेन । ऊ फर्किएर गाउँमै आएको थियो ।

गाउँमा बस्दा उसको लोग्नेले गर्ने कामहरु नितान्त परम्परागत थिए । ऊ मरेको डिँगाहरुको कुशलतापूर्वक छाला काढ्ने जान्दथ्यो र काँचो छाला संकलन केन्द्रको स्थानीय डिपोमा लगेर बिक्री गथ्र्यो । गाउँमा उनीहरुको आयको प्रमुख स्रोत नै यही हुुन्थ्यो । तर सधैं मरेका डिँगाहरु पाउन सम्भव थिएन । औषत डिँगाहरु मीनपचासको जाडोमा मर्ने गर्छन् । उसको लोग्नेमा डिँगाहरुको करङ गनेर कुन चाहिँलाई त्यस सालको माघे जाडोले लडाउला भनेर छट्याउने क्षमता थियो । ऊ ढोलक बजाउन पनि खुबै जान्दथ्यो । जात्रा पर्व र विहेहरुमा बाजा बजाएर पनि ऊ पैसा कमाउने गथ्र्यो । वर्षादमा भने पटवारी चौधरी साहेबको कामत खेतमा हलो चलाउनुबाहेक ऊसँग रोजगारीको विकल्प थिएन । ऊ बाढी आएका खोला, आहाल र भौडाहरुमा माछा मार्न, गँगटा र घुँगी खोज्नसमेत उत्तिकै व्यस्त रहन्थ्यो ।

उनको लोग्ने उसलाई खुब माया गथ्र्यो । उनलाई आफ्नो निधार, गाला र चिउँडोमा लोग्नेका ताता ओठहरुको स्पर्श यथावत अनुभूत भैरहन्छ । ऊ लोग्नेको छातीमा टाउको राखेर मुटुको मिहीन संगीतलाई सुन्ने गर्थी । ऊ आफ्नो लोग्नेको हत्केलाभरि स्पर्श गर्न, आँखाभरि सजाउन र मुटुभरि लुकाउनु पाउँदा रमाइलो अनुभूत गर्ने गर्थी ।

तर ऊसँग न लोग्ने थियो न सिरक थियो अब । केवल त्रासद र आतंकपूर्ण स्मृति मात्र बाँकी थियो ।
त्यति मोटोघाटो र हट्टाकट्टा मान्छे त्यति सजिलै मर्न सक्छ भनेर दैवले समेत चिताउन सक्तैनथ्यो । ऊ त लोग्ने मर्न सक्छ भन्ने कुरामा विश्वासै गर्दिनथी । उसका आँखाहरुमा लोग्नेको मृत्यु र एक्लो जीवनको कुनै परिकल्पना थिएन । सोच्ने गर्थी– यमराज आफैं आयो भने पनि उसको लोग्नेको एकै मुक्कामा दुईवटा दारा फुकालेर पठाइदिने छ । ऊ आफ्नो लोग्नेको पुरुवार्थ र पराक्रममा निश्चिन्त थिई । तर उसका यी यावत् अपेक्षाहरुलाई निरीह सावित गर्र्दै उसको लोग्ने मरिछोड्यो । उसले आफ्नो सिन्दुर नपुछी धरै पाइन् । छाती पिटी–पिटी, झाँक्रो फिजाएर क्वाँ–क्वाँ रुनु उसको नियति बन्यो । सनपाट (जटको बोट) गाडेको भौडाको माछा के खाएको थियो, हैजा उठिहाल्यो । छाद्नु र छेनु गर्दा–गर्दै स्थिति यतिसम्म निर्मम भैदियो कि लोग्नेको लाश उठाउन भेला भएका छिमेकीहरुलाई उसले भएर हेरेकी थिई ।

गाउँमा बन्चराहरु थिए । नदीको किनारामा एउटा ठूलै बाँसझाङ पनि थियो । बन्चरोले बाँस काट्न सकिन्थ्यो÷काटिन्थ्यो । सुत्री (सनपाटको मसिनो पोयो) बाट्न सकिन्थ्यो । गत साल गाउँमा सनपाट राम्रै खेती भएथ्यो÷बाटिन्थ्यो । सुन्ढीको मुट्ठा, फरुवा, कोदाला पनि ठीकठाक पारिएथे । तर कात्रोको विकराल अभाव खट्किएको थियो । मर्दालाई कात्रो कसैले सााँचेर राख्थेन । न उसको लोग्ने मरिहाल्ला भनेर कसैले सोचेको थियो । कात्रो सबैका आँखामा अत्यन्त आपत्तिजनक अभाव भएर टाँसिरहेथ्यो । टीठ, करुणा र असहजकता अभिभाव आँखाहरुले विचरा चमारहरु एकअर्काको ताक्दै थिए । एकातिर स्ववन्धुत्व, कर्तव्य र निष्ठा थियो । अर्कोतिर छिचोल्नै नसकिने अभाव । मुलतः कात्रो हुन दुईवटा कुरा हुनुपथ्र्यो– एक पैसा– उसले पैसाको मुख नदेखेको एउटा स–सानो युग बित्न लागेको थियो । पटवारी चौधरी साहेब भएका भए आडम्वर धान्न नै किन नहोस्, दयाभाव प्रस्तुत गर्ने थिए । पटवारी साहेब छोरो भेट्न राजधानीतिर लागेको पनि महिना बित्न लागेथ्यो । दोस्रो कुरा के थियो भने पैसा भए नै पनि कात्रो पाइहाल्न त्यति सजिलो थिएन । लगातार हिँड्दा तीन घण्टामा मात्र राजमार्गछेउको बजारमा पुगिन्थ्यो । अर्थात् कात्रो किन्न जाँदा र आउँदा एउटा दिन बित्न सक्थ्यो । अन्नतः कसैले कुरो उठाएथ्यो । सिरकको खोललाई कात्रो बनाउने तर सिरकमा खोलसमेत थिएन । सिरक हुनु र खोल हुनु फरक–फरक कुरा थिए । सिरक जोड्दैमा खोल जोड्ने सामथ्र्य रहँदैनथ्यो ।

सिरकमा खोल नभएको यथार्थले चमार समाज पुनः एकपल्ट स्तब्ध भएथ्यो । उनीहरु लाटा, निरुपाय र निरीह भएथे । ऊ भने रोइरहेकी थिई । ऊ सँग–सँगै काखमा छोरो पनि रोइरहेथ्यो । उनीहरुको रुवाइको धारिलो आवाजले आकाश च्यातिन–च्यातिन लागेको थियो ।

निरुपाय चमारहरुको बीचबाट कसैले जुक्ति निकाल्यो । सिरकलाई नै कात्राको रुपमा प्रयोग गर्ने जुक्ति । एक क्षणसम्म हुन्छ र हुँदैनको बहस भएथ्यो । कसैले समर्थन–विरोध गर्नेहरुसँग विकल्प थिएन । समर्थन गर्नेहरुको नै जीत भएथ्यो । अड्कोपड्को तेलको धुप । लोग्नेसँगै सिरकको पनि दाहसंस्कार भएको उसले रगत चुहिएलाजस्ता राता आँखाहरुले हेरिथी ।

ऊसँग लोग्नेको अन्तिम चिनो बाँकी रहेथ्यो । छोरो । बाबुको जस्तै आँखा र अनुहार भएको त्यो छोरो नै उसको सपना, जपना र विपना थियो । आशा, अपेक्षा र अनुराग थियो । ऊ बाँच्न सक्थी कसैको मुख हेरेर, त्यो छोरो थियो । ऊ हाँस्न सक्थी कसैलाई खेलाएर त्यो छोरो थियो । छोरो नै उसको जीवनको अन्तिम आधार थियो ।

ऊ छोरोलाई अँगालो हाल्थी र निदाउन खोज्थी । सारीको सप्को, पेटीकोटको फेर र आमाको छातीको तातोमा छोरो त निदाउँथ्यो । तर ऊ भने जाडोको निरन्तर आक्रमणले थङथिलो बन्दै जान्थी । लोग्ने र सिरकको सामुहिक दाहसंकारपछि उसले दाउनी गरेको पराल बटुल्न पुनः सुरु गरेकी थिई । परालको तातोमा आक्कल–झुक्कल निदाइहाले ऊ सपना देख्ने गर्थी र उसको सपना निरन्तर पुनरावृत्त भैरहथ्यो । निदायो कि त्यै सपना आँखाहरु टाँसिन आइहाल्ने उसले देख्ने गरेको सपना यस्तो थियो ।

सपनामा ऊ थरथर काँपिरहेकी हुन्थी । ग्रीष्ममा हुने प्रचण्ड गर्मीको उसलाई झिनो स्मृतिसम्म हुन्थेन । ऊ एउटा मैलो, पुरानो, खोल नभएको सिरकमा लुटपुटिँदै हुन्थी । सिरकको स्पर्शमा ऊ बिस्तारै तात्न थाल्थी । उसका ओठहरु मुस्कुराउँदै हुन्थे । ऊ आफूलाई भाग्यमानी ठान्दै हुन्थी र ईश्वरलाई आशीर्वाद दिँदै हुन्थी । एकाएक कुनै अज्ञात दिशाबाट केही काला हातहरु आउँथे । ती हातहरुले उसले ओडिराखेको सिरक जबरजस्ती खोस्थे र कुनै अज्ञात दिशातिर गायब हुन्थे । ऊ निरुपाय हुन्थी र रुन थाल्थी । त्यतिखेर पर क्षितिजमा उसको छोरो देखा पथ्र्यो । छोरो लामो–लामो पाइला चाल्दै, फूलजत्तिकै स्निग्ध हाँसाँ हाँस्दै र रमाउँदै ऊतिर आइरहेको हुन्थ्यो । उसले आफ्नो अँगालोभरि कम्मलहरु बोकेको हुन्थ्यो, न्याना मस्याइला मखमली कम्मलहरु । ऊ खुसीले पुनः नाच्न थाल्थी, ताली बजाउन र उफ्रिन थाल्थी । उफ्रिदा–उफ्रिदै खै केमा हो कुन्नि उसलाई ठेस लाग्थ्यो । ठेस लागेको पीडाले आहत भएर ऊ व्युँझने गर्थी ।

ब्युझेपश्चात एउटा नजानिँदो लोभले उसलाई संवरण गरिरहन्थ्यो । उसले सपनाका जस्ता न्याना, मस्याइला, मखमली कम्मलहरु जिन्दगीमा कहिल्यै देखेकी थिइन । जुन उसको छोराले क्षितिजको बाटो हिँड्दै लिएर आउँथ्यो । उसको मनमा छोरो सपनामा जत्तिकै सबल र सक्षम भएको हेर्ने हुटहुटी खुरुन्धार भएर उर्लिन्थ्यो । अत्यन्त व्यग्रताका साथ ऊ आफूमाथि नियन्त्रण राख्न सफल हुन्थी ।

यस पटक पनि कार्तिक लागेको थियो । सिरेटो भुइँकुइरो वा हिउँदे झरीको सम्भावना यथावत् छँदै थियो । तथापि उनको आँखाहरुमा जाडोको भय, आतंक र त्रासदी थिएन । उसको शरिरमा जाडो भालुको नङग्राझैँ कोपर्न आइरहेको थिएन । मुटुमा सिरेटो करौतिझैं रेटिदैं पनि थिएन । न त जाडो गोमन सर्पको फणाझैं चिसो र डरलाग्दो भएर प्राण डस्ने हिम्मत गरिरहेथ्यो । उसका ओठहरु नीला–काला थिएनन् । न त दाँत नै बेजोडले बजिरहेका थिए । ऊ तातेको थिई । उसको सर्वाङ्गमा गर्मी भइरहेको थियो । लाग्थ्यो ऊ भदौको टन्टलापुर घाम ओढेर सुतेकी छ । ऊ सपनामा विचरण गर्दै थिई ।

सपना भने प्रारम्भ र पुनरावृत्त भयो अन्त्य अलिक फरक । ऊ उसरी नै थरथर काँपिरहेकी थिई, जसरी पहिलेका सपनामा काँप्ने गर्थी । उसरी नै खोलबेगरको मैलो पुरानो सिरकमा लुटुपुटिँदै थिई । उसरी नै अज्ञात दिशाबाट काला हातहरु आए । उसरी नै काला हातहरुले सिरक खोसेर लिएर गए । उसरी नै उसको छोरो क्षितिजमा हिँड्दै गरेको देखापर्‍यो । उसले उसरी नै अँगालो भरी न्याना, मस्याइला मखमली, कम्मलहरु बोकेको थियो । ऊ खुसीले उफ्रदै, ताली बजाउँदै नाच्न के थालेकी थिई फेरि काला हातहरु देखा परे । ती हातहरुले उसका छोराका खुट्टाहरु पक्रेर तान्दै थिए । छोरा काला हातहरुबाट उम्केर ऊतिर आउन खोज्दै थियो । उसको छोरो र काला हातहरुबीच केही क्षण संघर्ष चलिरह्यो । ऊ आफ्ना हातहरु क्षितिजतिर फैलाएर छोरालाई तान्न खोज्दै थिई । अचानक छोराको अँगालोबाट कम्मलहरु ऊ भएतिर झरे । ऊ न्याना, मस्याइला, मखमली कम्मलहरुमा बरिदै थिई, खुसीले चिच्याउँदै थिर्र्ई र क्षितिजतिर हेदै थिई । हेर्दा–हेर्दै अनौठो भयो । काला हातहरुसँगको संघर्षमा थाकेर उसको छोरो क्षितिजमै पछारिएको थियो र काला हातहरु तान्दै उसलाई आकाशको अनन्ततातिर लगिरहेको थियो ।

यत्तिकैमा ऊ ब्युँझेकी थिई । तर उसको अँगालो खाली थियो । उसले यताउति खोजी । उसको छेउछाउमा उसको छोरो थिएन । ऊ त्यहाँ एक्ली थिई, नितान्त एक्ली । ऊ उठेर हापझाप गर्दै थिई तर छोरो थिएन, छँदै थिएन ।

‘छोरा, मेरो मुटु जत्तिकै प्यारो छोरा’ ऊ चिच्याएकी थिई । यो उसको गाउँ होइनथ्यो । यो चमार टोलको उसको घर होइनथ्यो । ऊ त त्रिपाल टाँगेर बजाइएको बाढीपीडितहरुको शिविरमा थिई । शिविर मध्यरात्रिको सन्नाटाभित्र सुनसान र चकमन्न लाग्थ्यो । पार–पर खोलामा पानी बगेको डरलाग्दो आवाज भने आइरहेको थियो ।

निस्तेज आकांक्षा र निरीह जिजीविषा लिएर पुनः त्रिपालभित्र पसी ऊ सुतेको ठाउँमा कम्मल लडिरहेको थियो । उसले सस्नेह कम्मललाई स्पर्श गरी । उसलाई लाग्यो त्यहाँ रेडक्रसले बाढीपीडितलाई बाँडेको कम्मल हैन उसको छोरो छ, जो भदौरे भेलमा चमार टोलको उसको घरसँग बगेर गएको थियो ।

मेरो छोरा ऊ पुनः कम्मललाई अँगालो कसेर निदाउन खोजी । तर यस पटक उसको प्रयत्न सफल भएन । उसलाई आफ्नो काखको कम्मल छोरो हैन छोरोको लास जस्तो लागेर आयो ।

उसको आँखाबाट भदौरे भेलको विनाशलीला बगिरहेथ्यो ।

ऊ अनुभूत गदै थिई ।

ऊ छोरोेको लास काखमा राखेर भेल आएको नदी किनारामा ठूलो छल्का पर्खेर बसेको छ ।

उसको काखमा राहतमा बाँडेको कम्मल यथावत् बसिरहेथ्यो ।

jackson ribon