मोहन ढकाल
विराटनगर, २३ असोज । प्रविधिको तीव्र विकासका कारण हुलाकमा व्यक्तिगत चिठीपत्र आउन छाडेका छन् । केही वर्ष अगाडिसम्म हुलाकबाट चिठीपत्र आदानप्रदान हुनेगरेको थियो । तर प्रविधिको तीव्र विकासले हुलाकबाट व्यक्तिगत चिठी आउन छाडेका हुन् । कुनै समय सूचनाको मुख्य माध्यमको रूपमा रहेको हुलाक पछिल्लो केही वर्षयता सुनसान छन् ।
मोरङमा एउटा हुलाक निर्देशनालय र १७ ओटा इलाका हुलाक कार्यालय छन् । अतिरिक्त हुलाक कार्यालय ५१ वटा छन् । अतिरिक्त हुलाक कार्यालय एजेन्टमार्फत सञ्चालनमा छन् ।
मोरङमा १ सय ५ जना हुलाकमा काम गर्ने कर्मचारी छन् । जसमा २९ जना हुलाकी (डाक बुझाउने) र ४३ जना हल्करा (चिठी बाँड्ने) छन् ।
व्यक्तिगत चिठी आदानप्रदान शून्य भएपनि कार्यालयगत र संगठनात्मक चिठी पत्र भने आदानप्रदान हुने गरेको हुलाक निर्देशनालय विराटनगरका प्रमुख सोमप्रसाद भट्टराईले बताए ।

कार्यालयगत र संगठनात्मक चिठीपत्रमा कानूनले हुलाकमा नै रजिष्टर गर्नुपर्ने व्यवस्था गरेका कारणले पनि केही मात्रामा आदानप्रदान हुनेगरेको उनको भनाइ छ । ‘व्यक्तिले व्यक्तिलाई नै पठाउने पत्र भने धेरै न्यून छ,’ उनले भने, ‘सूचना र प्रविधिको विकाससँगै यो संख्या घटेको छ ।’
सूचना र प्रविधिको विकाससँगै ७/८ वर्षदेखि व्यक्तिगत चिठीपत्र आदानप्रदानको संख्या घट्दै गएको र पछिल्लो समय यो संख्या शून्य अवस्थामा पुगेको उनले बताए ।
पहिला भीडभाड हुने हुलाक कार्यालय अहिले सुनसान हुन थालेका छन् । अहिले आर्थिक वर्षको सुरुवातमा सम्पत्ति विवरण बुझाउनेको भीड लागेपनि अन्य समय सुनसानप्राय हुनेगरेको प्रमुख भट्टराईले बताए ।
पहिला जस्तो दौडधुप छैन
रामप्रसाद रिजालले २६ वर्षदेखि हुलाकीको रूपमा काम गरिरहेका छन् । पहाडी जिल्ला खोटाङबाट जागिर सुरु गरेका उनी अहिले हुलाक निर्देशनालय विराटनगरमा कार्यरत छन् ।
विगतका वर्षहरूलाई सम्झिँदा उनी आफैँ अच्चम्ममा पर्ने गरेका छन् । पहिला चिठीपत्र वितरणमा भ्याइनभ्याइ हुने गरेको उनले सुनाए । त्यो बेला हुलाकीलाई सञ्चारको मुख्य माध्यमा रूपमा लिने गरिन्थ्यो ।
तर पछिल्लो समय प्रविधिको विकाससँगै हुलाकीको काम पनि कम हुँदै गएको उनले बताए । ‘त्यसबेला घाम-पानी केही नभनी खट्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘अहिले घरघरमा गएर चिठी वितरण गर्न छाडेको लामो समय भयो ।’
हुलाकमा काम थोरै
पार्सल डकुमेन्टहरू (व्यापारीक प्रयोजन) २० केजीसम्मको विदेशमा पठाउने गरिए पनि पछिल्लो समय कोरोनाको कारण रोकिएको प्रमुख भट्टराईले बताए ।
हुलाकमा बचत बैंक सञ्चालनमा रहेको उनले बताए । उक्त बैंकमा सबैले खाता खोल्न मिल्ने उनको भनाइ छ । खाता खोलेपछि ६ प्रतिशत व्याजदर उपलब्ध गराउने गरेको छ । साथै उक्त बैंकबाट कर्मचारीलाई ऋण उपलब्ध गराउने गरेको प्रमुख भट्टराईले बताए । यस्तै टिकट बिक्री हुनेगरेको छ ।
विभिन्न सरकारी कार्यालय, अदालत, बीमा कम्पनी साथै व्यक्तिगत रूपमा समेत टिकट बिक्री हुनेगरेको प्रमुख भट्टराईले बताए ।
आव २०७५/७६ मा हुलाक निर्देशनालय विराटनगरबाट ७३ लाखको टिकट बिक्री भएको छ । त्यस्तै गत आव २०७६/७७ मा ६४ लाखको टिकट बिक्री भएको छ । पछिल्लो समय कोरोना महामारीका कारण टिकट बिक्रीमा कमी आएको प्रमुख भट्टराईले बताए ।