विराटनगर, २३ असोज । हास्यव्यंग्य कवि लावण्य सापकोटाको निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट थलिएका कवि सापकोटाको बिहीबार राति निधन भएको हो ।
विराटनगर–११ निवासी सापकोटा विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय थिए ।
हास्यव्यंग्य विधामा कलम चलाउने सापकोटाका ‘हाईसञ्चो’ र ‘अलख निरञ्जन’ दुई वटा हास्यव्यंग्य कवितासंग्रह प्रकाशित छन् ।
भाषाशास्त्री महानन्द सापकोटाका सुपुत्रका रूपमा वि.सं. १९९७ वैशाख १ गते धरानमा जन्मिएका सापकोटा २०१९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी २०४९ सालमा वरिष्ठ वन अधिकृत पदबाट सेवा निवृत्त भएका थिए ।
समसामयिक विषयमा तीखो प्रवाह गर्न सिपालु सापकोटाले कविहरूलाई समेत व्यंग्य गर्न पछि नपर्ने प्राज्ञ विवश पोखरेल बताउँछन् ।
पत्रकारसमेत रहेका युवाकवि मीनकुमार नवोदितले सापकोटाको अवसानले विराटनगरको हास्यव्यंग्य क्षेत्र खाली भएको बताए ।