विराटनगर, २३ असोज । ब्राजिलियन विंगर नेयमारले फिफा विश्वकप छनौटअन्तर्गत बोलिभियासँगको खेल गुमाउने सम्भावना देखिएको छ ।
यसै साता प्रशिक्षणका दौरान चोट बोकेका स्टार नेयमारले शनिबार बिहान हुने सो खेल गुमाउने सम्भावना देखिएको हो ।
ब्राजिलले शनिबार नेपाली समयानुसार बिहान ६ः१५ बजे कोरिन्थअस एरिनामा बोलिभियासँग खेल्दैछ । ब्राजिलका प्रशिक्षक टिटेले यस खेलको तयारी नेयमारविना नै गरिरहेको बताइएको छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार ट्रेनिङ सेसनमा घाइते भएका थिए । यसैले उनले बिहीबार प्रशिक्षण गर्न सकेनन् ।
प्रशिक्षक टिटेले नेयमारको स्थानमा इभर्टनका स्टार रिबेरियोलाई तयारी अवस्थामा राखेको बताएको जनाएका छन् ।
ब्राजिलियन टोलीका डाक्टरले नेयमारको क्षमताका आधारमा उनलाई मैदान उतार्न सकिने जनाइसकेका छन् । ‘हामी उनको निर्णयको प्रतीक्षामा छौं । यदि, नेयमार भएनन् भने रिबेरियो तयार छन्,’ टिटेले भनेका छन् ।
ब्राजिलले डेनी अल्भेसको अनुपस्थितिमा रियल मड्रिडका मिडफिल्डर क्यासेमिरोको कप्तानीमा बोलिभियासँग खेल्न लागेको हो । अल्भेस चोटका कारण टोलीमा छैनन् ।