birat ribon

शीर्ष स्थानमा उक्लने दाउमा दिल्ली, राजस्थानको लक्ष्य हारको शृंखलामा पूर्णविराम (हेड टू हेड)

Neuro
शीर्ष स्थानमा उक्लने दाउमा दिल्ली, राजस्थानको लक्ष्य हारको शृंखलामा पूर्णविराम (हेड टू हेड)

विराटनगर, २३ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा सबैभन्दा उत्कृष्ट फर्ममा रहेको दिल्ली क्यापिटल्सले शारजाह क्रिकेट रंगशालामा आज राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ ।

Padelux insider
cura insider

आईपीएलको २३औं खेलअन्तर्गत यी दुई आज बेलुकी ७ः४५ बजे आमनेसामने हुँदैछन् । प्रतियोगितामा लगातार दुई जित दर्ता गर्दै दुवै टोलीले उत्कृष्ट सुरुआत गरेको भएपनि आ–आफ्नो तेस्रो खेलमा दुवै पराजित भएका थिए ।

तेस्रो खेलमा पहिलो हार व्यहोरेपछि राजस्थान सम्हालिन सकिरहेको छैन भने दिल्लीले फर्म फिर्ता ल्याइसकेको छ । पहिलो हारपछि दिल्लीले खेलेको दुवै खेलमा जितको नतिजा निकालेको छ भने राजस्थानले दुवै खेल गुमाएको छ ।

साविकको उपविजेता चेन्नईलाई १६ रनले जित्दै प्रतियोगितामा गतिलो सुरुआत गरेको राजस्थानले दोस्रो खेलमा पञ्जाबलाई चार विकेटले हराउँदै विजयी यात्रा लम्ब्याएको थियो । तर तेस्रो खेलमा कोलकतासँग ३७ रनले स्तब्ध बनेका राजस्थान त्यसपछिका खेलमा सफल हुन सकिरहेको छैन ।

आफ्नो चौथो खेलमा बैंग्लोरसँग आठ विकेटले पराजित भएको राजस्थान पाँचौ खेलमा भने मुम्बईसँग ५७ रनले हारेको थियो । आज दिल्लीविरुद्ध हुने खेलमा जित निकाल्दै राजस्थान लगातारको हारको शृंखलामा पूर्णविराम लगाउने दाउमा हुनेछ ।

तर यस सिजन उत्कृष्ट लयमा देखिएको दिल्ली राजस्थानका लागि सहज प्रतिद्वन्द्वी होइन । आफ्ना पाँचमध्ये चार खेलमा जित निकालेको दिल्ली आजको खेलमा पनि जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा रहन चाहन्छ । पञ्जाबलाई सुपर ओभरमा हराउँदै रोमाञ्चक सुरुआत गरेको दिल्ली तेस्रो खेलमा हैदराबादसँग १८ रनले पराजित हुनुबाहेक आफूले खेलेको अन्य तीन खेलमा सफल भएको छ ।

प्रतियोगितामा दोस्रो खेल चेन्नईविरुद्ध खेलेको दिल्लीले ४४ रनको जित निकालेको थियो । यस्तै, चौथो खेलमा कोलकत्तालाई १८ रनले स्तब्ध बनाएको दिल्लीले पाँचौ खेलमा बैंग्लोरलाई ५९ रनले पराजित गरेको थियो ।

जारी आईपीएलकै सर्वाधिक स्कोर (२२८ रन) बनाउँदै पाँच खेलबाट आठ अंक बटुलिसकेको दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ । जारी आईपीएलको अंकतालिकामा दिल्लीसँग समान अंक भए पनि मुम्बई नेट रन रेटको आधारमा पहिलो स्थानमा छ ।

तर शीर्ष स्थानको मुम्बईभन्दा दिल्लीले एक खेल कम खेलेको छ । आजको खेल जित्दै दिल्लीले दुई अंक बटुल्ने हो भने मुम्बईलाई पछि पार्दै दिल्ली शीर्ष स्थानमा उक्लनेछ ।

हेड–टु–हेड

आईपीएलमा यी दुईबीचको यो २१औं भेट हो । यसअघिका २० खेलमा दिल्लीविरुद्ध राजस्थान सफल भएको नतिजाले स्पष्ट पार्छ । २० मध्ये ११ खेल राजस्थानले आफ्नो पक्षमा पार्दा दिल्ली भने नौ पटक मात्र सफल भएको छ ।

२०१९ आईपीएलको दुवै भेटमा दिल्लीले राजस्थानलाई पराजित गरेको थियो । २०१९को पहिलो भेटमा ६ विकेटले दिल्लीसँग स्तब्ध बनेको राजस्थान दोस्रो भेटमा पनि पाँच विकेटले पराजित भएको थियो । २०१८ आईपीएलमा भने यी दुईले एक–एक खेल आफ्नो पक्षमा पारेका थिए । रोचक कुरा त के भने दुवैले आ–आफ्नो खेल डकवर्थ लुईसको माध्यमबाट जितेका थिए ।

प्रतिबन्ध लागेपछि दुई वर्ष आईपीएल खेल्न नपाएको राजस्थान र दिल्लीका पछिल्ला आठ खेलको नतिजा हेर्ने हो भने दिल्लीविरुद्ध राजस्थान बलियो स्थितिमा छ । २०१९, १८, १५ र १४ मा यी दुईबीच भएका आठ भेटमध्ये राजस्थानले पाँच खेल आफ्नो पक्षमा पारेको छ । तर राजस्थानविरुद्ध पछिल्ला संस्करणमा सफल भएको दिल्लीले आजको खेलमा कस्तो प्रदर्शन गर्ने हो ? यसका लागि हामीले आज हुने खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

राजस्थान र दिल्लीका आईपीएलका पछिल्ला आठ खेल

जारी आईपीएल र २०१९ आईपीएल गरी यी दुईले खेलेका पछिल्ला आठ खेलको नतिजा हेर्ने हो भने दिल्लीले आठमध्ये ६ खेलमा जित निकालेको छ । अघिल्लो संस्करणमा क्वालिफायरमा चेन्नईसँग पराजित हुँदै फाइनल पुग्नबाट रोकिएको दिल्लीले २०१९मा चौधमध्ये नौ खेल जित्दै उत्कृष्ट प्रदशर्न गरेको थियो ।

यता, दिल्लीको आजको प्रतिद्वन्द्वी राजस्थानको पछिल्ला आठ खेलको नतिजा मिश्रित छ । आठमध्ये तीन खेलमा जित निकालेको राजस्थान चार खेलमा पराजित भएको छ भने राजस्थानले खेलेको एक खेल नतिजाविहीन बन्न पुगेको थियो । २०२० आईपीएलमा लगातार तीन खेलमा पराजित भएको राजस्थान पछिल्लो पटक २०१९ आईपीएलको ५३औं खेलमा दिल्लीसँग नै पाँच विकेटले पराजित भएको थियो । त्यसैले पनि राजस्थानलाई आजको खेलमा त्यसको बदला लिँदै महत्वपूर्ण दुई अंक लिने सुवर्ण मौका छ ।

शारजाहमा यी दुईको प्रदर्शन

आज खेल हुने शारजाह क्रिकेट रंगशालामा यी दुईको प्रदर्शन समान छ । दुवैले यस रंगशालामा तीन खेल खेलेका छन् र समान दुई जित र एक हारको नतिजा आत्मसाथ गरिसकेका छन् । २०१४ मा दुई र जारी सिजनमा एक खेल यस रंगशालामा खेलिसकेको दिल्लीले बैंग्लोरसँग पराजय भोगेको छ भने मुम्बई र कोलकतालाई यसै रंगशालामा पराजित गरेको छ ।

यता राजस्थानले भने २०१४मा एक र जारी सिजन शारजाहमा दुई खेल खेलिसकेको छ । २०१४ मा पञ्जाबसँग पराजित भएको राजस्थानले यस संस्करणमा आफूले यस रंगशालामा खेलेको दुवै खेलमा जित दर्ता गरेको छ । चेन्नईलाई १६ रनले पराजित गरेको राजस्थानले यहिँ रंगशालामा पञ्जाबलाई चार विकेटले हराएको थियो ।

jackson ribon