birat ribon

पशुमा लागेको रोग नियन्त्रण हुँदा किसानमा खुशीयाली

Neuro
पशुमा लागेको रोग नियन्त्रण हुँदा किसानमा खुशीयाली

विराटनगर, २३ असोज । पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराएर पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि सप्तरीको कञ्चनरुपका पशुपालन गर्ने किसानमा खुशीयाली छाएको छ ।

Padelux insider
cura insider

पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले घर–घरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालन गर्ने किसान खुशी भएका हुन् । समस्या परेको बेलामा फोन गर्नासाथ सहजै प्राविधिकहरु आई समाधान गरीदिनाले किसानलाई ठूलो सहयोग तथा सुविधा पुगेको किसान रामदेव साहको भनाइ छ ।

पशुहरुमा रोग लागेर किसान प्रभावित भएका बेला नगरपालिकाले प्रदेश २ बाट विशेषज्ञ टोली ल्याइ सुक्ष्म तरिकाले रोगको अध्ययन अनुसन्धान गरी रोगलाई नियन्त्रण गरेकाले किसान औधी खुशी भएको खिलानाथ पोखरेलले बताए । कोरोना भाइरसले थलिएको अवस्थामा पशुहरुमा समेत ‘लम्पी स्किन डिजिज’ रोग देखिएपछि किसान चिन्तित बनेका थिए ।

किसानको मर्कालाई बुझी तत्कालै नमूना सङ्कलन गरी रोगको नियन्त्रण गर्ने काम गरिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताए । नगरपालिकाले भूमि व्यवस्था तथा कृषि पशुपन्क्षी मन्त्रालय प्रदेश २ जनकपुरधामबाट विशेषज्ञ टोली ल्याई नमूना सङ्कलन गरेको थियो ।

गत साउन र भदौ महिनामा रोगले सात पशुचौपायाको मृत्यु भएको थियो । पशु विकास अधिकृत दिवाकान्त चौधरीले दिएको जानकारीअनुसार रोगले प्रभावित बनेका दुई सय चारवटा पशुको उपचार गरी रोग नियन्त्रण गरिएको छ । पशु रोगले नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्म प्रभावित बनेको थियो । जसमा वडा नम्बर ५, ६, ८ र ९ बढी प्रभावित हुनपुगेको स्थानीय किसान बताउँछन् ।

भूमि व्यवस्था तथा कृषि पशुपन्क्षी विकास मन्त्रालय प्रदेश २ जनकपुरधामबाट डा सञ्जीव ठाकुर, डा रञ्जित अधिकारी र डा शिवनन्दन यादवको विशेषज्ञ टोलीले ६० वटा पशुबाट नमूना सङ्कलन गरी उपचार गरेपछि रोग नियन्त्रणमा आएको पशुपन्क्षी विकास शाखा कञ्चनरुपले जनाएको छ ।

पशुपक्षी विकास शाखाका अनुसार नगरपालिकाले रु एक लाखको औषधि खरिद गरी किसानलाई वितरण गरेको र कृत्रिम गर्भाधानसमेत निःशुल्क गरेको छ । पशुपन्क्षी विकास शाखाले आर्थिक वर्ष २०७६÷७७ मा १० हजार ८३ पशुमा प्राथमिक उपचार गरेको जानकारी दिएको छ ।

यसैगरी एक सय ६० पशुमा माइनर सर्जिकल, एक सय ३५ मा गाइनोकोलोजिकल, दुई हजार तीन सय ७५ गोबर परीक्षण, २२ हजार छ सय ७४ एचएसबिक्यू, आठ हजार पिपीआर र एक हजार पाँच सय किलो हिउँदे घाँसको बीउ वितरण गरिएको पशु विकास अधिकृत चौधरीले जानकारी दिए ।

पशुपन्क्षी विकास शाखाले गरेको कृत्रिम गर्भाधानबाट उन्नत जातको पशु उत्पादन हुन थालेको किसान चन्द्रनारायण खड्गाले बताए । यस्तै ३४७ गाई, ७५ भैँसी र ४९ बाख्राको कृत्रिम गर्भाधान गरेको शाखाले १४ वटा उन्नत जातको बोका वितरण गरेको जनाएको छ ।

शाखाले दुईपटक तीनदिने व्यावसायिक बाख्रापालन तालिम र एकपटक पोषण कार्यक्रम गरेको छ । कार्यक्रमसम्बन्धी स्थानीय सञ्चारमाध्यममा पहिले नै सूचना प्रवाह गर्ने गरिएको पशु विकास अधिकृत चौधरीले बताए । रासस

jackson ribon