birat ribon

पञ्जाब भर्सेज हैदराबाद : प्लेयर्स टू वाच

Neuro
पञ्जाब भर्सेज हैदराबाद : प्लेयर्स टू वाच

विराटनगर, २२ असोज । आईपीएल अंक तालिकाको पुछारको टोली किंग्स एलेभेन पञ्जाबले आज छैटौं स्थानको टोली सनराइजर्स हैदराबादविरुद्ध दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल्दैछ । खेल जित्नैपर्ने दबाबमा रहेको यी दुवै टोलीलाई आजको दुई अंक निकै महत्वपूर्ण रहनेछ ।

खराब प्रदर्शन गरिरहेको पञ्जाबले खासै फर्ममा नरहेको हैदराबादविरुद्ध आज कस्तो प्रदर्शन गर्ला ? के आफ्नो लगातारको हारमा हैदराबादविरुद्ध जित दर्ता गर्दै पञ्जाबले पूर्णविराम लगाउँला ? पञ्जाबको हारको शृखंलालाई लम्ब्याउँदै के हैदराबादले आजको खेल आफ्नो पक्षमा पार्ला ? यी सबै प्रश्नको जवाफ दिने आजको खेलका चार खेलाडीलाई हामीले ‘प्लेयर्स टू वाच’का रुपमा प्रस्तुत गरेका छौं :

cura insider

मनिष पाण्डे, ब्याट्सम्यान, सनराइजर्स हैदराबाद

आईपीएलमा शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी हुन्, मनिष पाण्डे । २००९ को आईपीएलमा बैंग्लारेका खेलाडी रहेका पाण्डेले डेक्कन चार्जर्सविरुद्ध एक सय १४ रनको अर्धशतकीय पारी खेलेका थिए ।

आईपीएलमा इतिहास बोकका पाण्डे आजको खेलका प्लेयर्स टू वाच हुन् । आक्रामक शैलीको ब्याटिङ गर्न रुचाउने उनी टप अर्डर ब्याट्सम्यान हुन् । आजको खेलमा पाण्डेले १० रन बनाउने हो भने आईपीएलमा उनले तीन हजार रन पूरा गर्नेछन् ।

पाँच खेलमा एक सय ४७ रन बनाइसकेका पाण्डेले बैंग्लोरसँगको पहिलो खेलमा नै ३४ रन बनाएका थिए भने कोलकतासँगको दोस्रो खेलमा ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । तर, पछिल्ला तीन खेलमा भने उनी मज्जाले चल्न सकिरहेका छैनन् । तेस्रो खेलमा तीन रनमा नै पेभेलियन फर्किएका उनले चेन्नईविरुद्धको चौथो खेलमा २९ र मुम्बईविरुद्धको पाँचौ खेलमा ३० रनको योगदान टोलीलाई दिएका छन् ।

टी नटराजन, बलर, सनराइजर्स हैदराबाद

मध्य गतिका बलर टी नटराजन हैदराबादका मुख्य हतियार हुन् । राशिद खानसँगको उनको तालमेलले हैदराबादलाई निकै सहयोग गरिरहेको छ । २०१७ मा पञ्जाबबाट आईपीएलमा डेब्यू गरेका यिनको यो दोस्रो सिजन हो ।

नटराजनले आफूले खेलेका सुरुआती चार खेलमा विकेट लिएपनि मुम्बईविरुद्धको पछिल्लो खेलमा भने विकेट लिन सकेनन् । पहिलो खेलमा कोहलीको विकेट लिएका उनले टोलीलाई जित भने दिलाउन सकेनन् । दोस्रो खेलमा पनि नितेश रानाको विकेट लिएका नटराजन सम्मेलित हैदराबाद कोलकतासँग पराजित रह्यो ।

तर तेस्रो खेलमा टोलीलाई पहिलो जित दिलाउन नटराजनको भूमिका महत्वपूर्ण रह्यो । स्टोइनिसलाई एलबीडब्ल्यूको धरापमा पारेका उनले चार ओभर बलिङ गर्दै २५ रन मात्र दिँदै दिल्लीविरुद्ध जित पक्का गरेका थिए । चौथो खेलमा सबैभन्दा महंगा सावित भए पनि नटराजनले लिएको जडेजा र रायडुको विकेटले हैदराबादलाई दोस्रो जित दिलायो ।

पाँचौ खेलमा चार ओभर पूरै बलिङ गरे पनि विकेट लिन नसकेका नटराजनको प्रदर्शन औसत रह्यो । आजको खेलमा उनको उत्कृष्ट प्रदर्शनको हामी अपेक्षा गर्न सक्छौं ।

के एल राहुल, कप्तान, किंग्स एलेभेन पञ्जाब

पञ्जाबका कप्तान के एल राहुल जारी आईपीएलका ‘ओरेन्ज क्याप’ होल्डर हुन् । पाँच खेलमा तीन सय दुई रन बनाएर आईपीएल खेलिरहेका राहुलले एक शतक र दुई अर्धशतक बनाइसकेका छन् ।

व्यक्तिगत रूपमा तारिफयोग्य प्रस्तुति राहुलले दिइरहेको भए पनि यिनको कप्तानीमा पञ्जाबले राम्रो नतिजा निकाल्न सकिरहेको छैन ।

पहिलो खेलमा जित नजिकै पुगेको राहुल नेतृत्वको पञ्जाब अन्तिम ओभरमा सम्हालिन नसक्दा सुपर ओभरमा दिल्लीसँग पराजित भयो । तर दोस्रो खेलमा १३२ रनको नटआउट कप्तानी पारी खेल्दै टोलीलाई उकासेका राहुलले बैंग्लोरविरुद्ध ९७ रनको जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो क्षमता देखाए ।

तेस्रो खेलमा ६९, चौथो खेलमा १७ र पाँचौ खेलमा ६३ रनको अर्धशतकीय पारी राहुलले खेले पनि टोलीको लगातारको हार टार्न सकिरहेका छैनन् । निकै दबाबका साथ आज मैदान उत्रँदै गर्दा राहुलको काँधमा जित निकाल्नै पर्ने जिम्मेवारी रहन्छ । दबाबका बीच उनले कस्तो प्रदर्शन गर्ने हुन् ? यसको जवाफ उनको आजको खेलको प्रदर्शनले बताउनेछ ।

शेलडन कोटरल, बलर, किंग्स एलेभेन पञ्जाब

जारी आईपीएलमा पञ्जाबका लागि पाँच खेलमा ६ विकेट लिइसकेका तीव्र गतिका बलर हुन् शेलडन कोटरल । पहिलो पटक आईपीएल खेलिरहेका कोटरल यो डेब्यू सिजन हो ।

टोलीको लागि उनको योगदान महत्वपूर्ण रहेपनि केही खेलमा उनले गरेको प्रदर्शन पञ्जाबका लागि भारी परेको छ । आफ्नो तेस्रो खेलमा राजस्थानविरुद्ध तीन ओभर बलिङ गरेका कोटरलले जोस बटलरको विकेट लिँदै सहयोग गरे पनि एकै ओभरमा पाँच छक्का दिएपछि खेलमा पञ्जाबले पराजय भोग्नु परेको थियो ।

खेलको १८औं ओभरमा राहुल टेवाटियाले कोटरलले ६ मध्ये पाँच बललाई बाउन्ड्री कटाएका थिए । तर अन्य खेलमा भने कोटरलको प्रदर्शन सन्तोषजनक नै छ । चेन्नईविरुद्धको खेलमा बाहेक उनले हरेक खेलमा विकेट लिएका छन् ।

दिल्लीविरुद्धको पहिलो खेलमा नै दुई विकेट लिएका उनले दोस्रो खेलमा पनि कप्तान कोहली र पाडीकलको विकेट लिएका थिए । तेस्रो खेलमा महंगा सावित भएपनि उनले एक विकेट लिएका थिए ।

मुम्बईविरुद्धको चौथो खेलमा किफायती बलिङ गर्दै क्विटन डी ककलाई पेभेलियन फर्किए पनि कोटरलले हारलाई भने टार्न सकेनन् । आजको खेलमा कोटरलले बैंग्लोरविरुद्धको जस्तै प्रदर्शनी गर्ने हो भने पञ्जाबलाई जित निकाल्न धेरै सहज हुने देखिन्छ ।

jackson ribon