birat ribon

चेन्नई भर्सेज कोलकता : प्लेयर्स टू वाच

Neuro
चेन्नई भर्सेज कोलकता : प्लेयर्स टू वाच

सेन वाट्सन र फाप डु प्लेसिस चम्किएपछि पञ्जाबविरुद्ध १० विकेटको शानदार जित दर्ता गराएको चेन्नई सोही खेल प्रदर्शन गर्ने अपेक्षासहित आज कोलकताविरुद्ध मैदान उत्रँदैछ । आईपीएलको २१औं खेलमा एक खेल बढी खेलेको चेन्नईविरुद्ध मैदान उत्रँदा कोलकताको कप्तान दिनेश कात्र्तिकको काँधमा जित निकाल्नै पर्ने जिम्मेवारी रहन्छ ।

आज हुने खेलमा दुवै टोलीले आफूलाई कसरी प्रस्तुत गर्छ र नतिजा आफ्नो पक्षमा पार्छ ? यी प्रश्नहरूको जवाफ खेलको नतिजाले बताउनेछ । निकै रोमाञ्जक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको यी दुई टोलीको चार खेलाडीलाई हामीले प्लेयर्स टू वाचका रुपमा प्रस्तुत गरेका छौंः

cura insider

फाप डू प्लेसिस, अलराउण्डर, चेन्नई सुपर किंग्स

चेन्नई आईपीएलमा अलराउण्डर फाप डू प्लेसिससँग निर्भर रहेको छ । पाँच खेलमा दुई सय ८२ रन बनाएर आईपीएल खेलिरहेका डु प्लेसिसले एक अर्धशतक बनाइसकेका छन् । टोलीलाई ब्याटिङ र फिल्डिङमार्फत योगदान दिइरहेको उनले हैदराबादविरुद्धको खेलमा बाहेक अन्य चारै खेलमा आफ्नो ब्याटिङको क्षमता देखाइसकेका छन् ।

चेन्नईको हालसम्मको दुई जितमा उनको प्रदर्शन तारिफयोग्य छ । पछिल्लो खेलमा पञ्जाबलाई दश विकेटले हराउने क्रममा डू प्लेसिस र सेन वाट्सनको प्रदर्शन गतिलो रह्यो । पाँच खेलमा चार क्याच गर्दै टोलीलाई महत्वपूर्ण योगदान दिएका डू प्लेसिस आजको खेलको प्लेयर्स टू वाच हुन् ।

साम कुरान, बलर, चेन्नई सुपर किंग्स

जारी आईपीलएको पाँच खेलमा पाँच विकेटसहित ५१ रन बनाइसकेका साम कुरान बायाँहाते बलर हुन् । आईपीएल यात्रा मुम्बईका क्विन्टन डी ककको विकेट लिँदै सुरु गरेका कुरानले टेवाटीया, पराग, स्मिथ र अय्यरजस्ता ब्याट्सम्यानको विकेट लिइसकेका छन् ।

राजस्थानविरुद्ध तीन विकेट लिएपनि कुरानले टोलीको हार भने टार्न सकेनन् । हैदराबादविरुद्धको चौथो खेलमा निकै महंगा सावित भएका कुरानले तीन ओभरमा ३७ रन दिए पनि विकेट लिन असफल रहे । आफ्नो पाचौं खेलमा पनि विकेटविहीन बनेका कुरानले तीन ओभरमा ३१ रन दिएपनि ओपनिङमा आएका वाट्सन र फापले दमदार प्रस्तुत गरेपछि चेन्नईले खेल आफ्नो पक्षमा पारेको थियो । कुरान आफ्नो फर्ममा आजको खेलमा प्रस्तुत हुने हो भने चेन्नईलाई जित निकाल्न सहज हुनेछ ।

शुभ्मन गिल, ब्याट्सम्यान, कोलकता नाइट राइडर्स

मुम्बईविरुद्धको आफ्नो पहिलो खेलमा सात रनमात्रै बनाएका शुभ्मन गिल दाँयाहाते ब्याट्सम्यान हुन् । कोलकताबाट जारी सिजन चार खेल खेलिसकेका गिलले एक सय ५२ रन बनाइसकेका छन् । हैदराबादविरुद्ध सात विकेटको जित दर्ता गराउन गिलको अर्धशतकीय ७० रन महत्वपूर्ण रह्यो ।

राजस्थानसँगको तेस्रो खेलमा ४७ रन बनाउँदै जित दिलाउन सफल बनेका गिलले ३४ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ४७ रनको पारी खेलेका थिए । यस्तै, चौथो खेलमा २८ रनको योगदान दिएका गिल आज हुने खेलमा लयमा फर्किने हो भने कोलकतालाई महत्वपूर्ण दुई अंक जोड्न खासै समस्या नपर्ने देखिन्छ ।

वरुण चक्रवर्ती, बलर, कोलकता नाइट राइडर्स

कोलकताका लागि बलिङ हतियार हुन् वरुण चक्रवर्ती । अघिल्लो संस्करण ८.४ करोड भारुमा पञ्जाबमा अनुबन्धित हुँदै आईपीएलमा डेब्यू गरेका उनले एक खेल मात्रै खेलेका थिए । यस संस्करणको आईपीएलमा पनि दोस्रो खेलबाट मात्रै कोलकताबाट खेल्न थालेका उनले तीन खेलमा चार विकेट लिइसकेका छन् । लेग–बेक्र गुगलीका लागि माहिर चक्रवर्तीले पहिलो खेलमा नै हैदराबादका कप्तान वार्नरको विकेट लिएका थिए ।

यस्तै दोस्रो खेलमा राजस्थानका टेवाटिया र आर्चरका विकेट लिँदै कोलकताको ३७ रनको जित पक्का गरेका उनले तेस्रो खेलमा धवनको विकेट लिए पनि हारबाट भने जोगाउन सकेनन् । दिल्लीसँग पराजित भएको कोलकता आफ्नो पाँचौ खेलमा चेन्नईविरुद्ध जित दर्ता गराउन चक्रवर्तीको गतिलो प्रदर्शनको अपेक्षामा रहनेछ । र चक्रवर्ती त्यसका लागि तयार छन् ।

jackson ribon