birat ribon

आईपीएल : तेस्रो जितको खोजीमा चेन्नई र कोलकता (हेड टू हेडसहित)

Neuro
आईपीएल : तेस्रो जितको खोजीमा चेन्नई र कोलकता (हेड टू हेडसहित)

विराटनगर, २१ असोज । यूएईमा जारी तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज चेन्नई सुपर किंग्स र कोलकता नाइट राइडर्स आमनेसामने हुँदैछन् । शेख जायद रंगशालामा बेलुका ७ः४५ बजे हुने खेल जारी आईपीएलको २१औं खेल हो ।

जारी प्रतियोगितामा निकै खराब प्रदर्शन गरिरहेको चेन्नईले पछिल्लो खेलबाट भने फर्ममा फर्किएको संकेत गरिसकेको छ । प्रतियोगितामा पाँच खेल खेलिसकेको चेन्नईले तीन खेलमा हार भोगेका छ भने पहिलो र पाँचौ खेलमा मात्रै जित निकालेको छ ।

cura insider

जारी प्रतियोगिताको पहिलो खेलमा नै अघिल्लो संस्करणको च्याम्पियन मुम्बईलाई पाँच विकेटले हराउदै विजयी सुरुआत गरेको चेन्नईको विजयी यात्रा लामो हुन सकेन । दोस्रो खेलमा नै राजस्थानसँग १६ रनले पराजित भएको चेन्नईले त्यसपछिका लगातार दुई खेलमा पराजय भोगेको थियो ।

दोस्रो खेलमा राजस्थानसँग १६ रनले पराजित भएको चेन्नई तेस्रो खेलमा दिल्लीसँग ४४ रनले र चौथो खेलमा हैदराबादसँग सात रनले हारेको थियो । तर आफ्नो पाँचौ खेलमा पञ्जाबविरुद्ध १० विकेटको शानदार जित दर्ता गर्दै ढिलै भए पनि प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको चेन्नई अघिल्लो संस्करणको उप–विजेता हो ।

यता प्रतियोगितामा लय फर्किन नसकिरहेको कोलकताको प्रदर्शन पनि गतिलो छैन । चार खेलमा दुई जित निकालेको कोलकताको प्रदर्शनमा एकरुपता आइरहेको छैन । मुम्बईसँगको पहिलो खेलमा ४९ रनको पराजय व्यहोरेको कोलकताले दोस्रो खेलमा भने हैदराबादलाई सात विकेटले हराएको थियो ।

जितको शृंखला लम्ब्याउँदै तेस्रो खेलमा पनि राजस्थानलाई ३७ रनले पराजित गरेको कोलकता आफ्नो चौथो खेलमा भने दिल्लीसँग १८ रनले स्तब्ध बनेको थियो ।

आज हुने खेल जित्दै महत्वपूर्ण दुई अंक बटुलेर प्रतियोगितामा आफ्नो स्थान सुधार गर्न यी दुवै टोली कडा रूपमा प्रस्तुत हुने निश्चित छ । तर यी दुईमध्ये को सफल हुने हो त्यसको जवाफ भने खेलको नतिजाले बताउनेछ ।

हेड–टु–हेड

आईपीएलमा हालसम्म २१ पटक आमनेसामने भइसकेका यी दुई टोलीमध्ये चेन्नईले १३ पटक खेल आफ्नो पक्षमा पारेको छ । एक खेल नतिजाविहीन बन्नुबाहेक कोलकताले चेन्नईलाई सात पटक मात्रै पराजित गरेको छ । कोलकताविरुद्ध भारी देखिएको चेन्नईले यी दुईबीचका पछिल्ला पाँच खेलमा कोलकतालाई चार पटक हराएको छ ।

२०१९ आईपीएलको दुवै भेटमा चेन्नईसँग पराजित बनेको कोलकताले पछिल्लो पटक २०१८ आईपीएलको पहिलो भेटमा चेन्नईलाई ६ विकेटले पराजित गर्नुबाहेक हालसम्म सफल हुन सकिरहेको छैन ।

आजको खेलमा कोलकतालाई चेन्नईविरुद्ध जित दर्ता गर्दै हारको बदला लिने सुवर्ण मौका छ । तर उसलाई यो अवसर फलामको चिउरा चपाउनुसरह हुनेछ । जारी आईपीएलको पछिल्लो खेलमा पञ्जाबलाई १० विकेटले हराउन सफल बनेको चेन्नई कोलकताविरुद्धको आफ्नो विजयी यात्रा लम्ब्याउने दाउमा हुनेछ ।

आईपीएलमा चेन्नई र कोलकताको पछिल्ला सात खेल

कोलकताको पछिल्ला सात खेलको नतिजा हेर्ने हो भने उसले पाँच जित र दुई हारसहितको नतिजा आत्मसाथ गरेको छ । आईपीएल २०२० को चारमध्ये दुईमा जित र दुईमा हार व्यहोरेको कोलकताले २०१९ को पछिल्लो तीन खेलमा एक हार र दुई जित निकालेको थियो ।

यता, चेन्नईको भने पछिल्ला सात खेलको नतिजा राम्रो छैन । सातमध्ये तीन खेलमा मात्रै जित निकाल्न सफल चेन्नई २०१९ आईपीएलको फाइनलमा मुम्बईसँग पराजित भएको थियो । त्यसयता खराब प्रदर्शनको शिकार बनिरहेको चेन्नईले सुधारिएको प्रदर्शन गरे पनि यो लामो समयसम्म नरहने हो कि भन्ने शंका उब्जिन थालेको छ । दुवै टोलीका लागि जित अनिवार्य भएकाले यी दुईबीचको भिडन्त निकै रोमाञ्चक हुनेछ ।

शेख जायदमा यी दुईको प्रदर्शन

शेख जायद रंगशालामा यी दुवै टोलीले हालसम्म समान दुई जित दर्ता गर्न सफल भएका छन् । चेन्नईले यस रंगशालामा हालसम्म तीन खेल खेल्दा दुईमा जित र एकमा हार भोगेको छ ।

२०२० आईपीएल यात्रा मुम्बईलाई पाँच विकेटले हराउँदै चेन्नईले यसै रंगशालाबाट सुरु गरेको थियो । शेख जायद रंगशालामा २०१४ आईपीएलको दुई खेल खेलेको चेन्नईले एकमा जित र एकमा हार भोगेको थियो ।

यता, कोलकताको भने यस रंगशालामा प्रदर्शन सन्तोषजनक छैन । शेख जायदमा पाँच खेल खेलिसकेको कोलकताले दुई खेलमा मात्रै जित निकाल्न सफल भएको छ । २०२० आईपीएको दुई खेल यसै रंगशालामा खेलेको कोलकताले एकमा जित र एकमा हार भोगको छ ।

यस्तै, २०१४ मा कोलकताको शेख जायदमा प्रदर्शन हेर्ने हो भने उसले तीनमध्ये एक खेलमा मात्रै जित आत्मसाथ गरेको थियो ।

jackson ribon