birat ribon

मुम्बई भर्सेज राजस्थान : प्लेयर्स टू वाच

Neuro
मुम्बई भर्सेज राजस्थान : प्लेयर्स टू वाच

विराटनगर, २० असोज । इन्डियन प्रियिमर लिग (आईपीएल)को २०औं खेल आज बेलुकी ७ः४५ बजे शेख जायद रंगशालामा हुँदैछ । जारी आईपीएलमा तीन जित र दुई हार निकालेको मुम्बई इन्डियन्सले दुई जित र दुई हारको नतिजा निकालेको राजस्थान रोयल्सको सामना गर्नेछ ।

महत्वपूर्ण दुई अंक जोड्दै अंक तालिकमा सुधार गर्न यी दुवै टोली आज जितको खोजीमा हुनेछन् । शेख जायदमा निकै सफल रहेको राजस्थानको मुम्बईविरुद्धको नतिजा पनि उत्कृष्ट छ । पछिल्ला पाँच भेटमा चार जित दर्ता गराएकोले पनि राजस्थान आज उत्साहित हुनेछ तर जारी प्रतियोगितामा फर्ममा फर्किसकेको मुम्बई राजस्थानलाई सहज जित दिने लक्ष्यमा हुने छैन ।

cura insider

निकै रोमाञ्चक हुने यी दुईबीचका चार खेलाडीलाई हामीले आजको खेलको ‘प्लेयर्स टू वाच’ का रूपमा प्रस्तुत गरेका छौंः

इशान किशन, विकेटकिपर ब्याट्सम्यान, मुम्बई इन्डियन्स

प्रतियोगिताका सुरुवाती दुई खेल खेल्न नपाएका इशान किशन तेस्रो खेलबाट भने नियमित खेलिरहेका छन् । सौरभ तिवारी घाइते भएपछि आईपीएलमा ब्रेक पाएका किशनले पहिलो खेलमा नै आफ्नो ब्याटिङको क्षमता देखाई सकेका छन् । बैंग्लोरविरुद्ध शतक बनाउन एक रनले चुकेका किशनले ५८ बलमा नौ छक्का र दुई चौकाको मद्दतमा ९९ रन बनाएका थिए ।

तेस्रो खेलमा २८ रनको योगदान मुम्बईलाई दिएका उनले चौथो खेलमा भने हैदराबादविरुद्ध ३१ रन बनाएका थिए । २०१६ मा मुम्बईबाट आईपीएलमा डेब्यू गरेका यी बाँयाहाते विकेटकिपर ब्याट्सम्यानले ४० खेल खेल्दै आठ सय ५३ रन बनाइसकेका छन् । बैंग्लोरविरुद्धको जस्तै प्रदर्शन उनले आजको खेलमा गर्ने हो भने मुम्बईको जित सहज हुने देखिन्छ ।

ट्रेन्ट बोल्ट, बलर, मुम्बई इन्डियन्स

मुम्बईका तीव्र गतिका बलर हुन् ट्रेन्ट बोल्ट । जारी आईपीएलको पाँच खेलमा आठ विकेट लिइसकेका बोल्ट निकै अनुभवी छन् । यसै सिजन दिल्लीबाट मुम्बई ट्रेन्ट डेड भएका बोल्टको आफ्नो स्पिडको जादू देखाइरहेका छन् । आफूले खेलेको हरेका खेलमा विकेट लिएर टोलीलाई योगदान दिइरहेका बोल्टले पहिलो खेलमा सेन वाटसनको विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।

तर दोस्रो खेलमा कोलकताका सुभ्मन गिल र निखिल नायकको विकेट लिएका बोल्टको मुम्बईको पहिलो जितमा महत्वपूर्ण योगदान रह्यो । तेस्रो खेलमा पनि बोल्टले टोलीलाई दुई विकेटको योगदान दिएपनि बैंग्लोरसँगको हारबाट जोगाउन सकेनन् । त्यसपछिका दुई खेलमा तीन विकेट लिइसकेका बोल्टले मुम्बईलाई लगातार दुई जित दिलाउन पञ्जाबका विशोय र हैदराबादका जोनी बेयरस्टो र केन विलियमसनको विकेट लिएका छन् । आजको खेलमा पनि उनकै यस्तै प्रदर्शनको अपेक्षा राख्न सकिन्छ ।

स्टिभ स्मिथ, कप्तान, अलराउण्डर, राजस्थान रोयल्स

राजस्थानका कप्तान स्टिभ स्मिथ चार खेलमा एक सय २७ रन बनाउदै आईपीएल खेलिरहेका छन् । सुरुआती दुई खेलमा निकै आक्रामक रूपमा प्रस्तुत बनेका स्मिथ पछिल्ला दुई खेलमा राजस्थानले पराजय भोग्दा चल्न सकिरहेका छैनन् । पहिलो खेलमा चेन्नईविरुद्ध र दोस्रो खेलमा पञ्जाबविरुद्ध अर्धशतकीय पारी खेलेका उनले कोलकता र बैंग्लोरविरुद्ध आठ रन मात्रै बनाएका छन् ।

राजस्थानलाई सही तरिकाले सम्हाल्दै आईपीएल यात्रा सुरु गराएका स्मिथ आजको खेलबाट लयमा फर्कन चाहन्छन् । लगातार दुई खेलमा भोगेका हारलाई पूर्णविराम लगाउँदै मुम्बईविरुद्धको खेलमा जित निकाल्ने स्मिथको लक्ष्य रहनेछ ।

आजको खेलमा पनि स्मिथले चेन्नई र पञ्जाबविरुद्धको जस्तै व्यक्तिगत प्रदर्शन र कप्तानी गर्ने हो भने राजस्थानलाई जितबाट मुम्बईले रोक्न सक्दैन ।

राहुल टेवाटिया, बलर राजस्थान रोयल्स

राजस्थानका राहुल टेवाटिया खासमा लेग स्पिनर हुन् तर जारी आईपीएलमा उनले बनाएको रन हेर्ने हो भने कुनै आक्रमक ब्याट्म्यानको भन्दा कम छैन । चार खेलमा एक सय एक रन बनाइसकेका टेवाटियाले चार विकेट लिइसकेका छन् । पञ्जाबविरुद्धको खेलको १८औं ओभरमा सेल्डन कोट्रेलको ६ बलमा पाँच छक्का प्रहार गरेपछि टेवाटियाले आईपीएलमा चर्चा सुरु भएको थियो ।

पञ्जाबले प्रस्तुत गरेको दुई सय २३ रन पछ्याउने क्रममा टेवाटियाले ३१ बलमा सात छक्को मद्दतमा बनाएको ५३ रन विशेष रह्यो । आफ्नो पहिलो खेलमा चेन्नईविरुद्ध १० रन मात्र बनाएको टेवाटियाले तेस्रो खेलमा १४ र चौथो खेलमा २४ बनाउँदै राजस्थानलाई योगदान दिइसकेका छन् । बलिङ र ब्याटिङमा उस्तै प्रदर्शन गर्न सक्ने टेवाटिया आजको खेलका प्लेयर्स टू वाच हुन् ।

jackson ribon