birat ribon

‘नेयमार सम्मानको लायक छैनन्’

Neuro
‘नेयमार सम्मानको लायक छैनन्’

विराटनगर, २० असोज । स्पेनिस डिफेन्डर अल्भारो गोन्जालेजले ब्राजिलियन फरवार्ड नेयमार सम्मान गर्न लायक नभएको बताएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा मार्सेलीका डिफेन्डर गोन्जालेजले नेयमारसँगको विवाद कोट्याउँदै यस्तो बताएका हुन् ।

केही सयमअघि पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार र गोन्जालेजबीच लिग वानको खेलमा द्वन्द्व भएको थियो । मार्सेली र पीएसजीबीचको खेलमा नेयमारसहित पीएसजीका तीन तथा मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

cura insider

१३ सेप्टेम्बरमा पीएसजीको मैदानमा भएको सो खेलमा मार्सेलीले १–० गोलको जित निकालेको थियो । खेलको अन्तिम समयमा दुई पक्षका खेलाडीबीच झडप भएको थियो । जसमा पीएसजीका नेयमार, लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई मैदानबाहिर पठाइएको थियो ।

खेलको अन्त्यमा नेयमारलाई रेफ्रीले भीएआरको सहायतामा रातो कार्ड दिएका थिए । नेयमारले गोन्जालेजको टाउकोमा हिर्काएको पाइएपछि रेफ्रीले उनलाई मैदानबाहिर पठाएका थिए । र, नेयमारलाई दुई खेलमा प्रतिबन्ध पनि लागेको थियो ।

नेयमारले आफूमाथि जातीय टिप्पणी गरिएका कारण हात उठाएको जनाएका थिए भने गोन्जालेजले त्यस्तो केही नभएको उल्लेख गरेका छन् । ‘सो खेलमा नेयमारले मलाई तिमीले जितेर जति कमाउँछौ म प्रत्येक दिन त्यति कमाउँछु भनेका थिए । र, यो सत्य पनि हो । मैले पनि उनलाई आफू आफ्नो तलबबाट खुशी भएको सुनाएको थिएँ’, उनले भने ।

‘मैले उनीमाथि जातीयवादी कुरा गरेको छैन । मैले फुटबल करिअरमै त्यस्तो गरेको छैन । साँच्चै भन्नुपर्दा नेयमार सम्मानको लायक छैनन्,’ उनले थपे ।

jackson ribon