birat ribon

एस्टोन भिल्लासँग लिभरपुलको लज्जास्पद हार

Neuro
एस्टोन भिल्लासँग लिभरपुलको लज्जास्पद हार

विराटनगर, १९ असोज । इंग्लिस प्रिमियर लिगमा साविकको विजेता लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले एस्टोन भिल्लासँग ७–२ गोलान्तरको हार ब्यहोरेको हो ।

एस्टोन भिल्लाको मैदानमा घरेलु टोलीलाई जिताउन ओली वाटकिन्सले ह्याट्रिक गरे भने ज्याक ग्रेलिसले दुई गोल गरे । यस्तै जोन एमसीगिन र रोज बार्क्लीले समान एक–एक गोल गरे ।
लिभरपुलका मोहम्मद सालाहले दुई गोल फर्काए ।

cura insider

वाटकिन्सले खेलको चौथो मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । २२औं मिनेटमा उनले दोस्रो गोल गर्दै एस्टोन भिल्लाको अग्रता दोब्बर बनाए ।

३३औं मिनेटमा सालाहले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ३५औं मिनेटमा एमसीगिने गोल गर्दै घरेलु टोलीको अग्रता अझ फराकिलो बनाए ।

३९औं मिनेटमा वाटकिन्सले ह्याट्रिक पूरा गर्दै टोलीलाई पहिलो हाफभरि ४–१ गोलको अग्रता दिलाए ।

५५औं मिनेटमा यसै समर ट्रान्सफरमा चेल्सीबाट एस्टोन भिल्ला आएका बार्क्लीले गोल गर्दै एस्टोनको अग्रता फराकिलो बनाए । ६०औं मिनेटमा सालाहले दोस्रो गोल गर्दै लिभरपुल ५–२ को अवस्थामा फर्कियो ।

६६औं मिनेट र ७५औं मिनेटमा ग्रेलिसले गोल गरेपछि एस्टोन भिल्लाले ७–२ गोलको जित निकालेको हो ।

जितसँगै एस्टोनले लगातार तीन जित निकाल्दै ९ अंक जोडेको छ । ऊ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएको लिभरपुल पाँचौं स्थानमा झरेको छ ।

jackson ribon