birat ribon

युनाइटेडको पोस्टमा टोटनह्यामको आधा दर्जन गोल

Neuro
युनाइटेडको पोस्टमा टोटनह्यामको आधा दर्जन गोल

विराटनगर, १८ असोज । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटनह्यामले युनाइटेडमाथि ६–१ गोल अन्तरको जित निकालेको हो ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा टोटनह्यामलाई जिताउन कप्तान ह्यारी केन र सन हिउङ–मिनले समान दुई–दुई गोल गर्दा टांगुइ डोम्बेले र सर्जी अरिअरले समान एक–एक गोल गरे । घरेलु टोलीका ब्रुनो फर्नान्डेसले एक गोल गरे ।

cura insider

खेलमा युनाइटेडले सुरुआती अग्रता बनाएको थियो । दोस्रो मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

तर, त्यसको दुई मिनेट पनि नबित्दै टोटनह्याम बराबरीमा फर्कियो । चौथो मिनेटमा डोम्बेलेले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए ।

सातौं मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । खेलको २८औं मिनेटमा एन्थोनी मार्सियलले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो ।

खेलको ३०औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई ३–१ को अग्रता बनाए । ३७औं मिनेटमा सनले दोस्रो गोल गर्दै पहिलाे हाफभरि टोटनह्यामको अग्रता ४–१ को बनाए ।

५१औं मिनेटमा अरिअरले गोल गरेपछि टोटनह्यामले ५–१ गोलको अग्रता बनायो । ७९औं मिनेटमा पेनाल्टीमा केनले गोल गरेपछि टोटनह्यामले ६–१ गोलको जित निकालेको हो ।

यससँगै टोटनह्यामले दोस्रो जित निकालेको छ । उसले चार खेलबाट ७ अंक जोड्दै पाँचौं स्थान बनाएको छ ।

युनाइटेड ३ अंकसहित तालिकाको १६औं स्थानमा छ ।

jackson ribon