birat ribon

दोस्रो जितको खोजीमा चेन्नई र पञ्जाब

Neuro
दोस्रो जितको खोजीमा चेन्नई र पञ्जाब

विराटनगर, १८ असोज । इन्डियन प्रियिमर लिग (आईपीएल)मा दोस्रो जितको खोजीमा रहेका चेन्नई सुपर किंग्स र किंग्स एलेभेन पञ्जाब आज बेलुकी ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमनेसामने हुँदैछन् । आईपीएलमा आ–आफ्नो चार खेल खेलिसकेका यी दुई अंकतालिकाको पुछारमा छन् । एक खेलमा मात्रै जित निकालेको चेन्नई अंकतालिकाको पुछारमा छ भने पञ्जाब सातौ स्थानमा छ ।

साविकको उपविजेता चेन्नईले पहिलो खेलमा अघिल्लो संस्करणको च्याम्पियन मुम्बइलाई पाँच विकेटले हराउँदै विजयी यात्रा सुरु गरे पनि त्यसपछि भने सफल हुन सकिरहेको छैन । दोस्रो खेलमा राजस्थानसँग १६ रनले पराजित भएको चेन्नई तेस्रो खेलमा दिल्लीसँग ४४ रनले पराजित भएको थियो भने चौथो खेलमा हैदराबादसँग सात रनले स्तब्ध भएको थियो ।

cura insider

यता, पञ्जाबले भने आफूले खेलेको दोस्रो खेलमा जित निकाल्नुबाहेक अन्य खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । दिल्लीसँग आफूले खेलेको पहिलो खेलमा निकै आक्रामक तरिकाले प्रस्तुत भएपनि मध्यक्रममा सम्हालिन नसक्दा पञ्जाब सुपर ओभरमा पराजित हुँदै दिल्लीलाई अंक सुम्पिन बाध्य भएको थियो । तेस्रो खेलमा दुई सय २३ रनको उच्च योगफल बनाउन सफल भएपनि बलिङमा चम्कन नसक्दा राजस्थानसँग पञ्जाब चार विकेटले पराजित भएको थियो । आफ्नो चौथो खेलमा मुम्बईसँग ४८ रनले पराजित भएको पञ्जाब जसरी भएपनि आफ्नो फर्म फर्काउन प्रयासरत रहनेछ ।

तालिकाको पुछारमा रहेका यी दुईबीचको खेल निकै रोमाञ्चक हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । खेल जित्दै प्रतियोगिताको अंकतालिकामा आफ्नो स्थान कसले सुधार गर्ने हो त्यसको लागि हामीले खेलको नजिता कुर्नुको विकल्प छैन ।

हेड–टु–हेड

हालसम्म २१ पटक आमनेसामने भइसकेका यी दुई टोलीको आईपीएलमा यो २२औं भेट हो । हेड–टु–हेडमा अघि रहेको चेन्नईले पञ्जाबविरुद्ध १२ पटक जितको नतिजा निकालेको छ भने पञ्जाब नौ पटक मात्र सफल भएको छ । आज पञ्जाबसँग हेड–टु–हेडमा आफूलाई सुधार्ने मौका छ भने चेन्नईसँग दूरी बढाउने सुवर्ण अवसर छ ।

यी दुई टोलीबीचका पछिल्ला पाँच खेलको नजिता हेर्ने हो भने पञ्जाबविरुद्धको खेलमा चेन्नई अघि छ । पछिल्ला पाँच खेलमा तीनपटक नतिजा चेन्नईलाई सुम्पिएको पञ्जाबले दुई खेलमा मात्र जित निकालेको छ ।

आईपीएलमा यी दुईका पछिल्ला सात खेल

आईपीएलका पछिल्ला सात खेलमा यी दुईको नतिजा समान छ । पछिल्ला सात खेलमध्ये पाँच खेलमा हार भोगेको यी दुवै टोलीले दुई खेलमा मात्र जित निकालेका छन् ।

२०२० आईपीएलको चार खेलबाहेक पछिल्लो पटक चेन्नई २०१९ आईपीएलको पहिलो क्वालिफायरमा मुम्बईसँग चार विकेटले पराजित भएको थियो । सोही प्रतियोगिताको दोस्रो क्वालिफायरमा दिल्लीलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएपनि मुम्बईसँग एक रनको नमिठो हार भोगेको चेन्नईले २०२० मा उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन ।

यता २०२० आईपीएलको चार खेलबाहेक पञ्जाबले पछिल्लो पटक चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो भने कोलकत्तासँग सात विकेट र हैदराबादसँग ४४ रनले पराजित भएको थियो ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा यीदुईको प्रदर्शन

दुबई रंगशालामा पञ्जाब र चेन्नईको प्रदर्शन सन्तोषजनक छैन । यस रंगशालामा आईपीएलका चार खेलेको चेन्नईको नतिजा मिश्रित छ । २०१४ आईपीएलमा दुई र जारी आईपीएलमा दुई गरी कूल चार खेल खेलेको चेन्नईले यस संस्करणमा दुबई रंगशालामा आफूले खेलेको दुवै खेल गुमाएको छ । तेस्रो खेलमा दिल्लीसँग ४४ रनले पराजित भएको चेन्नई दुबई रंगशालामा नै खेलिएको चौथो खेलमा हैदराबादसँग सात रनले पराजित भएको थियो । २०१४ मा राजस्थान र मुम्बईसँग चेन्नईले यसै रंगशालामा खेलेको खेलमा भने जितको नतिजा आत्मसाथ गरेको थियो ।

यता, दुबई रंगशालामा हालसम्म तीन खेल खेलिसकेको पञ्जाबले भने दुईमा हार र एकमा जितको नतिजा निकालेको छ । २०१४ आईपीएलमा बैंग्लोरलाई पाँच विकेटले हराएको पञ्जाबले यस संस्करणमा दुबई रंगशालामा खेलेका दुवै खेलमा पराजय भोगेको छ । पहिलो खेलमा दिल्लीसँग सुपर अ‍ोभरमा पराजित भएको पञ्जाब दुबई रंगशालामा नै आफ्नो चौथो खेलमा मुम्बईसँग ४८ रनले पराजित भएको थियो ।

jackson ribon