birat ribon

मुम्बई भर्सेज हैदराबाद : प्लेयर्स टू वाच

Neuro
मुम्बई भर्सेज हैदराबाद : प्लेयर्स टू वाच

विराटनगर, १८ असोज । अघिल्लो संस्करणको विजेता मुम्बई इन्डियन्सले २०१६ को आईपीएल च्याम्पियन सनराइजर्स हैदराबादको आज शारजाह क्रिकेट रंगशालामा सामना गर्दैछ । आईपीएलको डबल हेडरको दोस्रो दिनको पहिलो खेलमा यी दुई दिउँसो ३ः४५ बजे आमने–सामने हुँदैछन् ।

आ–आफ्नो चार खेल खेलिसकेका यी दुवै पाँचौ खेलमा तेस्रो जितको खोजीमा हुनेछन् । शारजाहमा अहिलेसम्म जित निकाल्न नसकेको हैदराबाद र मुम्बई आज खेल जित्दै इतिहास लेख्ने दाउमा समेत हुनेछन् ।

cura insider

हालसम्म १४ खेलमा एकअर्काविरुद्ध उत्रँदा समान सात–सात पटक खेल जितेका यी दुवै टोलीसँग आजको विजयी हुँदै हेड–टु–हेडमा आफूले अग्रता लिने सुवर्ण मौका छ ।

आईपीएलका सफल कप्तान रोहित शर्माले नेतृत्व गरिरहेको मुम्बई निकै नै अनुभवी कप्तान डेभिड वार्नरले सम्हालिरहेको हैदराबादविरुद्ध मैदान उत्रँदा आजको खेलका चार महत्वपूर्ण खेलाडीलाई हामीले ‘प्लेयर्स टू वाच’का रूपमा यहाँ प्रस्तुत गरेका छौंः

किरोन पोलार्ड, अलराउण्डर, मुम्बई इन्डियन्स

मुम्बईसँगको १० वर्षे यात्रा तय गर्दैगरेका किरोन पोलार्ड टोलीका महत्वपूर्ण सदस्य हुन् । २०१० बाट आईपीएलमा मुम्बईबाट डेब्यू गरेका पोलार्ड बलिङ, ब्याटिङ र फिल्डिङमा उत्तिकै माहिर छन् । मुम्बईबाट चारै खेल खेलेका एक सय ३८ रन बनाइसकेका छन् । जारी प्रतियोगितामा मुम्बईलाई पहिलो जित दिलाउन कोलकत्ता नाइट राइडर्सविरुद्धको खेलमा पोलार्डले नितेश रानाको विकेट लिँदै कप्तान कार्तिकसँगको ‘पार्टनरसिप’ तोडिदिएका थिए ।

अन्ततः त्यहीँ विकेट नै मुम्बईको जितको लागि टर्निङ प्वाइन्ट बनेको थियो । पहिलो दुई खेलमा ब्याटिङको जादू देखाउन नसकेका पोलार्डले मुम्बईका पछिल्ला दुई खेलमा भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बैंग्लोरविरुद्ध २४ बलमा ६० रन बनाउँदै ‘नटआउट’ पारी खेले पनि पोलार्डले हार टार्न भने सकेनन् ।

बैंग्लोरले दिएको २०१ रनको विशाल योगफल पछ्याउने क्रममा उनले २० ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै खेललाई सुपर ओभरतिर धकेलेका थिए । तर सुपर ओभरमा मुम्बईका बलर बैंग्लोरका कोहली र एबीडी भिलियर्ससामू निरीह बनेपछि पोलार्डको मिहिनेत खेर गएको थियो । चौथो खेलमा दोस्रो जित निकाल्ने क्रममा पोलार्डको ब्याटिङको योगदान महत्वपूर्ण रह्यो । २० बलमा ४७ रन बनाएका पोलार्डको टोली मुम्बईले पञ्जाबलाई ४८ रनले पराजित गरेको थियो । आजको खेलमा पनि पोलार्डको सोही प्रदर्शन दोहोरिएला भन्ने आशा गर्न सकिन्छ ।

जसप्रीत बुमराह, बलर, मुम्बई इन्डियन्स

मुम्बईको चौथो खेलमा दोस्रो जित दिलाउन सबैभन्दा किफायती बलिङ गर्ने दायाँहाते बलर हुन् जसप्रीत बुमराह । २०१३ बाट मुम्बईको नियमित सदस्यका रूपमा आईपीएल खेलिरहेका बुमराहले जारी आईपीएलको चार खेलमा पाँच विकेट लिइसकेका छन् । मुम्बईले प्रतियोगितामा जितेका दुवै खेलमा उनको प्रदर्शन तारिफयोग्य छ । कोलकत्तालाई ४९ रनले पराजित गर्नुमा बुमराहको पनि विशेष योगदान छ । सो खेलमा चार ओभरमा बलिङ गरेका उनले ३२ रन दिँदै मोर्गन र रसेलको विकेट लिएका थिए ।

त्यस्तै, पञ्जाबविरुद्ध जित दिलाउन पूरै चार ओभर बलिङ गरेका बुमराहले १८ रन मात्रै दिएर मयांक र निशामको विकेट लिँदै टोलीलाई महत्वपूर्ण दुई अंक दिलाएका थिए । तर उनै बुमराहले बैंग्लोरविरुद्धको सुपरओभरमा सम्हालिएर बलिङ गर्न नसक्दा मुम्बई पराजित भएको थियो । आजको खेलमा पनि बुमराहले आफ्नो पञ्जाब र कोलकता विरुद्धको जस्तै फर्म प्रस्तुत गर्नसक्ने हो भने मुम्बईलाई दुई अंक बटुल्न गाह्रो हुने देखिँदैन ।

मनिष पाण्डे, ब्याट्सम्यान, सनराइजर्स हैदराबाद

आईपीएलमा मनिष पाण्डेको लागि हैदराबाद पाँचौ क्लब हो । यसअघि उनले कोलकत्ता, मुम्बई, पुने र बैंग्लोरबाट प्रतियोगिता खेलिसकेका छन् । आक्रामक शैलीको ब्याटिङ गर्न रुचाउने उनी टप अर्डर ब्याट्सम्यान हुन् । आजको खेलमा पाण्डेले ४० रन बनाउने हो भने आईपीएलमा उनले तीन हजार रन पूरा गर्नेछन् । र, उनको ब्याटिङ क्षमता हेर्दा आजको खेलमा नै उनको लक्ष्य पूरा हुने देखिन्छ ।

चार खेलमा एक सय १४ रन बनाइसकेका पाण्डेले बैंग्लोरसँगको पहिलो खेलमा नै ३४ रन बनाएका थिए भने कोलकत्तासँगको दोस्रो खेलमा ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । तर, पछिल्ला दुई खेलमा भने उनी मज्जाले चल्न सकिरहेका छैनन् । तेस्रो खेलमा तीन रनमा नै पेभेलियन फर्किएका उनले चेन्नईविरुद्धको चौथो खेलमा भने २९ रनको योगदान टोलीलाई दिएका थिए । आक्रामक ब्याट्म्यान पाण्डे आजको खेलका प्लेयर्स टू वाच हुन् ।

टी नटराजन, बलर, सनराइजर्स हैदराबाद

हैदराबादका मध्यगतिका बलर हुन् टी नटराजन । २०१७ मा पञ्जाबबाट आईपीएलमा डेब्यू गरेका उनको यो दोस्रो सिजन हो । २०१७ मा पञ्जाबबाट खेलेको ६ खेलमा नटराजनले दुई विकेट लिएका थिए । तर हैदराबादबाट यो सिजन चार खेल खेलिसकेका उनले पाँच विकेट लिइसकेका छन् । नटराजनले खेलेका हरेक खेलमा विकेट लिएका छन् । पहिलो खेलमा विराट कोहलीको विकेट लिएका उनले दोस्रो खेलमा नितेश रानाको विकेट लिए पनि टोलीको जित सुनिश्चित गर्न भने सकेनन् ।

तेस्रो खेलमा टोलीलाई पहिलो जित दिलाउन नटराजनको भूमिका पनि महत्वपूर्ण रह्यो । स्टोइनिसलाई एलबीडब्ल्यूको धरापमा पारेका उनले चार ओभर बलिङ गर्दै २५ रन मात्र दिएका थिए । चौथो खेलमा नटराजन सबैभन्दा महंगा सावित भएपनि टोलीलाई दोस्रो जित दिलाउन उनले लिएको विकेटले निकै मद्दत गरेको थियो । चेन्नईका रायडुलाई आठ रनमा नै पेभेलियन फर्काएका उनले क्रिजमा सेट भइसकेका जडेजालाई क्याचआउट गराउँदै खेलको मोमेन्ट हैदराबादको पक्षमा पारेका थिए । आजको खेलमा पनि नटराजनको उत्कृष्ट खेल कौशल हामी देख्न सक्छौं भन्ने अपेक्षा गर्न सकिन्छ ।

jackson ribon