birat ribon

सन्तुलित भोजनमा विज्ञको जोड

Neuro
सन्तुलित भोजनमा विज्ञको जोड

विराटनगर, १८ असोज । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला चिकित्सक एवं पोषणका विज्ञले सन्तुलित भोजनमा जोड दिएका छन् ।

लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेस्नलले आयोजना गरेको ‘वर्तमान अवस्थामा बालबालिकाहरु र पोषण’ विषयक भर्चुअल अन्तरक्रियामा विज्ञहरुले हरियो साग, तरकारी, दाल र खाना सबै मिसाएर खानु पर्नेमा जोड दिएका हुन् । सबै कुरा मिसाएर खानाको थाली कलरफुल बनाए मात्रै सन्तुलित भोजन मिल्ने उनीहरुको भनाइ छ ।

cura insider

जनस्वास्थ्य निरीक्षक लायन गजेन्द्र यादवले साग तरकारीबाट कोरोना सर्ने सम्भावना नभएको र बारीको तरकारीमा बढी जोड दिनु पर्ने बताए । उनले घरको खाना, मौसम अनुसार फलफुल, साग तथा तरकारीलाई बढी प्राथमिकता दिए सन्तुलित भोजन मिल्ने बताए । यादवले कोरोना महामारीले भिटामिन ए, गर्भवतीहरुलाई आरन वितरण जस्ता कार्यक्रम पनि प्रभावित रहेकाले स्थानीय तहले स्वयंसेवीका खटाएर घरघरमा पोषणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाएका छन् ।

पोषणविद् सुनिता रिमालले भात, रोटी, आलु (काब्रोहाइड्रेड), साग÷तरकारी तथा फलफूल अनि अमिलो हुने जस्तै गोलभेडा, कागती आदी सबै मिलाएर खाने गर्नाले सन्तुलित हुने र कुपोषण हुनबाट बच्न सकिने बताइन । तरकारीलाई धेरै मसिनो नकाट्ने र धेरै नपकाउने उनको सुझाव छ । पोषणको कमी भए रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले सबै जना सजग हुनुपर्ने तर्क रिमालको थियो ।

बालरोग बिशेषज्ञ डा. प्रविण कुमार झाले संक्रमित बालबालिकालाई कसरी स्याहार गर्न सकिन्छ र कस्ता पोषणयुक्त खानेकुरा दिनुपर्छ भन्ने बारेमा स्पष्ट पारेका छन् । डा. झाले संक्रमित आमाले पनि शिशुलाई स्तनपान गराउन सक्नेभन्दै स्तनपान गराउनुअघि साबुन पानीले हात धोई मास्क लगाउनु पर्ने बताए ।

क्लबका संस्थापक अध्यक्ष लायन डा. बालकृष्ण साहको अध्यक्षतामा भएको अन्तरक्रियालाई क्लबका निर्देशक समेत रहेका डा. झा, पोषणविद् सुनिता रिमाल र जनस्वास्थ्य निरीक्षक तथा क्लबकासचिव गजेन्द्रप्रसाद यादवले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बालबालिका र पोषण सम्बन्धी उठेका जिज्ञासाको समाधान पनि खोजिएको थियो । ५० जनाभन्दा बढी सहभागी भएको कायर्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।

क्लबले विगत ५ हप्तादेखि प्रत्येक साता कोरोना लगायत स्वास्थ्यसँग सम्बन्धित विषयमा विज्ञहरुसँग भर्चुअल सचेतना गराउँदै आएको छ ।

jackson ribon