Rumpum Advertisement

सञ्चारगृहका पीडित पत्रकार तथा कर्मचारीहरूद्वारा संयुक्तरूपमा आन्दोलनको घोषणा

Neuro Revised Adv
Koshi Dashain ad
सञ्चारगृहका पीडित पत्रकार तथा कर्मचारीहरूद्वारा संयुक्तरूपमा आन्दोलनको घोषणा

काठमाडाैं, १३ असाेज । काठमाडौँका विभिन्न सञ्चारगृहका पीडित पत्रकार तथा कर्मचारीहरू संयुक्तरूपमा आन्दोलनमा उत्रिने भएका छन् । पीडित पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समितिको बैठकले रिले अनसनदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थालाई जानकारी गराउनेसम्मका आन्दोलन घोषणा गरेको हाे ।

गत ८ असाेजमा नागरिक दैनिककाे सत्याग्रहस्थलमै पत्रकार महासंघका केन्द्रीय सदस्य एवं श्रमजीवी हित प्रवर्द्धन समिति सह-संयाेजक जन्मदेव जैसीकाे उपस्थितिमा पीडक सञ्चारगृहका सबै श्रमजीवीहरूकाे भेलाले संयुक्त संघर्ष समिति गठन गरेकाे थियाे ।

घोषित कार्यक्रमअन्तर्गत १५ देखि २० असोजसम्म ५ दिने रिले अनशन, २१ असोजमा अन्नपूर्णपोस्ट र कान्तिपुर टेलिभिजनमा एक घण्टा घेराउ कार्यक्रम तय भएको छ ।

२२ असोजमा कारोबार दैनिक र कान्तिपुर मिडिया ग्रुपमा एक घण्टा घेराउ, २३ असोजमा नागरिक दैनिकमा एक घण्टा घेराउ र २४ असोजमा नेपाल आजमा एक घण्टा घेराउ गर्ने कार्यक्रम तय भएको समिति संयोजक धर्मेन्द कर्णले जानकारी दिए ।

त्यस्तै २५ असोजमा सूचना तथा प्रशारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा लालटिन बालेर प्रर्दशन गर्ने, २७ असोजमा बालुवाटारमा आधा घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम तय भएको छ ।

कान्तिपुर, कारोबार, नागरिक, अन्नपूर्णलगायतका सञ्चारमाध्मयमा भइरहेको श्रमशोषणको बारेमा सबै शुभेच्छुक संघ-संगठन र ऐक्यवद्धता दिन आह्वान गर्ने निर्णयसमेत भएको संयोजक कर्णले जानकारी दिए ।

सञ्चारगृहको ज्यादति र शोषणको विषयमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधिसभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सञ्चार र श्रम मन्त्रालय लगायतलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गर्ने पनि संघर्ष समितिले निर्णय गरेको छ ।

सत्तापक्ष र प्रतिपक्ष एवं अन्य राजनीतिक दलहरू, कूटनीतिक नियोग, मानव अधिकार, सञ्चार सम्बद्ध संघ संगठनहरू, ट्रेड युनियनहरू तथा श्रम अधिकारसँग सरोकार राख्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्था तथा सम्बन्धित निकायहरूमा जानकारी गराई समर्थन प्राप्त गर्ने निर्णय भएको संयोजक कर्णले जानकारी दिए ।

संयाेजकका अनुसार पत्रकार महासंघकाे अभिभावकत्वमा आन्दाेलनलाई प्रभावकारी बनाउन अध्यक्ष गाेविन्द आचार्य, महासंघकै केन्द्रीय सदस्य जैसीगायतसँग संघर्ष समितिले समन्वय गरिरहेकाे छ ।