Rumpum Advertisement

कोरोना कहर : इतिहास बोकेका विराटनगरका दुई होटल बन्द

Neuro Ad
कोरोना कहर : इतिहास बोकेका विराटनगरका दुई होटल बन्द

विराटनगर, १३ असोज । कोरोना महामारीका कारण विराटनगरमा दुई ठूला होटल बन्द भएका छन् । विराटगरमा छुट्टै इतिहास बोकेका होटल नमस्कार र जेनियल होटल बन्द भएका हुन् ।

विराटनगरको विकासमा दुईवटै होटलको योगदान महत्वपूर्ण छ । होटल नमस्कार विराटनगरको पहिलो ठूलो लगानीमा खुलेको व्यावसायिक होटल हो । जेनियल होटल पूर्वमा ठूलो लगानीको पहिलो तारे होटल हो ।

नमस्कार होटलले मंगलबारबाट सेवा बन्दको घोषणा गरेको हो । जेनियल होटल ११ असारबाट बन्द भएको हो ।

विस २०३७ सालमा युवराज श्रेष्ठले स्थापना गरेको होटल नमस्कार उनको निधनपछि छोरा युनेशराज श्रेष्ठले हेर्दै आएका थिए । तर कोरोना महामारीका कारण सञ्चालन खर्च धान्न मुस्किल भएपछि मंगलबारबाट बन्द भएको हो ।

‘कोरोनाका कारण अपरेशन कष्ट धान्नै गाह्रो भयो,’ श्रेष्ठले भने, ‘बिल्डिङ पनि पुरानो भयो, मर्मतका लागि चाहिने खर्च पनि धेरै हुने भएकाले बन्द गर्‍यौं ।’

अवस्था सामान्य भएको भए होटल नमस्कार सञ्चालन गर्न सकिने उनले बताए । ‘होटल नमस्कार मात्रै बन्द भएको हो । अन्य बिजनेश सञ्चालनमा छन्,’ उनले भने, ‘अवस्था सुधार भयो भने फेरि सञ्चालन गर्ने योजना छ ।’

विराटनगरमा पहिलो स्तरीय होटल सञ्चालन गरेका युवराज श्रेष्ठले होटल नमस्कारबाट विराटनगरमा पिज्जा, मःम, कफीको सुरुआत गरेका थिए । उनी पूर्व क्षेत्रमा होटल व्यावसाय क्षेत्रलाई संगठिन गर्ने व्यक्ति पनि हुन् ।

होटल स्वागतमका सञ्चालक राजन श्रेष्ठ नमस्कार होटल विराटनगरको ‘टाइकुन’ भएको बताउँछन् । ‘नमस्कार होटल विराटनगरको टाइकुन हो,’ उनी भन्छन्, ‘त्यसबेला ठूलो लगानीमा खुलेको थियो ।’

विराटनगरमा ठूलो लगानीमा सञ्चालित होटल जेनियल ११ असारमा बन्द भएको थियो । विस २०५५ सालयता सञ्चालनमा रहेको जेनियल कोरोना महामारीका कारण बन्द भएको हो ।

लकडाउनका कारण व्यावसाय बन्द भएपछि ११ असार बन्द गरेको होटल सञ्चालक हरिभक्त सिटौलाले बताए ।

जेनियलमा होटलको रेखदेखका लागि सुरक्षा गार्ड र सफाइ कर्मचारी मात्र छन् । ५ पुस २०५५ मा होटल जेनियल सञ्चालनमा आएको थियो । विराटनगरमा ठूलो लगानीमा सञ्चालित पहिलो होटल जेनियलमा ४८ वटा कोठा, ३ वटा कार्यक्रम हल, २ मिटिङ हल, एक स्विमिङ पुल र २ वटा रेस्टुरेन्ट छन् । होटल नमस्कारमा २४ वटा रुम छन् । होटलमा २० जना कर्मचारी कार्यरत थिए ।

सञ्चालनमा रहेकालाई पनि गाह्रो छ

कोरोना महामारीका कारण सञ्चालनमा रहेका होटललाई पनि खर्च धान्न गाह्रो भएको होटल सञ्चालकहरू बताउँछन् । ‘सञ्चालनमा रहेका होटल पनि बन्द हुने अवस्थामा छन्,’ पर्यटन व्यावसायी भविष श्रेष्ठ भन्छन्, ‘होटलमा १० प्रतिशत पनि मुभमेन्ट छैन्, खर्च धान्नै गाह्रो छ ।’ खर्च धान्न गाह्रो भएकाले अन्य होटलहरू बन्द हुने अवस्थामा रहेको उनले बताए ।

‘हाम्रो अभिभावक सरकार हो । तर सरकारले हाम्रा कुरा सुन्दै सुन्दैन,’ होटल स्टर्नस्टारको सञ्चालकसमेत रहेका श्रेष्ठले भने, ‘होटल बन्द हुँदा बैंकको ऋण र कर्मचारीको तलबको समस्या थिएन । असोज १ गतेदेखि खर्च झन् बढ्यो आन्दानी छैन ।’

मोरङ व्यापार संघको कार्यसमिति सदस्यसमेत रहेका होटल व्यावसायी राजन श्रेष्ठ लकडाउन खुलेपनि चहलपहल नभएका कारण होटल व्यवसाय सञ्चालनमा आउन नसकेको बताउँछन् ।

‘हिजोको तुलनामा केही फ्लो छ । तर यो पर्याप्त होइन,’ उनले भने, ‘खर्च धान्नै मुस्किल भएका कारण होटलहरू बन्द हुने अवस्थामा छन् ।’