Rumpum Advertisement

यस्तो छ मोरङमा दशैंलक्षित सुरक्षा योजना

Neuro Revised Adv
Koshi Dashain ad
यस्तो छ मोरङमा दशैंलक्षित सुरक्षा योजना

सीमामा कडाइँ, संवेदनशील क्षेत्रमा २४ घण्टा निगरानी

विराटनगर, १३ असोज । कोरोना महामारीका बीच सुरु हुन लागेको चाडपर्वका लागि मोरङ प्रहरीले विषेश सुरक्षा योजना तयार गरेको छ । दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सुरक्षा योजना तयार पारेको छ ।

सम्भावित र विगतमा भएका घटना एवम् आपराधिक गतिविधिलाई मध्यनजर गर्दै तयार पारिएको सुरक्षा योजना प्रभावकारीरुपमा कार्यान्वयनतर्फ लैजान थालिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

प्रदेश राजधानी विराटनगरलगायतका स्थानमा विशेष ढंगले प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाउन थालिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

खड्काका अनुसार धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिरलगायत भक्तजनहरुको भीडभाड एवम् घुइँचो हुने स्थानको सुरक्षा व्यवस्था मिलाउन निगरानी बढाउन थालिएको छ ।

भीडभाडमा हुने चोरी, डकैती र लुटपाटका घटना हुन नदिन प्रहरी चनाखो रहेको उनको भनाइ छ । मादकपदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवम् अपराध नियन्त्रण, कालोबजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभावलगायतमा पनि प्रहरीले ध्यान दिन थालेको छ ।

चाडपर्वमा यातायातको सहज उपलब्धता, चुस्त ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषधको अवैध ओसारपसार नियन्त्रणमा अहिल्यैदेखि प्रहरी सक्रिय भएको छ ।

बैंक तथा बित्तीय संस्था, आर्थिक गतिविधि एवम् सुनचाँदीको कारोबार बढी हुने स्थान, सरकारी कार्यालय, एटीएम बुथ र पसलहरुमा निरानी बढाउन प्रहरीको विशेष टोली खटाइएको छ ।

उनका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिने तयारी गर्दै होटल, लज एवम् रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ ।

शंकास्पद व्यक्तिहरु एवम् सार्वजनिक स्थलमा हुने गतिविधिको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन नियन्त्रण, सीमा क्षेत्रमा कडाइँ, मदिराको ओसारपसार, पकेटमारलगायत आपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान प्रहरीको प्राथमिकतामा परेका छन् ।

मादकपदार्थ सेवन (मापसे) गरेर सार्वजनिक स्थलहरुमा हो–हल्ला एवम् झै–झगडा गर्नेलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले कारवाही अघि बढाउने छ । यसका लागि अवैध मदिरा ओसारपासर र बेचबिखनलाई प्रहरीले पूर्ण निगरानीमा राखेको एसपी खड्काले बताए ।

सवारी आवागमनलाई व्यवस्थितरुपमा सुचारु राख्ने र आकस्मिक एवम् संयुक्त चेकजाँच गरिने उनको भनाइ छ । प्रहरीले मापसे गरेर सवारीसाधन चलाउन पूर्णरुपमा रोक लगाएको छ । चन्दा आंतक ठगी, गुण्डागर्दीजस्ता क्रियाकलाप नियन्त्रण प्रहरीको प्राथमिकतामा छ ।

महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने अपराधको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिने भएको छ । सुनचाँदी पसल, आर्थिक कारोबार हुने बैंक, बित्तीय संस्था एवम् मुख्य बजार पसलहरु र महत्वपूर्ण प्रतिष्ठानमा २४ सै घण्टा चेकजाँच सुरु गरिएको छ । अन्य सुरक्षा निकायसँग समन्वय गरेर सबै सरोकारवालालाई सजग गराउँदै सर्तकता अपनाउन थालिएको खड्काले बताए ।

मोरङमा सुरक्षा चेतना अभियान घटस्थापनाको दिनभन्दा एक साताअघिबाट थालिने भएको छ । सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि प्रहरीले महत्व दिएको छ ।

पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउँदै महत्वपूर्ण प्रतिष्ठानमा विशेष निगरानी बढाइएको खड्काले बताए ।

विराटनगर क्षेत्रभित्र रहेका १४ वटा महत्वपूर्ण प्रतिष्ठानमा २४ घण्टा नै सुरक्षा प्रदान गर्न थालिएको जानकारी उनले दिए । प्रतिष्ठान सुरक्षाका लागि मात्रै ९६ जना प्रहरी खटाइएको छ ।

मोरङमा एक हजार दुई सय ३३ प्रहरी चाडपर्व सुरक्षाका लागि आवश्यक पर्ने देखिएको छ । नौ सय ६० जना जिल्लाभित्रबाटै खटाउन सकिने र अरु दुई सय ७३ जना माथिल्लो कार्यालयबाट माग गरिएको छ ।