Rumpum Advertisement

झापा कारागारभित्रै आइसोलेशन

Neuro Revised Adv
Koshi Dashain ad
झापा कारागारभित्रै आइसोलेशन

झापा, १२ असाेज । कैदीबन्दीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेशनको निर्माण गरिएको छ । कारागारमा एक सय ८० बेडको आइसोलेशन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको कारागार प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

महिला कैदीबन्दीका लागि महिला कारागारको एउटा कोठालाई नै आइसोलेशन बनाइएको उनले बताए ।

हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी एक हजार १४३ कैदीबन्दी रहेका छन् । कैदीबन्दीसहित कारागारका १० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि कारागारभित्रै आइसोलेशन निर्माण गरिएको गौतमले बताए ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका कारण कारागारमा कोरोनाको सङ्क्रमण फैलिने त्रास छ । ज्वरो, श्वासप्रश्वास, रुघाखोकीजस्ता लक्षण देखिएका र दीर्घरोगी कैदीबन्दीलाई सोही आइसोलेसनमा आजैदेखि राखिने उनले बताए ।

जस्ता पाताको छानो भएको छतमा बनाइएको आइसोलेशनमा अलग्गै शौचालयको व्यवस्थासमेत मिलाइएको छ । सामग्री अभावका कारण बिरामी बस्नका लागि खाटको सुविधा भने छैन ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाले कारागारको आइसोलेशनका लागि १५ थान पीपीई सेट, पाँच लिटर सेनिटाइजर, १० थान बाल्टिन, एक थान हाते माइक, दुई कार्टुन साबुन र ५०० थान मास्क उपलब्ध गराएको शाखाका अध्यक्ष लोकराज ढकालले जानकारी दिए । रासस