Rumpum Advertisement

विराटनगरमा फार्मेसीको अनुगमन तीव्र : १८ वटा फार्मेसीका सञ्चालक भागे, पाँच वटामा सिल

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा फार्मेसीको अनुगमन तीव्र : १८ वटा फार्मेसीका सञ्चालक भागे, पाँच वटामा सिल

विराटनगर, १२ असोज । विराटनगरको नोबेल शिक्षण अस्पताल आसपासका १८ वटा फार्मेसी (औषधि पसल) का सञ्चालक अनुगमन सुरु हुन थालेको चाल पाएर भागेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङ, प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त टोली सोमबार अनुगमनका लागि पुग्नसाथ फार्मेसी सञ्चालकबीच भागाभाग भएको थियो । अनुमति प्राप्त व्यवसायी उपस्थित नभइकन नियमविपरीत तरिकाले औषधि किनबेच भइरहेको सूचनाका आधारमा फार्मेसीको अनुगमन गर्न टोली पुगेको थियो ।

तर सटर बन्द गरेर ताला लगाउँदै धेरै सञ्चालक फरार भएपछि सबै पसलको अनुगमन हुन पाएन । प्रहरीसँग समन्वय गरेर खोजी गर्दै उनीहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको औषधि व्यवस्था विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले बताए ।

यसैबीच अनुगमन टोलीले विराटनगरमा नियमविपरीत सञ्चालन गरिएका पाँच वटा फार्मेसीलाई औषधि किनबेचमा रोक लगाउँदै सिल गरिदिएको छ । लापरबाही र बदमासीपूर्ण ढंगबाट औषधि बेच्ने गरेको फेला परेपछि फार्मेसी सिल गरिएको हो ।

कट्टेलले नवीकरणविनै सञ्चालन गरिएका र अनुमतिप्राप्त व्यवसायी नराखिकन औषधिका बारेमा जानकारी नै नभएका व्यक्तिका भरमा औषधि बिक्री गर्ने फार्मेसीहरू बन्द गरिएको जानकारी दिए । उनका अनुसार विराटनगरमा सञ्चालनमा रहेका २१ वटा फार्मेसीमा सोमबार अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा नोबेल शिक्षण अस्पतालभित्र दुई वटा सुस्वास्थ्य र मेडिकेम फार्मेसी एक वर्षदेखि नवीकरण नै नगरिकन सञ्चालन भइरहेको फेला परेको थियो । लामो समयदेखि प्रक्रियामा आउन अटेर गरेर नवीकरण नगरिकन सञ्चालन गरिरहेको पाइएपछि दुवै फार्मेसी बन्द गरिएको कट्टेलले बताए ।

अस्पताल फार्मेसी निर्देशिका २०७२ ले अस्पतालभित्र उसको आफ्नो नाममा दर्ता रहेकोबाहेक अरु फार्मेसी सञ्चालनमा रोक लगाएको छ । तर आफ्नो नाममा पनि फार्मेसी चलाइरहेको नोबेलले अरु बाहिरका व्यक्तिलाई समेत अस्पतालभित्र निजी फार्मेसी सञ्चालन गर्न दिइरहेको फेला परेको छ ।

कट्टेलका अनुसार अस्पताल प्रशासनसँगै समन्वय गरेर बन्द गरिएका दुवै फार्मेसी अस्पतालले बाहिरका व्यक्तिलाई सञ्चालन गर्न दिएको हो । तीन दिनभित्र विभागमा आएर नवीकरण गरेमा कोरोना महामारी र बिरामीको चाप अत्याधिक रहेको अवस्थालाई मध्यनजर गर्दै केही समयमा लागि सञ्चालन अनुमति दिन सकिने उनले बताए ।

अनुगमन टोलीले अनुमति प्राप्त व्यवसायीविनै बाहिरका मान्छेलाई राखेर औषधि बिक्री गर्ने नोबेल अस्पताल र विराट नर्सिङ होम आसपासमा सञ्चालनमा रहेका अरु तीन वटा फार्मेसी सिल गरेको छ । बिक्रीवितरण गर्न योग्य नभएका व्यक्ति अर्थात् अनुमतिप्राप्त व्यवसायीविनै बिक्री गरिँदा गलत औषधि परेर बिरामीको ज्यानै जाने जोखिम हुने कट्टेलको भनाइ छ ।

त्यस्तै विराटका चिकित्सकले नेपालमा दर्ता नै नभएको र बिक्रीका लागि अनुमति नै नभएका औषधि बिरामीलाई सिफारिस गर्ने गरेको पनि फेला परेको छ । ‘चिकित्सकले नेपालमा दर्ता नै नभएका र बिक्रीमा बन्देज लगाइएका औषधि बिरामीलाई सेवन गर्न सिफारिस गर्ने गरेको फेला पर्‍यो,’ कट्टेलले भने, ‘पहिलो पटक यस्तो भेटिएकाले अस्पताल प्रशासनसँग समन्वय गरेर चिकित्सकलाई सचेत गराइसकिएको छ ।’

आगामी दिनमा पनि यहीँ क्रम दोहोर्‍याए कारवाहीको दायरामा ल्याइने जानकारी कट्टेलले दिए । विराटनगरभित्र नियमविपरीत सञ्चालन गरिएका सबै फार्मेसीलाई जतिसक्दो कानुनी कारबाहीको दायरामा ल्याउन अनुगमनलाई तीव्र पारिएको उनले बताए ।