Rumpum Advertisement

टोलटोलै विद्यालयको शिक्षा

Neuro Revised Adv
Koshi Dashain ad
टोलटोलै विद्यालयको शिक्षा

स्याङ्जा, १२ असोज । स्याङ्जाको वालिङका सामुदायिक विद्यालयले टोलटोलमा पुगेर विद्यार्थीलाई पढाउन सुरु गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण प्रभावित बनेको अध्यापन कार्यलाई निरन्तरता दिनका लागि विद्यालयले टोलटोलमै शिक्षकलाई खटाएर पढाउन सुरु गरेका हुन् ।

वालिङ नगरपालिकाभित्र रहेका ७३ सामुदायिक विद्यालय र १५ संस्थागत विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी सिकाइ सहजीकरण गर्न अनुरोध गरिएअनुसार विद्यालयले टोल–टोल विभाजन गरेर सिकाइ क्रियाकलाप अगाडि बढाएका नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए ।

विद्यालयलाई विभिन्न पाँचवटा सिकाइका विधि तथा विकल्प दियौं र सोही विकल्पमध्ये आफ्नाआफ्ना विद्यार्थीलाई अनुकूल हुने विकल्पको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउन निर्देशन दिइएको शाखा प्रमुख सापकोटाले बताए ।

स्याङ्जा जिल्लाकै नमूनाका रुपमा रहेको वालिङ–१० स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले १२ वटा टोलमा १४ सिकाइ केन्द्रमार्फत् शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले बताए ।

‘यस विद्यालयमा अध्ययनका लागि आउने विभिन्न टोलका विद्यार्थीलाई पायकपर्ने गरी टोल विभाजन गरेर पढाउँदै आएका छौंँ,’ प्रअ लम्सालले भने, ‘सिकाइ केन्द्रमा सबै विषयसँग सम्बन्धित शिक्षकलाई आलोपालो गर्दै पठाउने गरिएको छ ।’ विद्यालयले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई सामाजिक दुरी कायम गराएर असोजको पहिलो साताबाट पढाउन सुरु गरेको हो । कोभिड–१९ को जोखिमका कारण विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउन सकिने अवस्था नभएकाले प्राप्त निर्देशिकाअनुसार अगाडि बढिएको प्रअ लम्सालले बताए ।

वालिङ खहरेस्थित रणवीर जनहित माध्यमिक विद्यालयले पनि टोलटोलमा पढाउन सुरु गरेको छ । विद्यालयले विभिन्न नौवटा टोल विभाजन गरी विषयगत शिक्षकको तालिका बनाई शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरेको विद्यालयका प्रअ लक्ष्मीप्रसाद रेग्मीले बताए । अनलाइन शिक्षण सिकाइ क्रियाकलापभन्दा टोल–टोलमा बनाइएको सिकाइ केन्द्रमा शिक्षक विद्यार्थी उपस्थित भएर गरिएको अध्यापन कार्य बढी प्रभावकारी हुने गरेको प्रअ रेग्मीको अनुभव छ ।

टोलटोलमा पुगेका शिक्षकले कोभिड–१९ ले पारेको संकटका बेला मनोसामाजिक परामर्श दिने, लेखन सीपसम्बन्धी कला, नियमित हात धुने बानीको विकास र आवश्यक सरसफाइसम्बन्धी जानकारी गराउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले सामुदायिक तथा संस्थागत विद्यालय सुचारु नगर्न नगराउन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्न निर्देशन दिएको छ । रासस