Rumpum Advertisement

खोटाङ कोरोना संक्रमणमुक्त

Neuro Revised Adv
Koshi Dashain ad
खोटाङ कोरोना संक्रमणमुक्त

खोटाङ, १२ असोज । सबै संक्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना संक्रमणमुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट संक्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना संक्रमणमुक्त जिल्ला भएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ५७५ जनाको पीसीआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । विभिन्न समयमा संक्रमण देखिएका सबैजना संक्रमित उपचारपछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए ।

पछिल्लो समय विभिन्न स्थानीय तहमा पीसीआर परीक्षण जारी रहे पनि संक्रमित देखा परेका छैनन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६४० जनाको पीसीआर परीक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

नगरपालिकामा देखिएका संक्रमितमध्ये सातजना नेपाल प्रहरीका जवान रहेका छन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकामा २५३ जनाको पीसीआर परीक्षण गर्दा चारजनाको पोजिटिभ रिपोर्ट देखिएको थियो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १४६ जनाको पीसीआर परीक्षण गर्दा एकजना, साकेला गाउँपालिकामा ११२ जनाको पीसीआर परीक्षण गर्दा एकजना, ऐसेलुखर्क गाउँपालिकामा ७३ जनाको परीक्षण गर्दा एकजना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परीक्षण गर्दा एकजनालाई पोजिटिभ देखिएको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म खोटेहाङ, रावाबेँसी र जन्तेढुंगा गाउँपालिकामा कोरोना संक्रमित फेला परेका छैनन् ।

हालसम्म जिल्लामा एक हजार ६०८ जनाको आरडीटी परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै कोरोनाको जोखिम बढेपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

यसैबीच जिल्लाका सबै स्थानीय तहमा अहिले धमाधम कोभिड अस्पताल निर्माणको काम भइरहेको छ । देशभर संक्रमितको संख्या बढ्दै गएपछि संघीय सरकारको लगानीमा हरेक स्थानीय तहमा पाँच/पाँच शैय्याको अस्थायीरूपमा सञ्चालनका लागि कोभिड अस्पताल निर्माण सुरु गरिएको हो ।