Rumpum Advertisement

एथ्लेटिकोको पहिलो जित, स्वारेजको दुई गोल

Neuro Revised Adv
Koshi Dashain ad
एथ्लेटिकोको पहिलो जित, स्वारेजको दुई गोल

विराटनगर, ११ असोज । नयाँ सिजनको स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले पहिलो जित निकालेको छ ।

आइतबार राति आफ्नो पहिलो खेल खेलेको एथ्लेटिकोले ग्रानडाविरुद्ध ६–१ गोलान्तरको फराकिलो जित निकालेको हो ।

एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन लुइस स्वारेजले दुई गोल गरे भने डिएगो कोस्टा, एन्जल कोरेर्रा, जाओ फेलिक्स र मार्कोस लोरेन्टेले एक–एक गोल गरे । ग्रानडाका जर्ज मोलिनाले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा कोस्टाको गोलमा एथ्लेटिकोले सुरुआती अग्रता बनाएको थियो । खेलको १६औं मिनेटमा एथ्लेटिकोले आफ्नो अग्रता दोब्बर बनाउने मौका गुमायो । साउल निगुएजले पेनाल्टी मिस गरेपछि एथ्लेटिकोले गोल गर्ने अवसर गुमाएको थियो ।

खेलको ४७औं मिनेटमा कोरेर्राले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाएका थिए । ६५औं फेलिक्सले गोल गरेपछि एथ्लेटिकोले ३–० गोलको अग्रता बनायो ।

खेलको ७०औं मिनेटमा उरुग्वेका स्ट्राइकर स्वारेज मैदान प्रवेश गरे । यसै समर ट्रान्सफरमा बार्सिलोनाबाट एथ्लेटिको आएका उनले डेब्यू खेल खेलेका हुन् । र, ७२औं मिनेटमा लोरेन्टले गोल गर्दा स्वारेजले पास मिलाएका थिए ।

८५औं मिनेटमा स्वारेजले डेब्यू गोल गर्दै टोलीलाई ५–० गोलको अग्रता दिलाए ।

खेलको ८७औं मिनेटमा जर्ज मोलिना भिडालले गोल गरे । खेलको इन्ज्युरी समयमा स्वारेजले दोस्रो गोल गर्दै एथ्लेटिकोलाई ६–१ गोलको जित दिलाए ।

जितसँगै एथ्लेटिकाेले ला लिगामा सुखद सुरुआत गरेकाे छ ।