Rumpum Advertisement

विराटनगरको औद्योगिक घरानाको सम्पत्ति लिलामीमा, मजदूरले पाएनन् पौने ४ करोड

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरको औद्योगिक घरानाको सम्पत्ति लिलामीमा, मजदूरले पाएनन् पौने ४ करोड

विराटनगर, ११ असोज । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना मगन्तुराम समूह टाट पल्टिएपछि बैंकले सम्पत्ति लिलामीका लागि सूचना निकालेको छ । टाट पल्टिएको औद्योगिक समूहको सम्पत्ति लिलामीका लागि बैंकले सूचना निकालेपछि उद्योगमा कार्यरत मजदूरले आफ्नो पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

विराटनगरको औद्योगिक घराना मगन्तुराम अग्रवाल समूहको नौ वटा उद्योग र व्यापारिक प्रतिष्ठानका नाममा रहेको अचल सम्पत्ति लिलामीका लागि राष्ट्रिय वाणिज्य बैंकले सूचना निकालेपछि मजदूरहरूले करिब चार करोड पारिश्रमिक नपाएको बताएका हुन् ।

मजदूरले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आफ्नो पारिश्रमिक माग दाबी गरेका छन् । उक्त समूहको दुहवीमा रहेको नारायण भेजिटेवल र अन्नपूर्ण सोप एण्ड केमिकल इन्डस्ट्रिजका तत्कालीन समयमा कार्यरत दुई सय मजदूरले पारिश्रमिक नपाएको बताएका हुन् । उद्योगका सञ्चालक कारवाहीमा परेपछि सेवा सुविधा नपाएको उनीहरूको गुनासो छ ।

मजदूरहरूले परिश्रमिकवापतको पौने ४ करोड पाउन बाँकी रहेको ट्रेड युनियन काँग्रेस सुनसरीका अध्यक्ष माधव चौधरीले बताए । उनले एक जना मजदूर बराबर ३ लाख ४० हजारसम्म पाउनुपर्ने बताए ।

उद्योग २०६१ साल पुसयता बन्द हुँदा त्यहाँ कार्यरत २ सय स्थायी मजदूरले तलब भत्ता, सञ्चय कोष र उपदानसमेत नपाएको नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष रमेश थापाले बताए ।

आफूहरूले पाउनुपर्ने पारिश्रमिक नपाएसम्म उद्योगको जमिन कसैलाई पनि उपभोग गर्न नदिने अध्यक्ष थापाले बताए । श्रम कार्यालय विराटनगरको सहयोगमा उद्योगको जग्गा रोक्कासमेत गरेको उनले बताए । उनीहरूले श्रम ऐन २०६४ को दफा १ सय ६२ अनुसार हरहिसाब गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

बैंकले मगन्तुराम समूहको नाममा रहेको लक्ष्मी फुटवेयर, गणेश प्लास्टिक, हनुमान स्पिनिङ एन्ड विभिङ इन्डस्ट्रिज, शान्ति फुटवेयर र अन्नपूर्ण आइरनको हालको बुढीगंगा गाउँपालिकाको जमिन तथा बन्द उद्योगको ३५ करोड ६७ लाख रुपैयाँ बराबरको सम्पत्ति लिलामीमा चढाएको छ ।

दुहवीमा रहेको अन्नपूर्ण सोपको १८ करोड ४९ लाख त्यस्तै दुहवी नगरपलिकामा रहेको अन्नपूर्ण सोपको नाममा रहेको जमिन तीन करोड ७५ लाख र भाइ दामोदरप्रसादको दुहवीकै तीन करोड ९० लाखको सम्पत्ति पनि लिलामीमा चढाइएको हो ।

जयकाली बिस्कुटको पाँच लाख ७० हजारको सम्पत्ति पनि लिलामीमा चढेको छ । जसको जमिन खोलाले काटेपछि त्यसको मूल्य घटेको हो । यसबाहेक उनीहरूको परिवारको नाममा विराटनगरमा रहेको नौ करोड ३९ लाख र सुवोध अग्रवालको नाममा विराटनगरमा रहेको चार करोड १५ लाखको सम्पत्ति पनि बैंकले लिलामी गर्ने भएको हो ।

बैंकले मगन्तुराम अग्रवाल, सुरेश र दामोदरको नाममा रहेको नौ करोड ७० लाखको सम्पत्ति पनि लिलामीमा चढाएको छ भने मगन्तुरामको एकल स्वामित्वमा रहेको विराटनगरकै अर्काे ६७ लाख २९ हजार मूल्यांकन भएको सम्पत्ति पनि लिलामीमा चढाएको छ ।